प्रहरी निरीक्षक दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार

प्रहरी निरीक्षक दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार


धनुषामा भएको बम विष्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको आज (२८ मंसिर, शनिबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहाललाई उहाँका बुबा प्रकाश शर्माले दागबत्ती दिनुभएको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकारीले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ कुचियाही टोलमा गएराति बम विष्फोटन हुँदा गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक दाहालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सङ्खुवासभामा जन्मिनुभएका दाहाल हाल काठमाडौ. गोकर्णेश्वर नगरपालिका–८ कृष्णनगरमा बस्दै आउनुभएको थियो । विसं २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरी विसं २०६० असोज ९ गते प्रहरी नायब निरीक्षक तथा विसं २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा पदोन्नति हुनुभएको थियो । दाहाल गत साउन ८ गतेदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

स्व. दाहालका बुबा, आमा, श्रीमती र एक छोरा छन् ।


rss