१० दिनसम्म चल्ला उत्पादन बन्द गर्ने निर्णयमा किन पुगे ह्याचरी उद्यमी ?

१० दिनसम्म चल्ला उत्पादन बन्द गर्ने निर्णयमा किन पुगे ह्याचरी उद्यमी ?


देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको शनिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखापरेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ ।

निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ का दरले ३३ करोडभन्दा बढी नोक्सान हुने बताए । पोख्रेलले व्यवसायीले गएको फागुनयता प्रतिचल्ला २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान ब्यहोर्नुपरेको जानकारी दिए । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि उनले बताए ।

नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताए । हाल कृषककोबाट जिउँदो कुखुरा १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २६० हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय सङ्कटमा परेको बताए ।

नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमा नै सम्बोधन गर्न नसके यो व्यवसाय धरासयी हुने उनको भनाइ छ ।

यस्तै, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरूमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६/०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको गुनासो गरे । उत्पादन लागत दिन–प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ ।

विष्टलाई उद्धृत गर्दै राससले जनाएअनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरूमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ ।