पृथ्वीनारायण शाहको कूटनीतिक कौशल

पृथ्वीनारायण शाहको कूटनीतिक कौशल


गोर्खालीको माझकिरातमा पूरा अधिकार भएपछि चौदण्डीको र विजयपुरको राजधानीसमेत दखल गर्नलाई श्री ५ पृथ्वीनारायण शाहले गभर्नर जनरल वारेन हेस्टिङ्सलाई यस व्यहोराको पत्र लेखे (२७ मे, १७७३) ‘तपाईंसित मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने मेरो अभिलाशा छ । मेरा भाइ कामदत्त सेनको धोखेबाज दिवान बुद्धिकर्णले मेरा भाइको राज्य अम्बरपुर र विजयपुरमा अवैध रूपमा अधिकार जमाइराखेको छ । यसलाई दण्ड दिनाको लागि म आफ्नो सैन्यदल पठाउँछु । तर, त्यो दिवान छिमेकको जिल्ला पुर्नियामा शरण लिन जाला भन्ने शङ्का लागेको छ । त्यस अवस्थामा बुद्धिकर्णलाई कुनै किसिमको सैनिक सहायता नदिनू भन्ने एक पत्र तपाईंले पुर्नियामा रहेका हाकिमलाई लेखी पठाउनुभए अनुगृहित हुनेछ । कम्पनीले अम्बरपुर र विजयपुरबाट नजराना पाउने गरेको थियो । त्यस विषयको अजिमावादका नायबले गरिदिएको छाप लागेको पट्टा मेरा वकिल वृहस्पति पण्डित र अक्षय मिश्रका हात पठाएको छु । दिवान बुद्धिकर्णलाई दण्ड दिएर उक्त प्रदेश त्यसका पन्जाबाट छुटाउन सकेँ भने म तपाईंलाई नजरानाका रूपमा केही वाणिज्य–सामग्री र कलात्मक वस्तुहरू पठाउनेछु । यसको फिरिस्त मेरा वकिलहरूले तपाईंलाई दिनेछन् ।’ यसै मितिमा श्री ५ पृथ्वीनारायण शाहका काजी (दिवान) दलजित शाहले पनि गभर्नरलाई श्री ५ पृथ्वीनारायण शाहका पत्रसँग मिल्दोजुल्दो व्यहोराको पत्र लेखेका थिए ।

तर, गभर्नरको उत्तर नपर्खी श्री ५ पृथ्वीनारायण शाहले बख्सी अभिमानसिंह बस्न्यात र सर्दार पारथ भण्डारीलाई दुई कम्पनी सैनिकका साथ तलहट्टीतिरबाट चौदण्डीमा आक्रमण गर्न पठाए । राजा कर्णसेन पहिले नै भागेर विजयपुरमा पुगेका हुनाले चौदण्डीको रक्षाका लागि रहेका राजा र दिवानका सैनिकहरूले हार मानेर राजधानी छोडिदिए (१६ जुलाई, १७७३) । यस तरहसँग एक वर्षभित्रैमा चौदण्डीको ठकुराईको उन्मूलन भएर यो नेपाल अधिराज्यमा सम्मिलित भयो । यहाँपछि अभिमानसिंह बस्न्यातले यस ठकराईका जनतालाई ‘अघि तिमीहरू राजा कर्णसेनका रैयत थियौ । राजाका तर्फबाट तिमीहरू हाम्रा सैनिकहरूसँग लड्यौ तापनि तिमीहरूका राजा भागेका हुनाले अब हाम्रा रैयत भयौ । तिमीहरूको घर–खेत, धन–दौलत सबै सुरक्षित छन्, भोगचलन गर्दै रहू’ तिमीहरूका परम्परादेखि चलिआएका रीतिथितिमा रहू ।’ भन्ने श्री ५ पृथ्वीनारायण शाहको सन्देश थुमथुम र प्रगन्नाप्रगन्नामा कटुवालहरू पठाई कुर्लन लगाए र शान्तिस्थापना गरे । हरिनन्द उपाध्यायका पनि घर–खेत, बाँधा–बिर्ता सबै थामी उनले लडाइँमा खर्चलगायका रुपैयाँका बदलामा प्रशस्त बिर्ता दिलाउँला भनेर उनलाई पनि यिनले सन्तुष्ट गराए ।

