३ माघ २०७८, सोमबार

कसलाई भन्ने सच्चा देशभक्त नेपाली ?

  प्रकाशित मिति
२ पुष २०७६, बुधबार ०४:५६


■ देवप्रकाश त्रिपाठी

अब्राहम लिङ्कन रेडियो या टेलिभिजनमा गराइएको वक्तृत्व कला प्रतियोगिताबाट छानिएका नेता होइनन्, न आधुनिक चीनका जन्मदाता मार्गदर्शक नेता देङ सियाओ पिङ नै कुनै ‘अडिसन’मार्फत फेला पारिएका नेता हुन् । पचासी डलर प्रतिव्यक्ति आम्दानी भएको दक्षिण कोरियालाई तेत्तीस हजार डलर प्रतिव्यक्ति आम्दानी भएको देशमा रूपान्तरण गर्ने पार्क चुङ ही पनि टेलिभिजनबाट खोजिएका होइनन्, न सिङ्गापुर बनाउने ली क्वान यु नै टेलिभिजनका उपज हुन् । ओरालो लागेको बेलायतलाई माथि उठाउन अविष्मरणीय योगदान पुऱ्याउने मार्गरेट थ्याचर र अस्तव्यस्त भारतलाई एकताबद्ध गराउँदै शक्तिराष्ट्रमा रूपान्तरण गर्ने नरेन्द्र मोदीलाई पनि टेलिभिजनले फेला पारेर राजनीतिक दललाई उपलब्ध गराइदिएको होइन । मानिसमा नेतृत्व क्षमता जन्मजात प्राप्त हुन्छन्, सामाजिक परिवेश, शिक्षा र अवसरले व्यक्तिको क्षमता उजागर गर्दछ । त्यस्तो क्षमताका मानिस जो जहाँ छ त्यहीँ अगुवा भूमिकामा रहिरहेको हुन्छ, तिनको पहिचान समाज आफैँले गर्दछ । कृत्रिम ढङ्गले उत्पादन गरिने नेता सोभियत सङ्घका मिखाइल गोर्वाचेभ र मोहनदास करमचन्द गान्धीजस्ता हुन्छन्, जसले पराई इसारामा काम गर्दागर्दै कतिबेला देशलाई क्षतविक्षत तुल्याइसकेका हुन्छन्, परिणाम आइसकेपछि मात्र थाहा हुन्छ ।

हामी नेपाली बहुसांस्कृतिक धरातलमा स्थापित एकात्मकतामा रमाउँदै आएका मानव हौँ । बेलायतबाट स्कटल्यान्ड टुक्रिन खोज्दा पनि नेपालीलाई दुख्छ । सोभियत सङ्घ पन्ध्र टुक्रामा विभाजित हुँदा पनि नेपालीलाई दुखेको हो र विश्वमानचित्रबाट युगोस्लाभिया नामको मुलुक नै गायव हुँदा पनि नेपाली विष्मयमा परेका हुन् । भारतको नागाल्यान्ड, असम, कस्मिर र पञ्जावमा पृथकतावादी उत्पात मच्चिँदा नेपाली चिन्तित थिए भने चीनबाट ताइवान अलग्याइँदा या तिब्बतलाई छुट्याउन खोजिँदा पनि नेपाली दुःखी बनेका हुन् । तर, नेपालभित्रै नेपाल विखण्डनका खेल भइरहँदा पनि नेपालीलाई नदुखेको किन हो, योचाहिँ विस्मातपूर्ण विषय बनेको छ ।

नेपालमा जन्मिएका र आदि–अनादि कालदेखि नै यो भूमिप्रति अपनत्व दर्शाउँदै आएकाहरूले मात्र होइन, भर्खरै नेपाली नागरिकता पाउन सफल भएकाहरूले पनि आफूलाई नेपाली ठान्न सक्छन् । देशको सार्वभौमिकता विभाजन र मौलिक धर्म–संस्कृति उन्मूलनको पक्षमा क्रियाशील भएर पनि कतिपय मानिस आफू देशभक्त नेपाली भएको ठान्छन् । सत्तरी केजी आसपासको एउटा ज्यान र एकथान परिवार पाल्न विदेशीको निगाह खोज्ने एनजीओ–आईएनजीओ व्यवसायी पनि आफू सच्चा नेपाली भएको दाबी गर्ने गर्दछन् । तर, को सच्चा देशभक्त नेपाली हो र, को ‘नेपाली’ मात्र हो भन्ने भिन्नता छुट्याउन सकिने केही आधार छन्, त्यसबारे सङ्क्षिप्त चर्चा गरेर मात्र ‘नेता खोज अभियान’को उद्देश्य र औचित्यबारे स्पष्ट गर्नु यहाँ उपयुक्त ठानिएको छ ।

