अमेरिकाद्वारा उत्तर कोरियासँग पुनः वार्ता प्रस्ताव

अमेरिकाद्वारा उत्तर कोरियासँग पुनः वार्ता प्रस्ताव


अमेरिकाले उत्तर कोरियासँग फेरि वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले वार्ताको प्रस्ताव गरेका हुन् ।

दक्षिण कोरियाको राजधानी सोलमा सोमबार (३० मंसिर) आयोजित एक कार्यक्रममा बेइगनले सो जानकारी दिएका सिन्ह्वाले जनाएको छ । अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले सकारात्मक रुपमा लिएको समाचारमा जनाइएको छ ।

सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरूको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो क्रममा उत्तर कोरियाली आणविक दूत लि डु हुन पनि उपस्थित थिए । उनी दक्षिण कोरियाको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार सोल पुगेका हुन् ।

सो पत्रकार सम्मेलनमा बेइगनले उत्तर कोरियाली दूतसामु भने– ‘यो वार्ताको समय हो, अब हामी यसका लागि अघि बढ्नुपर्छ । मलाई लाग्छ यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्छ र हाम्रो कामका लागि अब हामी अघि बढ्नुपर्छ ।’

उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिनअघि मात्र सरकारी समाचार संस्था (केसीएनए)मार्फत सार्वजनिक गरेको थियो । उत्तर कोरियाको यो जानकारीपछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको हो । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

विशेषदूत बेइगनले भनेका छन्– ‘अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन र वार्ताको विशेष दिन पर्खिनुपर्दैन । हामीले त नेताहरुले सिंगापुरमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्ने हो, त्यसका लागि हामी वार्ता गर्न सधैँ प्रतिबद्ध नै छौँ ।’

उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा दुई ओटा नै यस्ता आणविक परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाको सोहाएबाट नै यी परीक्षणहरु गरेको समाचारमा जनाइएको छ ।

अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो ।

ज्ञातव्य छ, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो । त्यो वार्तामा खासै कुनै नयाँ एजेण्डामा सहमति नभएको भए पनि वार्ता भने सकारात्मक भएको बताइएको थियो ।

उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले उत्तर कोरियाले उसको यसअघि पनि आणविक परीक्षणहरु गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको जनाएको थियो ।

पछिल्लो अमेरिकी वार्ता–प्रस्तावको विषयमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले उत्तर कोरियाले सिंगापुरमा व्यक्त गरेको निशस्त्रीकरणको प्रतिबद्धता नै पूरा गर्न नसकेको जनाएको छ । तर पनि अमेरिकी यस भनाई सत्य नरहेको उत्तर कोरियाले बताउँदै आएको थियो । उसले सिंगापुरमा भएको प्रतिबद्धता बमोजिम आफूले काम गरेको तर अमेरिकाले भने त्यस बमोजिम काम नगरेको बताउने गरेको छ ।

पछिल्लो आणविक परीक्षणपछि अब उत्तर कोरिया निशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाई रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको परिवेशमा वार्ता प्रस्ताव आउनुलाई रोचक र सकारात्मक ठानिएको छ ।