होन्डुरस जेलभित्र भएका झडपमा दुई दिनमा ३६ को मृत्यु

होन्डुरस जेलभित्र भएका झडपमा दुई दिनमा ३६ को मृत्यु


होन्डुरसको जेलमा हिंसात्मक झडपका दुई दिनको अवधिमा भएका दुई हिंसात्मक घटनामा ३६ जनाले ज्यान गुमाएका र दजनौँ व्यक्ति घाइते भएपछि सरकारले आफ्ना जेलहरूमा सङ्कटकाल घोषणा गरेको छ ।

होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच गत आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने दुई दिन पहिले पनि होन्डुरसकै जेलमा दुई समूहबीच झडप हुँदा अन्य १८ कैँदीको मृत्यु भएको थियो । सो क्रममा अन्य १६ कैदी सख्त घाइते भएका थिए ।

त्यहाँको सुरक्षा नेतृत्वले झडपका समय बन्दीगृहको सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीलाई ६ महिनाका लागि निलम्बन गरी घटनाबारे अनुसन्धान अघि बढाएको एएनआईले जनाएको छ । मध्य अमेरिकी मुलुक होन्डुरसको जेलहरूमा क्षमताभन्दा बढी कैदीहरू राखिने गरिएको छ ।

कमजोर जेल प्रशासनको फाइदा हुँदै जेलभित्र पनि गुट–उपगुट र तीनका नाइकेले आफ्नो प्रभाव देखाउन जेलभित्र हिंसात्मक आक्रमण हुनु होन्डुरसका लागि सामान्य घटनाजस्तै मानिन्छ । यहाँ पटक पटक यस प्रकारका घटना दोहोरिने गर्छन् ।

समाजमा आपराधिक गतिविधिमा संलग्न समूहका जेलबाहिर विभिन्न झगडामा प्रकट गर्न नसकेका रोषका घटनाले जेलभित्र हिंसात्मक स्वरूप लिने गर्छन् । होन्डुरसभरी जम्मा २७ बन्दीगृह रहेका छन् भने ती जेलमा करिब २२ हजार कैँदीलाई राखिँदै आएको छ ।