ज्यालादारीमा देशविरुद्ध काम गर्दै आएकाहरूको औचित्य समाप्त हुनुअघि नै नयाँ बुख्याचाहरू खडा गर्ने प्रयास पश्चिमाहरूबाट भइरहेको छ । प्राकृतिक रूपमा राष्ट्रवादी एजेन्डासहित नेतृत्व स्थापित हुने पृष्ठभूमि बन्न थालेपछि जनताको ध्यान विच्छेद गर्न इन्कुबेटरबाट चल्ला उत्पादन गरेझैँ यान्त्रिक किसिमले हाइब्रिड नेता उत्पादन गर्ने परियोजना अघि सारिएको छ ।

कुनै पनि राष्ट्र देश बनेर उभिने निश्चित आधार (खुट्टा) हुन्छन् । सोभियत सङ्घ देश बनेर उभिएको भए पनि त्यसको कुनै आधार नदेखिएपछि स्टालिनले रसियन भाषा सबै पन्ध्र राज्यमा अनिवार्य गरी देश उभ्याउने प्रयास गरेका थिए, तर मिखाइल गोर्वाचोभ नामक हाइब्रिड नेताको उदयपश्चात् स्टालिनको भाषा नीति (१९८६ इ.सं.मा) खारेज गरियो र त्यसको तीन वर्षभित्र सोभियत सङ्घ विघटन भएर पन्ध्र मुलुकमा रूपान्तरित भएको सन्दर्भलाई कोही पनि सच्चा देशभक्तले स्मरण गरिरहनु उचित हुनेछ । बहुसांस्कृतिक मुलुक भारतको राष्ट्रियता, राष्ट्रिय एकता र अस्तित्व पश्चिमा बङ्गाल, बिहार, उत्तर प्रदेश महाराष्ट्र र गुजरातमा उभिएको छ भनियो भने त्यो गलत हुनेछैन । यी त्यस्ता राज्य हुन् जो भारतीय राष्ट्रियताको जग बनेर बसेका कारण छुट्टिएर जाने मनोविज्ञानका कतिपय भाग पनि भारतमै बाँधिएर बस्न बाध्य छन् । यदि एउटा उत्तर प्रदेश मात्र छुट्टिन खोज्यो भने भारत पचासौँ टुक्रामा विभाजित बन्ने खतरा रहन्छ । यद्यपि भारतीय राष्ट्रियताका आधार त्यहाँको सभ्यता, इतिहास, धर्म, भाषा र संस्कृति पनि हो, तर ऐक्यबद्धताचाहिँ उल्लिखित प्रदेशहरूले सिर्जना गरिदिएका हुन् भन्न सकिन्छ ।

चीनको एकता भाषा, संस्कृति, सभ्यता र इतिहासले टिकाएको छ । एउटै जाति (हान) को बाहुल्य हुनु, एउटै भाषा सर्वस्वीकार्य रहनु र एउटै पार्टीको देशभर बलियो पकड कायम हुनुले पनि चिनियाँ राष्ट्रिय एकतालाई मजबुत बनाएको हो । मिलेर (Comming together) जाने सिद्धान्तमा आधारित भएर बनेको संयुक्त राज्य अमेरिकाले दुई–दुईपटक बीभत्स गृहयुद्धको सामना गरेको भए पनि उसको राष्ट्रियता र राष्ट्रिय एकताको मूल आधार अङ्ग्रेजी भाषा तथा त्यहाँको समृद्धि र शक्ति हो । अमेरिका शक्तिहीन, सामथ्र्यहीन र समृद्धिहीन देशमा रूपान्तरित भयो भने त्यो अनेकौँ टुक्रामा विभाजित हुन सम्भव छ । तर, नेपाल राष्ट्रियता र राष्ट्रिय एकताका आधारहरूका दृष्टिले अत्यन्त सम्पन्न मुलुकको कोटिमा पर्दछ (कि पर्दथ्यो ?) । दुई विशालकाय मुलुकका बीच नेपाल निरन्तर उभिन सक्नुका नौ कारण अर्थात् आधार छन् ।

पहिलो, सनातन धर्म–संस्कृति नै नेपाली राष्ट्रियताको मजबुत स्तम्भ हो । तराई र पहाडको मिलापमा मात्र नेपालको समग्र अस्तित्व रहन्छ र, तराई–पहाड जोड्ने एक मात्र बलवान् अस्त्र भनेको सनातन वैदिक धर्म हो, आमप्रचलनमा यसलाई हिन्दुत्वका रूपमा बुझिन्छ । पहाडी र समतल भूभागमा बस्ने नेपाली विश्वको एक मात्र हिन्दूराष्ट्र नेपाल भएकोमा गौरव महसूस गर्थे । स्वयम्भू र पशुपतिनाथप्रति समान आस्थाभाव राख्ने हिमाल र पहाडका बौद्धमार्गीहरू पवित्र धाम लुम्बिनी (तराई) लाई आफ्नो ‘खास’ ठान्थे भने तराईमा बसोवास गर्ने हिन्दूहरू चण्डेश्वरी, मुक्तिनाथ, गोसाइँकुण्ड र पाथीभरामा आफ्नो स्वामित्व जनाउँथे । देशलाई एकताबद्ध राख्न धर्मले धेरै ठूलो योगदान पुऱ्याइरहेको तथा विश्वको एउटै मात्र हिन्दूराष्ट्रका रूपमा नेपाल रहँदा त्यसले हाम्रो विशिष्ट पहिचान बनाएको र देशवासीलाई गौरवान्वित तुल्याएको थियो । भारतमा इसाईहरूले सत्ता कब्जा गरेको पृष्ठभूमिमा अढाई शताब्दीअघि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले ‘म असली हिन्दुस्थान’ बनाउँछु भनी एकीकरण अभियान शुरु गर्नुले पनि धर्मसापेक्षताले हाम्रो राष्ट्रियता र राष्ट्रिय अस्तित्व रक्षामा कति ठूलो योगदान पुऱ्याएको छ भन्ने अनुभूत गर्न सकिन्छ । तर, अहिले देशलाई बलजफ्ती धर्मनिरपेक्ष बनाइएको छ र इसाईकरणलाई प्रोत्साहन गरिएको छ ।

धनीको घरमा पालिएको कुकुर जस्तै स्वाभिमानमुक्त अवस्थामा जनतालाई राख्ने व्यवस्थाको नाम नै वैज्ञानिक साम्यवादी समाजवाद या वर्णशङ्कर प्रजातन्त्र हो । यस्तो व्यवस्थामा मानिस धर्म बेचेर ज्यान पाल्न निर्लज्ज ढङ्गले लागिपर्छन्, सर्वाधिक महत्व नगद र दैहिक सुखले पाउने गर्छ, राज्यसत्ता कब्जामा लिनेहरूको नियन्त्रण र निर्देशनमा समाज परिचालित हुने गर्दछ ।

दोस्रो, नेपाली भाषा नेपाली राष्ट्रियता तथा राष्ट्रिय एकताको आधार हो । जुनसुकै मातृभाषाका नेपालीले आफ्नो आमसंवाद र सम्पर्कको माध्यमका रूपमा अपनाएको नेपाली भाषाप्रति हरेक नेपालीले स्वामित्व कायम गरेका थिए, छन् । मेचीदेखि महाकालीसम्मका नेपालीले प्रयोग गर्ने गरेकैले नेपाली भाषा राष्ट्रियता र राष्ट्रिय एकताको एउटा बलियो आधार बनेको थियो । तर, २०६३ को प्रायोजित परिवर्तनपछि नेपाली भाषालाई कमजोर बनाइएको छ । जहाँ जसले जुन मन लाग्छ त्यसैलाई सरकारी कामकाजको भाषा बनाउन सक्ने वैधानिक व्यवस्था गरिएको छ । यही संवैधानिक व्यवस्थापश्चात् दुई नम्बर भनिएको प्रदेशमा सरकारी कामकाजको भाषा हिन्दी बनाउने कि मैथिली भन्ने बहस नियोजित ढङ्गले शुरु गराइएको छ । नेपाली बनाउने कि मैथिली बन्ने बहस त्यहाँ शुरु गरिएको भए विषयलाई अर्कै ढङ्गले बुझ्न सकिन्थ्यो । दौरा, सुरुवाल, कोट र टोपीमा (संसदभित्र) प्रतिबन्ध लगाउने प्रदेशले नेपाली भाषा पन्छाउन खोज्नुले बेग्लै सङ्केत दिएको छ । नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको आधार नेपाली भाषालाई पनि यसरी खण्डित गरिएको छ ।

