हिंसात्मक बन्दै आन्दोलन, तीनको मृत्यु, लालकिल्लाबाट १२ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ

हिंसात्मक बन्दै आन्दोलन, तीनको मृत्यु, लालकिल्लाबाट १२ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ


भारतको संसदले ल्याएको नागरिकतासम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीनजनाको ज्यान गएको छ ।

राजधानी नयाँदिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीनजनाको ज्यान गएको छ भने अरू सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार आन्दोलनकारीमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकमा दुईजना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको ज्यान गएको छ ।

भारतका सञ्चारमाध्यमहरूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् ।

हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर, सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो ।

बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुस नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ । शुक्रबार पनि विरोध प्रदर्शनहरू जारी रहेको र पछिल्लो केही दिनयता यहाँको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको बताएका छन् । भारतका केही स्थानमा कर्फ्यु नै लगाइएको बताइएको छ ।

उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका थिए । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । यहाँको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी रहेको छ । तैपनि अधिकारीहरूले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भाग, कर्नाटक, गुजरात, तेलंगना र मध्यप्रदेशका अधिकांश नगरमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ ।

त्यसैगरी बेंग्लोरमा भने सरकारले कर्फ्यु नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । त्यस स्थानमा हिजो प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लालकिल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । उक्त प्रदर्शनका क्रममा केही सामाजिक अभियन्तालाई पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीले जानकारी दिएका छन् ।

त्यसैगरी प्राप्त अर्काे एक समाचारमा राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो । हवाई अधिकारीका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आक्रामक बन्दै गएपछि मुख्य सडक बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो । अधिकारीहरूले बिहीबार दिउँसोका केही उडान नै स्थगित भएका जनाएका छन् ।

प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले लखेटिरहेका समाचार आइरहेका छन् ।

तर, नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । उता अधिकारीहरूले शुक्रबार पनि बिहानैदेखि विरोध प्रदर्शन शुरु भएको बताएका छन् ।

यस विषयमा थप विवरण भने आएको छैन । आज पनि प्रहरीको धरपकड हुने तथा उक्त विधेयकको विरोधमा जुलुश निस्किने क्रम जारी नै रहने प्रदर्शनकारीले जनाएका छन् । प्रमुख विपक्षी दल भारतीय कंग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक धरपकडका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई लाज लाग्नुपर्ने बताएको छ ।

तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्ता विरोध प्रदर्शनको कुनै अर्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतीकरण नगरी शान्त रहन सबैलाई आग्रह गरेका छन् ।

रासस–सिन्ह्वा