बेलायतमा ‘कन्सर्भेटिभ’लाई अपार सफलता

लेबोरको दिएको लालच त्याग्दै जनता राष्ट्रियताको पक्षमा



■ प्रकाश केसी, लण्डनबाट

हिजो (१२ डिसेम्बर) पानी दिनभरि लगातार परिरह्यो । निथ्रुक्कै रुझाउने जाडोको झरीमा बेलायतमा मतदानको लागि दिन तोकिएको थियो । बितेको साढे तीन वर्षबाट अपच्य, अकाट्य अनि असामान्य तर जड रुपमा रहेको ब्रेक्जिटले सर्वसाधारणको मनमा बिझेको विषयको आर–पार गर्ने किसिमको छनोट गर्ने दिनको रुपमा हेरिएको चुनाव, जसले बेलायतको स्वरुप नै परिवर्तन गर्न सक्ने समयको एक महत्वपूर्ण कडीको रुप लिएर यही डिसेम्बरको १२ तारिख आएको थियो । बिहानै ०७ बजेदेखि रातको १० बजेसम्म सञ्चालनमा मतहरूको संकलन गर्ने वुथहरू सर्वत्र शान्त र लगभग शून्य थिए । ज्यादाजसो वुथमा दुईतीनजना कारिन्दाहरू मात्र बसिरहेका हुन्थे जसले देशको, जनताको भविष्यको खाका कोर्न सक्षम राख्ने मतहरूको संकलन गर्ने काम गरेका थिए ।

ब्रेक्जिटकै प्रसङ्गले गर्दा कन्सर्भेटिभ पार्टीको दुई प्रधानमन्त्रीहरूले राजीनामा दिनु परेको थियो विगत साढे तीन वर्षमा । १७.४ मिलियन बेलायतीहरूले रोजेको ब्रेक्जिटको कार्यान्वयनले मुलुकलाई एक किसिमले ठप्प पारेको थियो । जनताहरूमा यतिसम्म भन्न थालिएको थियो कि कतै बच्चाको ड्यु कटेर पनि बच्चा अझै नजन्मेको सन्दर्भमा …होइन, ब्रेक्जिट आउँदै हो कि क्या हो ?.. यति मुस्किल हुने ?… सांसदहरूको एक ठूलो जत्थाले आफ्नै पार्टीलगायत सदनमा निक्कै नै अप्ठ्यारो बनाएकोले बाराम्बार सहमतिहरू पारित नभएर ब्रेक्जिटले मुस्किलको जालोको ज्यादा जकड पाउँदै गएको थियो ।

ज्यादा लेफ्ट, ज्यादा राइट खालको राजनीतिक शैलीहरूको बीचमा अर्थात् सेन्ट्रिस्टहरूले नयाँ किसिमले आफ्नो पकड जमाउन सक्ने सन्दर्भहरू देखिएकै क्रममा बोरिस जोन्सनले मुलुकलाई फेरि निर्वाचनमा लैजान सांसदहरूलाई बाध्य पारेका थिए र अन्तिममा त्यही सहमतिको फलस्वरुप हिजो निर्वाचन भएको थियो, (२०१७ को तुलनामा) जसमा कन्सर्भेटिभले ३६५, लेबोरले २०३, एसएनपीले ४८, लिभ्डेमले ११ र अन्यले जम्मा गरेर २३ सिट ल्याएका छन् । कन्सर्भेटिभ पार्टीले ४७ सिटहरू नयाँ थपेर दशकौंपछि शक्तिशाली पार्टी बनेको छ भने लेबोर पार्टीले आफ्नो ५९ सिट गुमाएर कमजोर बनेको छ, जहाँ एसएनपी पार्टीले योपालि नयाँ १३वटा सिट थपेको छ । लिभ्डेमले १ सिट गुमाएको छ, मुख्य रुपमा सो पार्टीले आफ्नो नेतृ जोयना स्वीन्सनले मात्र १४९को अन्तरले पराजीत भएकी छिन् ।

