नरिवलको रक्सी सेवन गर्दा आठको मृत्यु, तीन सय अस्पताल भर्ना

नरिवलको रक्सी सेवन गर्दा आठको मृत्यु, तीन सय अस्पताल भर्ना


नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठजनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरू सयौँ अस्पताल भर्ना भएका सोमबार अधिकारीहरूले जनाएका छन् ।

उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकामध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरूले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएकामध्ये नौजनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।

रक्सी सेवनका कारण बिरामी भएका तीन सयजना अस्पतालमा भर्ना भएका उनको भनाइ छ । उनीहरू सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकको भनाइ छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।

बजारमा बिक्री–वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् । पछाडि पारिएको अशिक्षित समुदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।
रासस–एएफपी