इरानी राष्ट्रपति रउहानीको ‘अर्थपूर्ण’ जापान भ्रमण

इरानी राष्ट्रपति रउहानीको ‘अर्थपूर्ण’ जापान भ्रमण


अमेरिकासँग पछिल्लो समय कूटनीतिक रूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान पुगेका छन् । शुक्रबार (२० डिसेम्बर) जापानको राजधानी टोकियो पुगेका राष्ट्रपति रउहानीको भ्रमणबारे जापानी मिडियाले लेखेका छन्– ‘राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति हुनुहुन्छ ।’

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ । यस विवादबीच पनि उनी निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा गएका अमेरिकी सञ्चारमाध्यमले पनि लेखेका छन् ।

राष्ट्रपति रउहानी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शुक्रबार साँझ जापानी प्रधानमन्त्री आबेको कार्यालयमा द्विपक्षीय औपचारिक वार्ता पनि भइसकेको एएफपीले जनाएको छ । शुक्रबार टोकियो पुगेपछि उनको सम्मानमा ‘गार्ड अनर’ दिइएको थियो भने त्यसपछि रउहानी र आबेबीच साँझ औपचारिक वार्ता एवम् रात्रिभोज सम्पन्न भएको थियो ।

द्विपक्षीय वार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारेमा भने केही नबताइएको राजधानी टोकियोबाट विभिन्न अन्तरराष्ट्रिय मिडियाले जनाएका छन् । उनको यो भ्रमण इरानमा गत महिना भएको ठूलो आन्तरिक आन्दोलनपछि भएकाले अर्थपूर्ण रूपमा हेरिएको छ ।

इरान सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा गत महिना व्यापक आन्दोलन भएको थियो । साथै केही समययतादेखि अमेरिकाले पनि इरानमाथि उसका आणविक कार्यक्रमका विषयलाई लिएर आर्थिक नाकाबन्दी नै लगाएको छ । अमेरिकाको यो नाकाबन्दीले गर्दा इरानको समग्र अर्थतन्त्रमा नै ठूलो असर पारेको इरानका आर्थिक क्षेत्रका जानकारले जनाएका छन् ।

इरानसँगको विश्वका ठूला शक्तिराष्ट्रसमेतको संलग्नतामा भएको सम्झौताबाट पछि हटेर अमेरिकाले इरानमाथि यस्तो प्रतिबन्ध लगाएको छ ।

यसपटकको यो भ्रमण भने अमेरिकासँगको सो मुद्दाका विषयमा नरहेको इरानको स्पष्टोक्ति छ । इरान सरकारका प्रवक्ता अलि राबेइले अमेरिकासँग पछिल्लो समयमा जारी विवादास्पद मुद्दाका विषयमा कुनै पनि किसिमले सम्बन्धित नरहेको जनाएका छन् । उनले यस भ्रमणको समयमा त्यस विषयमा कुनै कामकारवाही नहुने भए पनि जापानले आफ्ना विषयमा अमेरिकासँग कुरा गर्ने र इरानसँग सद्भाव भने राख्ने गरेको जानकारी दिए ।

गत जुन महिनामा जापानी प्रधानमन्त्री आबेले चाहिँ यसै विषयमा केन्द्रित रेहर इरानको भ्रमण गरेका थिए । अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उनले इरानको भ्रमण गरेको त्यतिबेला विदेशी मिडियाले उल्लेख गरेका थिए ।