२०१९ को आमनिर्वाचनको नतिजाले वास्तवमा धेरै आधारहरूलाई स्थापित गरेको छ । राष्टि!यताको महत्व सधैं नै बलियो र अकाट्य हुन्छ भनेर यो नतिजाले स्पष्टै भनेको छ । प्रजातान्त्रिक पद्धतिले चलेको देशमा बहुमतका जनताले रोजेको बाटोलाई लत्याउन खोज्ने प्रवृत्तिको खुलेर जनताले खारेज गरेका छन् । विविध सुविधाहरू, विविध लोभलालचहरू भन्दा राष्ट्रियता प्यारो मान्ने जनताहरू बेलायतमा छन् भन्ने नतिजाले देखाएको छ । यो चुनावको मुख्य मुद्धा ब्रेक्जिट बनाएर लागिपरेका बोरिसलाई जनताले किन साथ दिए भने, एक त उनी आखिर आखिरमा एक प्रकारले सेन्ट्रिस्ट पद्धतिमा कन्सर्भेटिभलाई लगे । दोस्रो उनले आफ्नो म्यानिफेस्टोलाई सरल अनि सम्वद्ध बनाए, मूल मुद्धा ब्रेक्जिटसहित धेरै पुलिसहरू सडकमा, धेरै नयाँ नर्सहरू अस्पतालमा, सामान्य छुट, सामान्य वृद्धि अनि सामान्य परिवर्तनहरू राखी उनी चुनावमा आए, जहाँ लेबोर बिस्तारै अति लेफ्टिस् बन्दै गयो, पूर्ण रुपको रिमैनर बन्दै गयो । प्रजातान्त्रिक पद्धतिमा बहुमतले चाहेको आकांक्षालाई पुनरावलोकन गर्न चाह्यो, अथाह किसिमले जनताहरूलाई विविध लोभ र लालच बाँड्न चाह्यो, जसमा मुख्य रुपमा इन्टरनेट फ्रि सरदर न्युनतम तलबमा अत्यधिक वृद्धि, विविध सुविधाको सरकारीकरणलगायत विविध विषयहरूमा विशेष सुविधाको प्रदान गर्ने बाचाहरू आफ्नो म्यानिफेस्टोमा राख्यो । उता लिभ्डेमले मुख्य रुपमा आफूलाई पूर्ण रिमैनर पार्टी भन्दै आफ्नो पार्टीले जिते ब्रेक्जिट नै खारेज गर्ने भनेर अगाडि आयो तर बेलायती जनताले लोभलालच अनि अप्रजातान्त्रिक शैलीलाई लत्याउँदै मुलुकलाई निकास दिनको लागि लागिपर्ने एउटै पार्टी कन्सर्भेटिभलाई अपनाएका छन् ।

मुख्य रुपमा यो कन्सर्भेटिभ पार्टीको जितको रहस्य पार्टीको मूल मुद्धा, पार्टीको स्पष्ट अनि पक्का योजना, राष्ट्रियतालाई प्राथमिकता, लेबोर पार्टीको अशक्त नेता र पार्टीभित्रको अन्योलताको कारण र सबैभन्दा महत्वपूर्ण कारण भनेको बोरिस जोन्सनको राजनैतिक शैली, व्यक्तित्व, प्रभावकारिता अनि स्पष्ट अडान मानिएको छ । जनतालाई लोभ देखाउँदैमा जनता आँखा चिम्लेर नआउने उदाहरण लेबोर पार्टीले यो नतिजाबाट बुझेको हुनुपर्छ, जहाँ लिभ्डेम पार्टीकी नेतृले जे र जस्तो भए पनि प्रजातान्त्रिक पद्धतिमा बहुमतलाई हेला गरिनु हुँदैन रहेछ भन्ने आयन्दा बुझ्नेछिन् ।

बहुमतले ब्रेक्जिट ल्याएकोलाई नै खारेज गर्न चाहेकी नेतृ सोन्सन आफै जनताद्वारा नै खारेज भइन् भने जनतालाई फ्रि ह्याण्डआउट दिएर लोकप्रिय बन्ने खोज्ने लेबोरलाई जनताले पहिला मुलुकलाई सशक्त र समृद्ध बनाउनु पर्छ र त विविध खाले निःशुल्क सुविधाहरू प्रदान गर्न सकिन्छ, जनता व्यक्तिगत लाभका निम्ति नभई राष्ट्रको लाभको लागि ज्यादा सम्वेदनशील छन् भन्ने पाठ दिलाएको छ र यसको साथसाथै स्कटल्याण्ड र नर्दन आयर ल्याण्डमा नेश्नलिस्ट पार्टीहरूको महत्वपूर्ण जित भएको छ । त्यहाँ पनि राष्ट्रियता हाबी भएको छ, जसले यो पाँच वर्षमा कन्सर्भेटिभ पार्टी र यसको साथै मुलुकलाई नेतृत्व दिने जोन्सनलाई धेरै नै मुस्किल नपार्ला भन्न सकिँदैन, मुलुकलाई एक ढिक्काको रुपमा निरन्तर राख्ने सवालमा । एसएनपीले दोस्रो रेफेरेन्डमको मागलाई औपचारिक रुपमा अगाडि सार्ने भनिसकेको छ । पहिलोमा धेरै ठूलो परिमाणले नहारेको स्वतन्त्रताको चाहनालाई यदि दोस्रोपटक जनतामा गए तिनले पूरा गर्नेमा एसएनपी नेतृ निकोला स्टुर्जन विश्वस्त लाग्छिन् भने उता नर्दन आयरल्याण्डमा डीयूपीसँगै नेशनलिस्ट पार्टी सिनपेन आएको छ, जो मूलतः एक आयरल्याण्डमा विश्वास राख्छ, त्यहाँ स्वतन्त्रताको लागि प्रयासहरू यही अवधिबाट नगर्लान् भन्न सकिँदैन ।

जे भए तापनि, अर्ध बजारमा कन्सर्भेटिभ पार्टीको अपार सफलताले ठूलो हलचल पारेको छ । पाउण्ड अचानकै डलर र यूरोको अगाडि शक्तिशाली भएर देखिएको छ । देशको समृद्धिको लागि यो अति सकारात्मक सूचक हो ।

प्रतिक्रिया