तेस्रो, राष्ट्रिय राजनीतिक दल । प्रजातान्त्रिक प्रणालीमा राष्ट्रिय राजनीतिक दलहरू राष्ट्रियता तथा राष्ट्रिय एकताका आधार बनेका हुन्छन् । निश्चित विचार, दर्शन र नीति–कार्यक्रमका नाममा उनिएका कार्यकर्ता– समर्थकहरूको सङ्गठित बलले राष्ट्रिय एकता स्थिर एवम् मजबुत गर्न धेरै ठूलो योगदान पुऱ्याएको हुन्छ । तर, अहिले क्षेत्रीयतावाद र जातिवादमाथि विदेशी लगानी हुन थालेपछि निश्चित भूभागमा जातिवादी र क्षेत्रीयतावादीहरू मजबुत र, राष्ट्रिय राजनीतिक दलहरू दुर्बल बनेका छन् ।

चौथो, एकात्मक पद्धति । नेपालजस्तो भौगोलिक एवम् सांस्कृतिक विविधता भएको मुलुकमा विकेन्द्रीकरणसहितको एकात्मक पद्धति राष्ट्रियताका दृष्टिले उपयोगी हुने हो । स्थापनाकालदेखि नै एकात्मकताको अभ्यास गर्दै आएको मुलुकलाई कृत्रिम ढङ्गले सार्वभौमिकता खण्डित गरी सात प्रदेशमा विभाजन गरिएको छ । आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले अनुपयुक्त र बोझिलो सङ्घीयता नेपालले धान्न नसक्ने पाटो बेग्लै छ, यसले नेपाली राष्ट्रियता र राष्ट्रिय एकतालाई पनि घायल बनाएको छ । यसले देशलाई अझै सकसपूर्ण अवस्थामा पुऱ्याउन बाँकी नै छ ।

पाँचौँ, विस्तारित बसोवास । नेपालका नेवार, दलित, ब्राह्मण र क्षेत्री देशको अधिकांश हिस्सामा फैलिएका छन् । दार्चुलादेखि झापा र ताप्लेजुङदेखि कञ्चनपुरसम्म जहाँसुकै भेटिने जाति भनेको दलित, नेवार, क्षेत्री र ब्राह्मण नै हुन् । उनीहरूको सामाजिक सम्बन्धले पनि राष्ट्रिय एकता सबलीकरणमा ठूलो योगदान पुऱ्याएको छ । अन्य जाति पनि फैलिने क्रममा छन् र यसरी जुनसुकै जाति जुनसुकै स्थानमा भेटिन थाले भने त्यसले अन्ततः नेपाली राष्ट्रियता सबलीकरणमा योगदान पुऱ्याउन सक्छ । तर, २०६३ पछि शुरु भएको सङ्घीयताको सूक्ष्म अभ्यासले सबै जातिको विस्तारित बस्ती विकास र जातीय अन्तरघुलनमा अवरोध पैदा गरेको छ । सङ्घीयताको अभ्यासपश्चात् दुई नम्बर भनिएको प्रदेशबाट निश्चित समुदायको विस्थापन हुनुले नेपाली राष्ट्रियतालाई कमजोर बनाएको छ ।

राष्ट्रियता रक्षा हुने एजेन्डा ग्रहण गर्नेहरू मात्र सामान्यतया देशभक्त नेपाली ठहरिन सक्छन् । राष्ट्रियता र मौलिक धर्मसंस्कृतिविरुद्ध उभिने या राष्ट्रविरुद्धका गतिविधिप्रति आँखा चिम्लिने र देशलाई भन्दा आफ्ना तुच्छ स्वार्थलाई प्राथमिकतामा राख्नेहरू सच्चा देशभक्त नेपाली हुन सक्दैनन् । नेपाली भएको प्रमाणित गर्न उल्लिखित नौमध्ये सबै या कुनै न कुनै एजेन्डामा प्रतिबद्ध भएर काम गरेको हुनुपर्छ ।

छैटौँ, इतिहास र सभ्यता । नेपाली राष्ट्रियताको एउटा प्रमुख आधार यसको आफ्नै मौलिक सभ्यता र इतिहास पनि हो । तर, पछिल्लो समयमा यो देशको इतिहास र सभ्यता भङ्ग गराउने अनेकौँ झेली प्रयास हुँदै आएका छन् । २०६३ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमाथि साङ्घातिक हमला गरेर शुरु भएको नेपाली इतिहास र सभ्यतामाथिको आक्रमणले अझै कुनै न कुनै रूपमा निरन्तरता पाइरहेको छ । इतिहास बङ्ग्याउने, अनर्थ लगाउने र नेपाली सभ्यताको उपेक्षा गर्ने कार्य यो दशकभित्र व्यापक पैमानामा हुँदै आएको छ । नेपाल नामक देश हजारौं वर्षदेखि अस्तित्वमा रहेको तथ्य डिलिट गर्ने र यही २०६३ सालमा मात्र नेपाल स्थापना भएजस्तो देखाउन गाडीका नम्बर प्लेटको विदेशीकरण गर्नेदेखि मुलुकी ऐनको नाम बदल्नेसम्मका प्रयास भएका छन् ।

