लण्डनमा क्याप्टेन लामाद्वारा ‘समर्पण’को विमोचन

लण्डनमा क्याप्टेन लामाद्वारा ‘समर्पण’को विमोचन


लण्डन । बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा यही डिसेम्बर २२ आइतबार दिन गीति एल्बम ‘समर्पण’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । समर्पण टिमले आयोजना गरेको उक्त रात्रिभोजसहितको कार्यक्रममा यसै टिमसँग धेरै अघिदेखि नेपालबाट प्रत्यक्ष संलग्नता राख्ने क्याप्टेन लामा आफ्नो टिमको पहिलो गीति एल्बमको विमोचनको लागि बेलायत आएका थिए । समर्पण शिक्षाका लागि भन्ने मूल नाराका साथ सञ्चालित उक्त कार्यक्रमका मुख्य आकर्षण रहेका कलाकार एबम् वरिष्ठ विमानचालक क्याप्टेन विजय लामा समर्पण टिमले धेरै अगाडि पोखरामा भ्रएको बाढीपीडितहरुको लागि गरेको उद्धार कार्यक्रममा प्रत्यक्ष रुपमा सोबेला संलग्न थिए ।

बेलायतबाट सूर्य गुरुङ, कान्ति गुरुङ श्रेष्ठ, विभा गुरुङ र अनुपलाल श्रेष्ठ तथा नेपालबाट माइकल राईलाई संरक्षकत्व प्रदान गर्ने क्याप्टेन लामासहितको गीति एल्बम समर्पणले नेपाली जनजीवन, रहनसहन तथा शैलीहरुको शब्दको माध्यमबाट प्रदर्शन गरेको छ जसको बिक्री गरेर आएको पैसाको सम्पूर्ण रकम मकवानपुरस्थित देवहित आधारभूत विद्यालयलाइ सहयोग गर्ने योजना रहेको उक्त रात्रि भोजसहितको च्यारिटेबल कार्यक्रमको मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहेका थिए ।

प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदी र विशेष अतिथि क्याप्टेन विजय लामा स्टेजबाट र कार्यक्रममा सहभागिता दिने दर्शकहरु एकैपटक उठेर आ–आफ्नो हातमा रहेको सीडी खोली एकसाथ लोकार्पण गरिएको यस कार्यक्रम विमोचन गर्ने शैलीमा भिन्दै खालको रहेको थियो । यस समर्पण गीति एल्बम शिक्षाका लागि समर्पित रहेको र यो एउटा गीति एल्बम मात्र नरही एक परियोजना रहेको कुरा समर्पण टिमका संयोजक सूर्य गुरुङले कार्यक्रममा उपस्थित सहभागीहरुलाई जानकारी दिएका थिए ।

कान्ती गुरुङ श्रेष्ठ र विभा गुरुङले संयुक्त रुपमा चलाएको सो कार्यक्रको औपचारिक चरणमा राजदुत डा. दुर्गाबहादुर सुवेदीले सामाजिक एबं शैक्षिक पुण्यका लागि आयोजना गरिएको कार्यक्रममा जोडिने अवसर प्रदान गर्ने आयोजक समर्पण टिमलाई धन्यवाद व्यक्त गर्दै, सिमलको बीज छरे सिमल उम्रन्छ, सालको बीज छरे साल नै उम्रन्छ भनेजस्तै नेपाली भनेपछि विश्वमा जहाँ रहे पनि नेपाली नै रहिरहने कुरामा जोड दिए । नेपाल र नेपाली समाजका लागि कार्य गर्न लागी परेका बेलायतमै बसोबास गरिरहेका समर्पण परियोजना टिमको खुलेर प्रशंसा गर्नुका साथै हौसला प्रदान पनि आफ्नो मन्तव्यको क्रममा राजदूत सुवेदीले दिएका थिए ।