यिनताक हरिद्वारबाट हिँडेको लुटेरा सन्न्यासीहरूको दल सिवालक पहाडका काखैकाख गण्डकीका त्रिवेणीघाटमा उत्रन्थ्यो र त्यताबाट बेतियाको बाटो गरी मकवानपुरको तराई हुँदै पूर्वतिर कोशीपारका अङ्ग्रेजी इष्टइण्डिया कम्पनीका इलाकामा दिनाजपुरसम्म पुगी कम्पनीका व्यापारी कोठी र रैयतका धनमालसमेत लुट्ने गर्दथ्यो । कम्पनीका सैनिकहरू यिनलाई दपेटा दिँदै जान्थे तापनि जङ्गलभित्र पसेको लुटेरा सन्न्यासीको दललाई फेला पार्न नसकी फर्कन्थे । यसो हुँदा उक्त बङ्गाल–बिहारका सिमानामा परेका जिल्लाहरू उजाड हुँदै जाँदा पुर्नियामा रहेका अङ्ग्रेज अफिसर डुकारेलले यी लुटेरा सन्न्यासीलाई रोक्नाको निमित्त पनि विजयपुरका तलहटीमा कम्पनीले अधिकार गर्नुपर्छ भन्ने सुझाव पेस गरेका थिए । गभर्नरले यस सुझावको समर्थन गर्न सकेका थिएनन् । अभिमानसिंह बस्न्यातले अम्बरपुर दखल गरेको समाचार पटनामा बिहारका हाकिम भएर रहेका जार्ज बेन्सिस्टार्टबाट पाएपछि गभर्नरले १७ मे, १७७३ का पत्रको उत्तर दिँदै श्री ५ पृथ्वीनारायण शाहलाई ३० अक्टोबरका दिन जुन पत्र लेखेका थिए त्यसको सारांश यस्तो थियो-

‘…तपाईंले पठाएका मानिसहरूले म वनारसका लागि हिँड्न ठीक परेको बेलामा मलाई भेटेका थिए । त्यसैले मैले तिनीहरूलाई मलाई पटनामा भेट गर्ने भनेको थिएँ । तर, तिनीहरू मलाई पटनामा भेट्न कहिल्यै आएनन् । कृपा गरेर आफ्ना विश्वासपात्र प्रतिनिधि यहाँ पठाउनुहोस् । उनीहरू आएपछि तपाईंले पठाएका पत्रका विषयमा आवश्यक कारबाही गर्नेछु । तपाईंको देशको बाटो हुँदै आउने लुटेरा सन्न्यासीहरूले प्रतिवर्ष बङ्गालमा लुटपाट मच्चाउने गर्दछन् । तिनीहरूलाई रोक्ने प्रबन्ध अहिले गरिदिनुहुन म तपाईंसित अनुरोध गर्दछु ।’ यसै मितिमा अभिमानसिंह बस्न्यातलाई पनि गभर्नरले तल लेखिएको व्यहोराको पत्र पठाएका थिए, ‘महाराजका पत्रसँगै तपाईंको पत्र पनि पाएको थिएँ । विश्वासपात्र प्रतिनिधि कलकत्ता पठाउनुहोस् । उनीहरू यहाँ आएपछि महाराजले पठाउनुभएका पत्रका विषयमा आवश्यक कारबाही हुनेछ ।’

