२०१९ मा संसारभर ४९ पत्रकारको हत्या

२०१९ मा संसारभर ४९ पत्रकारको हत्या


सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट बोडर्स’ ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरूको संख्या गत १६ वर्षयताको सबभन्दा कम भएको बताइएको छ । हत्या गरिएका पत्रकारको संख्यामा ऐतिहासिक रूपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विषेशगरी द्वन्द्व जारी रहेको मुलुकहरू यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा कमी आएको देखिएको छ । पेरिसमा कार्यालय रहेको पत्रकारितासम्बन्धी अध्ययन–अनुसन्धान गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेसाको रूपमा रहेको जनाएको छ ।

एक वर्षमा ८० पत्रकारले जीवन गुमाउनु पछिल्लो दुई दशकको औसत संख्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाका प्रमुख क्रिस्टोफ डेलोइरले मेक्सिकोमा मात्रै यस वर्षमा १० पत्रकारको हत्या हुनुले अझै पनि चिन्ताजनक अवस्थालाई झल्काउने बताए ।

ल्याटिन अमेरिकी देशहरूमा कुल १४ पत्रकार मारिएका उनले बताए । उनले द्वन्द्वग्रस्त लोकतान्त्रिक शासन व्यवस्था भएका देशहरूमा पत्रकारिता गरेकै कारण पत्रकारहरू मारिनुले लोकतन्त्रलाई नै चुनौती थपेको उल्लेख गरे । सन् २०१९ भरिमा ३ सय ८९ पत्रकारलाई बन्दक बनाइएको र त्यो संख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ ।

तीमध्ये आधाजति पत्रकार चीन, इजिप्ट र साउदी अरब गरी तीन देशमा बन्दी बनाइएका हुन् । सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ जना पत्रकार कारागारमै रहेका पनि सो प्रतिवेदनमा उल्लेख छ ।
रासस–एएफपी