बलात्कार आरोप लागेका वडाध्यक्षको रिहाइको माग गर्दै प्रदर्शन

बलात्कार आरोप लागेका वडाध्यक्षको रिहाइको माग गर्दै प्रदर्शन


■ हेमशंकर सिंह, राजविराज

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुथान नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै नेपाली कांग्रेसले शुक्रबार (२७ मंसिर) सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेको छ । सक्षम अनुसन्धान नै नगरी वडाध्यक्ष साहलाई झुठो मुदा लगाएर प्रहरीले नियन्त्रणमा लिएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

झुठा मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अविलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी सप्तरी जिल्ला कांग्रेसले दिएको छ ।

स्थानीय ३५ वर्षीया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्ममा १० दिनअघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागि गत बुधबार विहान प्रहरीले साहलाई नियन्त्रणमा लिई जिल्ला अदालत सप्तरीमा बुझाएको थियो । अदालतले भने प्रहरीलाई अनुसन्धाको लागि एक साताको म्याद दिएको छ ।

त्यसैको विरोधमा महिलाहरुको समेत उल्लेख्य सहभागितामा स्थानीय राजरंगशालाबाट निस्केको जुलुसले प्रहरी प्रशासनविरुद्घ चर्को नारावाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।

बजार परिक्रमापश्चात जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई ज्ञापन पत्रसमेत बुझाइएको छ । सो क्रममा कुनै अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

ज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उजुरीको आधारमा सत्यतथ्य छानविन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडा आपत्ति जनाउँदै घटनाको उच्चस्तरीय छानविन हुनुपर्ने माग गरिएको छ । प्रतिशोधको भावनाले नियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाइएको उल्लेख गर्दै ज्ञापनपत्रमार्फत तत्काल उनको रिहाईको माग गरिएको छ ।

नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले स्थानीय केही व्यक्तिले षडयन्त्र गरी वडाध्यक्ष साहलाई फसाउन खोजेको दाबी गर्दै झुठा मुद्दा खारेजी नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।