लुटेरा बैरागीहरूले श्री ५ पृथ्वीनारायण शाहलाई सताएका हुनाले उनले ती बैरागीहरूको संहार गरेका थिए । यी लुटेरा सन्न्यासीहरूले पनि अङ्ग्रेजी राज्यमा मात्र होइन नेपालमा सम्मिलित भएका पर्सादेखि महोत्तरीसम्मका तलहट्टीमा पनि लुटपाट गरिरहेका हुनाले यिनीहरूको दमन गर्न श्री ५ पृथ्वीनारायण शाह उत्सुक थिए । अङ्ग्रेज गभर्नरको माथि लेखिएबमोजिमको पत्र आएपछि यिनीहरूको दमन गर्नका निमित्त अभिमानसिंह बस्न्यातलाई उनले आज्ञापत्र पठाए । अभिमानसिंह बस्न्यातले पनि इ.सं. १७७३ का डिसेम्बरमा गोर्खाली सैनिक दल लगी महोत्तरीमा नै सन्न्यासीहरूको दलको तहसनहस गरिदिएका हुनाले यो वर्ष अङ्ग्रेजी कोठीहरू लुटिन पाएनन् । यति गरी अभिमानसिंह बस्न्यात इ.सं. १७७४ का जनवरीका मध्यमा अम्बरपुरमा आएर बसे ।

श्री ५ पथ्वीनारायण शाहले २७ मे, १७७३ मा गभर्नरलाई पठाएका पत्रको उत्तर गभर्नरले दिँदा ‘तपाईंका वकिलहरूले मलाई पटनामा नभेटी बेपत्ता भएका हुनाले अर्का वकिल आएपछि तपाईंको पत्रको विषयमा आवश्यक कारबाही गर्नेछ’ भनी श्री ५ पथ्वीनारायण शाहलाई र अभिमानसिंह बस्न्यातलाई समेत लेखेका थिए (३० अक्टोबर, १७७३) । तर, कलकत्तासम्म वकिल पठाई गभर्नरको मञ्जुरी लिँदासम्म समय भड्किने हुनाले गभर्नरले लेखेअनुसार आफ्ना वकिल कलकत्ता नपठाई श्री ५ पृथ्वीनारायण शाहले गभर्नरलाई केवल पत्र मात्र लेखे ।

यस विषयमा १४ जनवरी, १७७४ का दिन श्री ५ पृथ्वीनारायण शाहले गभर्नरलाई जो पत्र लेखेका थिए त्यसको सङ्क्षिप्त रूप यस प्रकारको थियो– ‘गैरकानुनी कारबाही गर्ने दिवान बुद्धिकर्ण राय अहिले भागेर विजयपुरमा बसेको छ । तपाईंले सहयोग गर्नुभएमा म त्यस प्रदेशमा अधिकार गर्नेछु र त्यसको मालवाजवी जति बुझाउनुपर्ने निर्णय गर्नुहुनेछ उति बुझाउनेछु । तपाईंकहाँ म आफ्ना वकिल पठाउँदै छु । मेरा राज्यभन्दा बाहिरको प्रदेश भएको हुनाले म सन्न्यासीहरूलाई गण्डक तर्नबाट रोक्न असमर्थ छु, यो प्रदेश अघि नै बेतिया जिल्लाभित्र गाभिएको छ । तपाईंको मद्दत पाएमा म त्यस प्रदेशसम्म आफ्ना अधिकारको विस्तार गर्न तयार छु । त्यस अवस्थामा सन्न्यासीहरूले कहिले पनि गण्डक नदी पार गर्न सक्ने छैनन् । बेन्सिस्टार्टको अनुरोधमा मैले एकचोटि अङ्ग्रेजी कारखाना लुट्दै हिँडेका सन्न्यासीहरूलाई कडा दण्ड दिएको थिएँ । अभिमानसिंह बस्न्यात तपाईंछेउ आउँदै छन् । उनले भनेका कुरामा ध्यान दिनुहोला भन्ने आशा गर्दछु ।’ तर, श्री ५ पृथ्वीनारायण शाहले यस पत्रको उत्तरलाई पर्खेर अभिमानसिंहलाई कलकत्ता नपठाई अम्बरपुरमा नै राखे ।

