विख्यात गायिका आशा भोस्ले नेपाल आउँदै

विख्यात गायिका आशा भोस्ले नेपाल आउँदै


भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार (९ पुस) नेपाल आउँदै छिन् । राजधानीको पुतलीसडकस्थित साधना कला केन्द्रको निमन्त्रणामा नेपाल आउन लागेकी भोस्लेले आगामी शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने सो केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिए ।

उनका अनुसार गायिका भोस्लेलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने कार्यक्रम तय भएको छ । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको भ्रमण पनि गर्ने बताइएको छ ।

यसअघि साधना कला केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् भने नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने मोक्तानले दाबी गरे ।

ज्ञातव्य छ, विख्यात गायिका आशा भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन् ।