सातौँ, नेपाली सेना । नेपाली राष्ट्रिय सेनाको इतिहास आधुनिक नेपालको इतिहासभन्दा पनि लामो छ । नेपालको स्थापनामा धेरैको योगदान भए पनि नेपाली सेनाको योगदान विशिष्ट मानिन्छ । सेनामा गुरुङ, मगर र क्षेत्रीको खास योगदान रहेको तथ्य स्वीकार गर्न हिचकिचाउनुहुँदैन । नेपालको निर्माण र यसको ऐक्यबद्धताको रक्षा सेनाबाट भएकोले नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको एउटा खम्बाका रूपमा सेनालाई लिइन्छ । तर, २०६३ पछि यही सेनामाथि पनि निरन्तर प्रहार हुँदै आएको छ । शुरुमा नेपाली सेनाको काम नभएकोले यसको सङ्ख्या दश हजारमा सीमित गरिनुपर्ने भन्दै त्यसनिम्ति प्रयास गरियो । त्यस्तो प्रयत्न असफल भएपछि समावेशी बनाउनुपर्छ भन्दै सेनाभित्र विभाजन ल्याउने दुस्प्रयास गरियो । स्मरणीय पक्ष के छ भने सेनालाई दश हजारमा सीमित गर्नुपर्छ भन्नेहरू नै पार्टीविशेषका निम्ति लडेका बीस हजार गुरिल्लालाई नेपाली सेनाभित्र घुसाउन सक्रिय भएका थिए । सेनाको मनोबल र सङ्ख्या घटाउन बनाइएका सबै योजना असफल भएपछि केही वर्षयता ठूला विकास आयोजनाहरू निर्माणको ठेक्का दिएर सेनालाई मूल कामबाट च्यूत गराउने र नगदमा भुलाएर कमजोर बनाउने कुटिल जालअनुरूप काम हुँदै आएको छ । सेनालाई भौतिक या आत्मिक रूपमा दुर्बल बनाउनु भनेको पनि अन्ततः राष्ट्रियता नै कमजोर तुल्याउनु हो ।

आठौँ, सामाजिक सद्भाव । नेपाली राष्ट्रियताको एउटा बलियो आधार सामाजिक सद्भाव र जातीय एकता पनि हो । कुरीति र अमानवीय मान्यतालाई चिर्दै नेपाली समाज उन्नत तहको सामाजिक सद्भाव र परस्पर सम्मानको वातावरण बनाउँदै थियो । २०६३ पछि हामीबीचको सद्भाव बिथोल्न विदेशीहरूको धेरै ठूलो लगानी भयो । आपसमा अविश्वास र आशङ्का पैदा गर्न अनेक तानाबाना बुनिए । अन्ततः नेपालभित्र जातीय सद्भाव र अन्तरघुलनको स्थिति पुनस्र्थापित हुन नदिन जातीयतामा आधारित आरक्षणको व्यवस्था संविधानमा गरियो । गरिबी, अशिक्षा र पछौटेपनको उन्मूलनका निम्ति वर्गीय आधारमा आरक्षण नीति लिनुपर्नेमा जातीयतालाई आधार बनाइएकोले यसले पनि नेपाली राष्ट्रियता र एकतालाई दुर्बल तुल्याएको छ ।

वामपन्थी काङ्ग्रेस र वामपन्थी कम्युनिस्ट पार्टीको सत्ता र व्यवहारप्रति जनतामा रोष प्रकट हुँदै जाँदा यिनको विकल्प राष्ट्रवादी शक्ति बन्ने सम्भावना बढेको छ । पछिल्लो समयमा जनस्तरबाट राष्ट्रवादी नेतृत्वको विकास हुने सम्भावना बढेपछि जनताको ध्यान अन्यत्र मोड्न विभिन्न प्रपञ्च भइरहेका छन् ।

