मंगोलियामा विषाक्त रक्सीले २६ को मृत्यु

मंगोलियामा विषाक्त रक्सीले २६ को मृत्यु


विषाक्त रक्सी सेवनका कारण मंगोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलानबाटोरमा पछिल्लो एक महिनामा उनीहरूको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

‘यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रूपले बढेको छ, उनीहरूमध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,’ प्रान्तीय सहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भने ।

राजधानी उलानबाटोरमा अहिले उच्च सतर्कता अपनाइको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मंगोलियामा नयाँ वर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस्ता कार्यक्रम रेस्टुरेन्ट, रात्रिक्लब, बारलगायतमा ठूलो संख्यामा आयोजना गरिन्छ ।