नागरिकता संशोधनलाई उछाल्ने राजनीति बन्द गर्न मोदीको आग्रह

नागरिकता संशोधनलाई उछाल्ने राजनीति बन्द गर्न मोदीको आग्रह


भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् ।

देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भनेका छन्, ‘मोदीले नागरिकता संशोधन सोचविचार गरेर नै गरिएकोले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ ।’ संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको सङ्ख्यामा विगत केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन् ।

भारतीय मुसलमान समूहको सक्रियतामा भारतको राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह गरिएको एएफपीले जनाएको छ । प्रधानमन्त्री मोदीले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोपसमेत प्रधानमन्त्री मोदीले लगाएका छन् भने कानूनलाई क्रियान्वयनमा लैजान गृहमन्त्री अमित शाह दृढ देखिएका छन् ।

केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागू गराउने अठोट प्रकट गरेका छन् । उनले भनेका छन्– ‘म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नुस् तर मोदी सरकार यो लागू गराउन प्रतिबद्ध छ ।’

दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्रमा मङ्गलबार भएका झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली प्रहरीका संयुक्त आयुक्त आलोक कुमारले सलीमपुरको घटनामा २१ जना घाइते भएको र त्यसमा १५ जना सुरक्षाकर्मी रहेको जानकारी दिए । प्रहरीले लाठी चार्ज नगरेको र संयमता अपनाएको उनले बताए ।

‘आक्रमणकारीले दुईवटा प्रहरी चौकीमा क्षति पुऱ्याएको छ । यसरी प्रदर्शनकारी निकै आक्रामक बनेपनि प्रहरीले संयमता अपनाएको छ, गोली चलाइएको छैन तर केही स्थानमा भीडलाई नियन्त्रण गर्न केही अश्रुग्यास भने प्रहार गरिएको छ’, आलोक कुमारको भनाई छ ।