उक्त कार्यक्रमका मुख्य आकर्षण रहेका क्याप्टेन विजय लामाले समर्पण शिक्षाका लागि भन्ने मूल नाराका साथ सम्पन्न सो कार्यक्रममा मन्तव्यको क्रममा बोल्दै, चन्द्र र सूर्य अंकित ध्वजाबाहक बिमान उडाएको ३०औं वसन्त पार गरिसकेको र सोका कारण आफूले सम्मानका साथ त्यसबाट प्राप्त अनुशासनको कारणले नेपाली भएकोमा यति धेरै गर्व गर्ने कुरा बताए । नेपाली राष्ट्रिय ध्वजावाहक नेपाली हवाइजहाज लण्डनको हिथ्रो विमानस्थलमा ओराल्ने आफ्नो सपना रहेको बताउने क्याप्टेन लामाले मन्तव्यको क्रममा जातजाति धर्म र प्रदेशका आधारमा फुट गरी राजनैतिक स्वार्थभन्दा माथि उठी नेपाली भएकोमा गर्व गर्नका लागि बेलायतवासी नेपालीहरुलाई आव्हान गरेर बेलायत नेपाली गोर्खाहरुको एतिहासिक कर्मथलो रहेको र आफ्नो पुर्खाले कमाएको इज्जत बचाई राख्न र नेपाल आमालाई सम्झिरहन पनि सोही मन्तव्यमा आग्रह गर्दै समर्पण परियोजना टिमको आफू पनि एक हिस्सा भएकोमा गर्बको अनुभूति गरेको बताए । प्रेरणादायी वक्ताको रुपमा जानिएका क्याप्टेन लामा एक स्वच्छ छवि भएका व्यक्तित्व हुन् । स्पष्ट र प्रष्ट विचार राख्ने लामा नेपालका एक लोकप्रिय व्यक्ति मध्येका एक हुन् । समर्पण टिमसँग सम्बद्धतामा लामासँगै यो टिमले समाज सेवामा निकै सकारात्मक कामहरु गर्ने पक्का छ । क्याप्टेन लामालाई सुन्नका लागि मात्रै पनि सो कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलायतमा सकृय संघ संस्थाहरु एनआरएन यूके, बुद्ध फाउन्डेसन यूके, तमूधि यूके, तामाङ सोसाइटी यूके, एसीएन वोमन उसोसिएसन यूके, म्हेंदोमाया समाज यूके लगायतका संस्थाबाट आमन्त्रित प्रतिनिधि एवम् पदाधिकारीहरुले क्याप्टेन विजय लामालाई पुष्प गुच्छा तथा खादा ओढाई स्वागत एवम् सम्मान व्यक्त गरेका थिए । गीति एल्बमको सिर्जना गरी सोको विक्री वितरणपछि उठेको सम्पूर्ण रकम स्कुल बनाउनको लागि लिने टिमको सो एलबमको प्रायोजन बेलायतवासी श्रीमती यसोदा गुरुङ र श्रीमती गुटु गुरुङले संयुक्त रुपमा गरेका हुन् ।

पछिल्लो समयमा, खासगरी बेलायती नेपाली समुदायमा च्यारिटीलाई एक किसिमले आतङ्कको रुपमा पनि लिन थालिएको छ । नेपालमा घट्ने विविध दैवीय प्रकोपको कारणका लागि होस् या नेपालका विभिन्न अविकसित स्थानहरूमा रहेको स्कुल तथा अन्य सामाजिक भवनहरुको निर्माण गर्ने क्रमको लागि होस्, बेलायती नेपाली समाजमा च्यारिटेबल कार्यक्रमहरु हरेक सप्तान्तमा हुने गरेको छ । समाजमा दानीको रुपमा आफूलाई चिनाउने धोको राख्नेहरुलगायत समाजमा र समाचारहरुमा देखिनका लागि पनि नेपालीहरु त्यस्ता कार्यक्रमहरुमा जाने गर्दछन् भने कोही नगए समाजमा पछि परिने डर बोक्नेहरु पनि हुन्छन् । च्यारिटेबल कार्यक्रमहरुका लागि भनेर चन्दा उठाउनेहरुका संस्था कमै मात्रामा दर्ता गरिएका हुन्छन् अनि कतिपय संस्थाहरुले च्यारिटिमार्फत् उठेको रकमकलाई सार्वजनिक गर्दैनन्, गरे तापनि स्पष्ट हुँदैनन्, तथापि बेलायती नेपाली समाजमा च्यारिटेबल काम गर्ने व्यक्रिहरुका समूहहरु एकपछि अर्को गर्दै बनेका छन् र न्युनतम, आँशिक वा सम्पूर्ण प्रतिशतहरु सम्वन्धित विषयमा लगानी भएका छन् जसलाई साथ दिने नेपाली सामाजिक व्यक्तित्वहरु पनि एकपछि अर्को गर्दै थपिएका छन् ।