नवौँ, राजसंस्था । विश्वमा नेपाल एउटा यस्तो देश हो जहाँ मुलुक स्थापना गर्ने राजाकै वंशजको राज थियो । अधिकांश राजतन्त्रात्मक मुलुकमा कृत्रिम राजसंस्था स्थापना भएको विश्वइतिहासले देखाउँछ । तर, आधुनिक नेपालको स्थापना पृथ्वीनारायण शाहले गरेका थिए र उनकै वंशजलाई नेपाली जनताले राजाका रूपमा अपनाएका थिए । सांस्कृतिक, सामाजिक एवम् भौगोलिक विविधताका बीचमा सर्वस्वीकार्य एवम् तटस्थ संस्थाका रूपमा राजा रहँदा यसले नेपाली राष्ट्रियता र राष्ट्रिय एकतामा अद्वितीय बल पुऱ्याएको थियो । विचारले मानिस गणतन्त्रवादी पनि हुन सक्छन्, तर देशलाई मात्र केन्द्रमा राखेर हेर्नेहरूका निम्ति नेपालको राजसंस्था राष्ट्रियता र राष्ट्रिय एकताको भरोसायोग्य स्तम्भ बनेको थियो । राजसंस्थाको विस्थापनपछि तटस्थ संस्थाको अभाव खट्किएको छ, सर्वस्वीकार्य निकायको अभावमा अराजकता र बेथिति बढेको महसूस आमनेपालीलाई गराएको छ । राजसंस्थाको विस्थापन प्रजातन्त्र सुरक्षाको निम्ति नभई राष्ट्रियताको असुरक्षाका लागि भएको थियो भन्ने तथ्यको पुष्टि दशकभित्रका घटनाक्रमहरूले गरिसकेको छ ।

यसरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकता उभिने नौमा नौवटै स्तम्भ अहिले ध्वस्त बनाइएको छ । देशको अस्तित्व जोगाउने यी स्तम्भहरूको पुनस्र्थापनाका पक्षमा उभिएर मात्र नेपाली राष्ट्रियता रक्षाको भूमिका निर्वाह गर्न सकिन्छ र राष्ट्रियता रक्षा हुने एजेन्डा ग्रहण गर्नेहरू मात्र सामान्यतया देशभक्त नेपाली ठहरिन सक्छन् । राष्ट्रियता र मौलिक धर्मसंस्कृतिविरुद्ध उभिने या राष्ट्रविरुद्धका गतिविधिप्रति आँखा चिम्लिने र देशलाई भन्दा आफ्ना तुच्छ स्वार्थलाई प्राथमिकतामा राख्नेहरू सच्चा देशभक्त नेपाली हुन सक्दैनन् । नेपाली भएको प्रमाणित गर्न उल्लिखित नौमध्ये सबै या कुनै न कुनै एजेन्डामा प्रतिबद्ध भएर काम गरेको हुनुपर्छ ।

वामपन्थी काङ्ग्रेस र वामपन्थी कम्युनिस्ट पार्टीको सत्ता र व्यवहारप्रति जनतामा रोष प्रकट हुँदै जाँदा यिनको विकल्प राष्ट्रवादी शक्ति बन्ने सम्भावना बढेको छ । पछिल्लो समयमा जनस्तरबाट राष्ट्रवादी नेतृत्वको विकास हुने सम्भावना बढेपछि जनताको ध्यान अन्यत्र मोड्न विभिन्न प्रपञ्च भइरहेका छन् । गत वर्ष अमेरिकी कङ्ग्रेस (संसद्) बाट २१ करोड र केही लाख डलर नेपाल, भारत र तिब्बतमा प्रजातन्त्र सबलीकरणका नाममा स्वीकृत भएको छ । करिब २२ अर्ब नेपाली रुपैयाँबराबरको उक्त परियोजना कुन उद्देश्यका निम्ति ल्याइएको थियो भन्ने बुझ्न सचेत नेपालीलाई गाह्रो पर्ने छैन । अमेरिकी संसद्बाट स्वीकृत उक्त रकम नेपालमा कसरी र कति आयो भन्ने जानकारी न नेपाल सरकारलाई छ न आमनेपालीलाई । यसको अर्थ नेपालमा अमेरिकाको मात्र अपारदर्शी लगानी छ भन्नेचाहिँ होइन, युरोपियन युनियन र भ्याटिकन सिटीको पनि अथाहा लगानी भित्रिने गरेको नेपाली राष्ट्रियताविरुद्ध क्रियाशीलहरूको गतिविधि र सक्रियताबाट अनुभूत गर्न सकिन्छ ।

नेपालमा भारतीय गतिविधि गुप्त रहने गरेको पाइँदैन भने चिनियाँ सक्रियताचाहिँ महसूस मात्र गर्न सकिन्छ । तर, पश्चिमाहरू जसले व्यापारीको भेषमा आएर अर्काको देश कब्जा गर्ने कला पाँच सय वर्षअघि नै प्रयोगमा ल्याएका थिए, अहिले पनि कस्तो भेषमा आएर कुन उद्देश्यका लागि कसलाई कसरी प्रयोग गर्छन र, के परिणाम हासिल गर्छन् भन्ने बुझ्न निकै कठिन हुन्छ । भविष्यका महाशक्ति राष्ट्र भारत र चीनको बीचमा बसेर के गर्नुपर्छ र के गर्न सकिन्छ भन्ने हामीले नबुझे पनि तिनले छर्लङ्गै बुझेका छन् । यो भूमिमा देशभक्त र राष्ट्रवादीहरूको सत्ता भएको अवस्थामा उनीहरूको आफ्नो भूमिका सङ्कुचित हुने भएकोले राज्यलाई जगैदेखि कमजोर बनाउने अभ्यास यहाँ हुँदै आएको हो । ज्यालादारीमा देशविरुद्ध काम गर्दै आएकाहरूको औचित्य समाप्त हुनुअघि नै नयाँ बुख्याचाहरू खडा गर्ने प्रयास पश्चिमाहरूबाट भइरहेको छ । प्राकृतिक रूपमा राष्ट्रवादी एजेन्डासहित नेतृत्व स्थापित हुने पृष्ठभूमि बन्न थालेपछि जनताको ध्यान विच्छेद गर्न इन्कुबेटरबाट चल्ला उत्पादन गरेझैँ यान्त्रिक किसिमले हाइब्रिड नेता उत्पादन गर्ने परियोजना अघि सारिएको छ । यस्ता काममा विदेशी लगानी सीधै नआएर घुमाउरो बाटो हुँदै आउँछन् भन्ने हामीले बुझ्न सक्नुपर्छ ।

बिन लादेनको खोजी गर्न सुरक्षाकर्मी नभई स्वास्थ्यकर्मी खटिएको शैलीमा विदेशीका काम हुन्छन् । बाह्रौँ महाधिवेशनमा पार्टी सभापति बन्न सुशील कोइरालाले सहयोग मागेका थिए विदेशीसँग, तर उनलाई दश करोड नगद यहीँ नेपालका कुख्यात सुपारी तस्करमार्फत उपलब्ध गराइएको थियो । पिछडिएको राप्ती अञ्चललाई विकास गर्न भनी राप्ती एकीकृत विकास परियोजनाको नाममा अमेरिकाले अर्बौैं सहयोग गऱ्यो, तर त्यस क्षेत्रको भौतिक विकास नभए पनि माओवादीको भने त्यहाँ यति उत्पादन भयो कि अन्ततः पूरै नेपाल तहसनहस बनाउन पर्याप्त भएको छ ।

भारतमा इसाईहरूले सत्ता कब्जा गरेको पृष्ठभूमिमा अढाई शताब्दीअघि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले ‘म असली हिन्दुस्थान’ बनाउँछु भनी एकीकरण अभियान शुरु गर्नुले पनि धर्मसापेक्षताले हाम्रो राष्ट्रियता र राष्ट्रिय अस्तित्व रक्षामा कति ठूलो योगदान पुऱ्याएको छ भन्ने अनुभूत गर्न सकिन्छ ।

बोल्ने कला ज्ञानको मापन होइन र, ज्ञानको स्तरबाट मानिसको इमानदारी तथा राष्ट्रभक्ति मापन गर्न पनि सकिँदैन । इमानदार र राष्ट्रभक्त मानिसमा यदि दूरदर्शिता र निर्णय लिने क्षमताको अभाव छ भने त्यस्ता व्यक्तिबाट कुशल नेतृत्वको अपेक्षा गर्न सकिँदैन । राजनीतिक नेतृत्वमा इमानदारी, देशभक्ति, दूरदर्शिता, निर्णयक्षमता र आत्मविश्वास अनिवार्य मानिन्छ । जनता र देशको समस्या बुझ्न र समाधानका उपाय पहिचान गर्न सक्ने क्षमता पनि नेतृत्वमा हुनुपर्छ । आफ्ना विचार–दृष्टिकोणहरू स्पष्ट रूपमा राख्न सक्ने प्रतिभासमेत नेतृत्वमा भइदियो भने त्यस्ता व्यक्ति जनतामा सजिलै स्थापित हुन सक्छन् ।

नेपाली राजनीतिमा राणाशासनपश्चात् तीन किसिमका अभ्यास भए । पहिलो विशुद्ध संसदीय प्रजातन्त्र, दोस्रो निर्देशित प्रजातन्त्र (निर्दलीय पञ्चायत) र तेस्रो, ठिमाहा अर्थात् वर्णशङ्कर प्रजातन्त्र, जुन यतिबेला हामी अभ्यास गर्दै छौँ । कम्युनिस्टको वैचारिक नेतृत्वमा चलाइने ‘प्रजातान्त्रिक’ पद्धति नै वर्णशङ्कर हो र, यसले नेपाललाई अनपेक्षित दिशातर्फ लैजाँदै छ । यस्तो व्यवस्थाले मानिसको आध्यात्मिक पक्ष र खुशीसँग सरोकार राख्दैन । केवल भौतिक विकासका सपना देखाउँछ, मानिसलाई मौलिक धर्म, संस्कृति तथा प्रचलित सामाजिक मूल्य–मान्यताबाट अलग्याउँदै अर्कै अवस्थामा पुऱ्याइदिन्छ, जहाँ व्यक्तिको सुखसुविधाका साधनको पर्याप्तता कदाचित भयो भने पनि उसको राष्ट्रिय पहिचानचाहिँ नामेट भइसकेको हुन्छ ।

धनीको घरमा पालिएको कुकुर जस्तै स्वाभिमानमुक्त अवस्थामा जनतालाई राख्ने व्यवस्थाको नाम नै वैज्ञानिक साम्यवादी समाजवाद या वर्णशङ्कर प्रजातन्त्र हो । यस्तो व्यवस्थामा मानिस धर्म बेचेर ज्यान पाल्न निर्लज्ज ढङ्गले लागिपर्छन्, सर्वाधिक महत्व नगद र दैहिक सुखले पाउने गर्छ, राज्यसत्ता कब्जामा लिनेहरूको नियन्त्रण र निर्देशनमा समाज परिचालित हुने गर्दछ । त्यस्तो मुलुकको सेनाको एउटा कर्तव्य धर्मको रक्षा गर्नु रहेछ र कदाचित सेनाको लोगो नै त्रिशूल र डमरुअङ्कित छ भने पनि उसले धर्मान्तरण तथा संस्कृति विनाशमा मौन सम्मति जनाइरहेको हुन्छ । सेतो कोट लगाएर पनि अर्काको ज्यानभन्दा आफ्नो कमाइलाई प्राथमिकता दिने, कालो कोट पहिरिएर पनि निसाफमा भन्दा हिसाबमा केन्द्रित रहने, बर्दी पहिरिएर पनि मनपर्दी गर्ने र देशका नाममा शपथ खाएर पनि देशभन्दा आफूलाई महत्व दिने अवस्था कहीँ उत्पन्न हुन्छ भने त्यो वर्णशङ्कर व्यवस्थामा हुन्छ । यो वर्णङ्कर व्यवस्थाले मुलुकमा जस्तो अवस्था पैदा गर्नुपर्ने हो ठ्याक्कै अपेक्षाअनुरूपको परिणाम ल्याएको छ र, टेलिभिजनबाट नेता खोज्नुपर्ने अवस्थामा देशलाई ल्याइपुऱ्याएको छ ।

देशलाई जातीय द्वन्द्वमा लैजाने र सनातनी संस्कृतिविरुद्ध काम गर्ने जिम्मेवारी पाएका व्यक्ति तथा पश्चिमाहरूको इसाराअनुसार न्यायालय दुरुपयोग गरेर पश्चिमी वायुलाई प्रसन्न तुल्याउनेहरू नेता खोज्ने शीर्षकको ‘न्यायाधीश’ भूमिकामा खटाइएका छन् । यिनले खोज्ने र पहिचान गर्ने नेता ‘हाइब्रिड’का हुनेमा शङ्का गर्नुपर्दैन, अनि तिनको परदेशभक्तिमा झन् शङ्का गर्नैपर्दैन । किनभने नेपाली देशभक्त बन्नका लागि हुनुपर्ने उल्लिखित नौ एजेन्डा यस क्रममा पूरै उपेक्षित हुनेछन् । जो नेपाली एजेन्डा, पृष्ठभूमि र योग्यताका आधारमा नेता खोज्दै छन्, तिनमा समेत टेलिभिजनबाटै ‘नेता’ पत्ता लाग्ने भ्रम उत्पन्न हुनेछ । पश्चिमाहरू आफ्नो उद्देश्यमा कति सफलता हुन सक्लान् यो अब केवल प्रतीक्षाको विषय बनेको छ ।

यी पनि तपाईंका लागि रुचिकर हुन सक्छन्-

■ नियन्त्रणमा लिन सेना मात्र बाँकी !
■ धर्मनिरपेक्षतापछिका चौध ‘पापकर्म’
■ भौतिकवाद + देहसुख = अपराध
■ जिल्लिए माओवादीका लगानीकर्ताहरू !
■ नयाँ संविधानले दिन नसक्ने केवल तीन कुरा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोनासंक्रमण भएपछि त्रास

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार

पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि