यूक्रेन र डोनेट्स्क लडाकूबीच कैदी आदानप्रदान हुने

यूक्रेन र डोनेट्स्क लडाकूबीच कैदी आदानप्रदान हुने


यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार (२९ डिसेम्बर) दर्जनौँ कैदीहरू आदानप्रदान गर्न लागिएको बताएका छन् । पेरिसमा भएको उच्च स्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चाल्न लागिएको यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका हुन् ।

यूक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई यूक्रेनबाट स्वतन्त्र बनाउने लडाइ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको यूक्रेनको दावी छ ।

‘आइतबार कैदीको आदानप्रदान हुनेछ, यसको प्रतिक्षामा हामी छौँ । आदानप्रदान गरिने कैदीको नाम चयन भैरहेको छ’, राष्ट्रपति जेलेन्स्कीको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

शनिबार नै यसअघि डोनेट्स्का विद्रोहीका प्रवक्ता दारिया मरोजोभाले पनि कैदी आदानप्रदान हुन लागेको बताए । मरोजोभाका अनुसार लुगान्स्कले आफ्ना नेता, कार्यकर्ता तथा लडाकू गरी ८७ जना फिर्ता हुने र ५५ किभतर्फका कैँदी फिर्ता गरिने छ । कैदीको आदानप्रदान विद्रोहीको प्रभाव क्षेत्र गोर्लिभ्का नगर नजिकै हुने अनुमान गरिएको छ । यसपहिले रूस र यूक्रेनबीच पनि केही कैँदीको आदानप्रदान भएको थियो ।