यस समयमा राजा कर्ण सेन र दिवान बुद्धिकर्ण राय दुवै विजयपुरमा नै थिए । अभिमानसिंह बस्न्यात र पारथ भण्डारी गोर्खाली सैनिकका साथ अम्बरपुरमा नै रहेका हुनाले यो हिउँदमा गोर्खालीको आक्रमण विजयपुरमा हुन सक्नेछैन भन्ने विचार गरेर यी दुवै निच मारिरहेका थिए । यसै समयमा सुरक्षाका लागि आफ्ना जहान पुर्नियामा लगेर थन्क्याई आउँछु भनेर जहान लिएर गएका राजा कर्ण सेन फेरि फर्केर आएनन् । यता श्री ५ पृथ्वीनारायण शाह र अभिमानसिंह बस्न्यातका बीचमा यस विषयमा लेखापढी हुँदै थियो र मध्य वर्षा पारी विजयपुरमा आक्रमण गर्ने योजना ठीक भएको थियो । यस कारण वर्षा लागेपछि अभिमानसिंह बस्न्यातले अम्बरपुरबाट पूर्वतिर बढेर वर्षाको उर्लंदो कोशीमा हात्तीद्वारा गोर्खाली सेना तारे । यसप्रकार कोशी पार गरेर गोर्खालीले विजयपुरमा एक्कासि हमला गर्दा पचासीजनाजति लिम्बू सैनिक खेत रहे र लगभग यति नै सैनिक घाइते भएपछि हात्तीमा सवार भई बुद्धिकर्ण राय भागेपछि राजधानीमा गोर्खालीको अधिकार भयो (१७ जुलाई) । यसपछि अभिमानसिंह बस्न्यातले विजयपुरदेखि माथि महाभारतका डाँडामा परेको साँगुरीगढीमा गोर्खाली सैनिक दल पठाई त्यस गढीमा अधिकार गरेर त्यसतिरबाट पहाडपट्टि घुस्ने बाटो खोले ।

इलाम दखल गरेपछि सिक्किमका राजाले पल्लोकिराँतपट्टि पनि आक्रमण चालू राखेर लिम्बूहरूलाई हैरान गराएका थिए । यसकारण सिक्किमका आक्रमणबाट बच्नलाई विजयपुरमा गोर्खालीको अधिकार हुनेबित्तिकै दश लिम्बूवानका लिम्बूहरूले सर्दार रामकृष्ण कुँवरलाई निम्त्याएर अरुणपारका चैनपुर नामक मुख्य बस्तीमा बोलाए । विजयपुरमा रहेका गोर्खाली सैनिकले पनि अभिमानसिंह बस्न्यातको नेतृत्वमा पल्लोकिराँतमा पुगी उत्तरपट्टि तिब्बतको सिमानासम्म र पूर्वपट्टि तमोर नदीसम्म अधिकार गरे । सिक्किमका राजाले सताएका लिम्बूहरू पनि गोर्खालीका आश्रयमा आएर पल्लोकिराँत र सिक्किमको सिमाना बनेका सिङ्गलेला पहाडका पानीढलोदेखि पश्चिमपट्टिका इसलिम्बा र च्यांगथाकुसम्मका लिम्बूहरूले पनि नेपाल सरकारका आश्रयमा रहन मञ्जुर गरे ।

यसप्रकार सम्पूर्ण लिम्बूवानमा गोर्खालीको अधिकार भएपछि सिकिमका राजाको मनमा पनि चिसो पस्यो । लिम्बुवानपछि सिक्किमको पालो आएको देखेर गोर्खालीसँग सुलहको कुरा चलाउनाका निमित्त त्यहाँका राजाले आफ्ना दिवानका छोरालाई पठाए र उनले अभिमानसिंह बस्न्यातसँग सुलहको कुरा गर्दा अभिमानसिंह बस्न्यातले यो कुरा मञ्जुर गरी ‘सिक्किमका राजाले विजयपुरका राजाबाट लिएको इलाम र टिष्टासम्मको तलहट्टी फिर्ता गरेमा सिकिमलाई सुरक्षित राखिनेछ’ भन्ने श्री ५ पृथ्वीनारायण शाहको सन्देशका साथ सुब्बा गंगानन्द आचार्य र विश्वामित्र उपाध्यायलाई आफ्ना प्रतिनिधि गराई सिक्किममा पठाए । सिक्किमका राजाले गोर्खालीको सर्त मञ्जुर गरी सन्धिपत्रमा छाप लगाइदिए । (२५ सेप्टेम्बर) ।

(श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी)