बिन्दुको ‘काफलको दाना’लाई ५० लाख…

बिन्दुको ‘काफलको दाना’लाई ५० लाख…


■ राजन घिमिरे, सिड्नी

आफ्नो मन परेको क्षेत्र वा विधामा लागेर प्रतिभा देखाउन स्वदेशमै रहनुपर्ने अवस्था अब रहेन । प्रवासबाट पनि नाम कमाउन र सम्बन्धित क्षेत्रमा योगदान दिन सकिन्छ भन्ने कुरा छर्लङ्ग भइसकेको छ ।

प्रसङ्ग हाल अष्ट्रेलियाको सिड्नी रहँदै आएकी गायिका बिन्दु पौडेलको हो । नेपाल रहँदा पनि गायन क्षेत्रमा सक्रिय थिइन् बिन्दु, र प्रवासबाट पनि यो क्षेत्रमा उनले खास योगदान दिइरहेकी छिन् । उनी सिड्नी आएको अहिले ६ वर्ष बितिसकेको भए पनि प्रवासबाटै गायन क्षेत्रमा उनको सक्रियतामा कमी आएको देखिंँदैन ।

प्रवासको ब्यस्त जीवनमा पनि बिन्दुले गायन क्षेत्रलाई निरन्तरता मात्र नदिई लोभलाग्दो सफलता हात पारेकी छन् ।

सिड्नीमा रहँदै आएकी बिन्दुको आवाज एवम् लगानीमा तयार भएको ‘काफलको दाना…’ बोलको गीतको भिडियोले यो हप्ता यूट्यूबमा ५० लाख भन्दा बढी दर्शकहरू पाएको छ । गीतमा बिन्दुलाई पुरूष गायनमा हिमाल सागरले साथ दिएका छन् भने दिपक शर्माको गित तथा सङ्गीत रहेको छ । यसैगरी भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।

‘प्रविधिका कारण पनि हामीजस्ता प्रवासमा रहने सर्जकहरू ओझल पर्नबाट जोगिएका छौँ । हाम्रो सृजनालाई यसरी साथ दिनुहुने सबैमा धन्यवाद दिन चाहन्छु’– बिन्दुले भनिन् । सिड्नीमा आएर बिन्दुले रेकर्ड गरेको काफलको दाना दोस्रो गीत हो । काफलको दानाको यो सफलताले गीत–संगीत क्षेत्रमा लाग्न आफूलाई उर्जा मिलेको कुरा बिन्दुले बताइन्– ‘दाम होइन, नाम र आफूले माया गर्ने विधाप्रतिको लगाव हो यो । जहाँ बसे पनि आफूले माया गरेको यो क्षेत्रलाई त्याग्न र माया मार्न सकिँदो रहेनछ’, सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको रगडेलको डि क्याफेमा भेटिएकी बिन्दुले भनिन् ।