सिड्नीको चर्चित पपमा गलबन्दी च्यातियो…

सिड्नीको चर्चित पपमा गलबन्दी च्यातियो…


■ राजन घिमिरे, सिड्नी

रात छिप्पिँदै थियो । पपमा रमाउन चाहने युवायुवतीहरूको आगमन पनि बढ्दो थियो । समय रातको लगभग ११ बजेको थियो । स्थान थियो सिड्नीको ब्यस्त पप ‘थ्रि वाज मंकिज’ ।

सन् २००० देखि सञ्चालनमा आएको यो पप सिड्नीकै पुरानो पपमा गनिदोरहेछ । यहाँ कति गीत गुञ्जिए ? कुन–कुन देशका डिजेहरू आएर कतिलाई सांगीतिक मनोरन्जन दिए होलान् ? त्यसको हिसाबकिताब कसले राख्ने ? तर त्यो रातको अवस्था या माहोल भने अलि फरक नै थियो । युवायुवतीहरुको संख्या बाक्लिँंदै जाँदा त्यहाँ एक्कासी नेपाली गीत घन्कियो र त्यही गीतको तालमा सयौँ नेपालीहरू झुम्न थाले– गलबन्दी च्यातियो …!

यसरी प्रवासको पपमा नेपाली गीत घन्किएपछि यो पंक्तिकारको ध्यान पनि त्यो माहौलले खिच्यो । पछी पो यसको बास्तबिकता थाहा लाग्यो कि सिड्नीको यो चर्चित पपमा हरेक आइतबार नेपाली डिजेको साथमा नेपाली गीत संगीत घन्किँदो रहेछ । डिजे रहेछन् पोखराका सन्तोष हुमागाईं ‘नटकेस’ । नटकेस उनको डिजे नाम रहेछ । ‘यहाँ नेपालीहरूको माहोललाई ध्यानमा राखेर हरेक आइतबार के नेपाली के विदेशी ? नेपाली गीत–संगीत घन्कने गर्छ’– नटकेसले जानकारी दिए ।

नेपालीहरूको उपस्थिति बाक्लो भैदिँदा पप सञ्चालक पनि दङ्ग परेका रहेछन् । ‘अब त नेपाली गीत–संगीत सुन्दा–सुन्दा मैले पनि नेपाली गीत–संगीत बुझ्न थालिसके’, ती सञ्चालक भन्दै थिए ।

हरेक आइतबार यो पपमा बज्ने नेपाली गीत–संगीतको यो माहोललाई ‘ठमेल नाइट’नाम दिइएको छ भने नटकेसले बताएअनुसार नेपाली मात्र होइन कि विदेशीहरू पनि बढी लोकगीतमा झुम्न चाहन्छन् । उनले भने– ‘आजसम्म मैले बढी बजाएको त गलबन्दी च्यातियो र रातो र चन्द्र सुर्य नै हो ।’ नटकेसले यो पपमा जिम्मेवारी पाएको ५ महिना मात्र भएको छ । यो थोरै समयमा नेपाली माहोलको उपस्थिति र नेपाली गीत–संगीतको क्रेज देखेर अरू पनि छक्क पर्ने गरेका छन् ।

सन्तोष हुमागाई ‘नटकेस’ अरुको देखेको भरमा डिजे भएका होइनन् । उनले लाखौँ रकम खर्चेर र मिहेनत गरेर अष्ट्रेलियामा म्युजिक साउण्ड र डिजे बढेका हुन् । त्यसकारण पनि कस्तो माहोलमा कस्तो साउण्ड बजाउने वा के–कस्ता गीत–संगीत प्रस्तुत गर्ने ? यो कुराको राम्रो ज्ञान छ उनलाई । सन्तोष यो पपमा मात्र होइन कि नेपाली वा विदेशीहरूले आयोजना गर्ने अन्य कार्यक्रमतिर पनि डिजेको काम गर्ने गर्छन् । ‘कति अरू पपमा गएर विदेशी गीतमा नाच्ने ? यहाँ आएपछि नेपाली परिवेशमा नेपाली गीत–संगीतमा झुम्न पाइन्छ । त्यसकारण पनि हामी यहाँ आउने गर्छौं । अब त नेपालकै पप जस्तो लाग्न थालिसक्यो’, पपमा भेटिएकी चितवनकी नानु गौतमले भनिन् ।

सम्भवतः नियमित रूपमा अष्ट्रेलियाभरि नै यो मात्र पहिलो पप होला जहाँ नियमित हप्ताको एक रात भए पनि नेपाली गीत–संगीत घन्कने गर्छ । ‘यसले सन्देश मात्र राम्रो गएको छैन कि विदेसीमाझ नेपाली गीत–संगीतको बजार र क्रेजलाई पनि बढाएको छ । यसरी प्रवासमा नेपाली गीत–संगातीले माहोल सिर्जना गर्नु भनेको साँच्चै सुखद कुरा हो’, पपमा आएका नेपालीहरूको धारणा थियो ।