प्रतिबन्धित सालको काठ लिलामी प्रकरण : वडाध्यक्षको संलग्नता

प्रतिबन्धित सालको काठ लिलामी प्रकरण : वडाध्यक्षको संलग्नता


विद्यमान ऐन र कानुनहरुको ठाडो उल्लंघन गर्दे प्रतिबन्धित सालका काठहरु लिलाम गर्ने बेलकोटगढी–१२, नुवाकोटका वडा अध्यक्ष डिल्लिराम सिलवालसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

डिभिजन वन कार्यालय नुवाकोटले बेलकोटगढी नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाल, भृकुटी कटुवा मोटरबाटो निर्माण समितिका अध्यक्ष भरत सिलवाल र बिदुर नगरपालिका वडा नम्बर ५ का किसन चित्रकारलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पत्राचार गरेको हो । नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि नियन्त्रणमा लिन आइतबार पक्राउ अनुमति दिएसँगै सोमबार प्रहरीलाई पत्राचार गरिएको डिभिजन वन कार्यालय नुवाकोटका अनुसन्धान अधिकृत मधुकुमार न्यौपानेले जानकारी दिए ।

नुवाकोट जिल्ला अदालतले आईतबार डिभिजन वन कार्यालयको हिरासतमा रहेका आईचर चालकहरु बेलकोटगढी नगरपालिका वडा नं. १२ का ४२ वर्षीय प्रवीण श्रेष्ठ र सोही स्थानका २६ वर्षीय वसन्तकुमार श्रेष्ठलाई दोस्रो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धानको दायरामा आएका वडाअध्यक्ष सिलवालसहित तीन जनालाई पक्राउ अनुमति दिएको थियो ।

बेलकोटगढी नगरपालिका वडा नम्बर १० बाट सदरमुकाम विदुरतर्फ लैजाँदै गर्दा मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको दुई ट्रक काठको अनुसन्धानको क्रममा लिलामी प्रक्रियामा संलग्न वडा अध्यक्ष सिलवाल, सडक निर्माण समितिका अध्यक्ष सिलवाल र काठ लिलाम सकार्ने चित्रकारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिने समेत अनुसन्धान अधिकृत न्यौपानेले बताए ।

यसअघि मंगलबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले बा. ३ क. १४५२ र बा. ४ ख. ९४०७ नम्वरको दुईवटा आईचर मिनिट्रकमा एकसय ३० दशमलव ४० घनफिट बराबरको २५ गोलिया साल र ६ दशमलव ७७ घनफिट असना नामको ३ गोलिया काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय नुवाकोटमा बुझाएको थियो ।

वडा कार्यालयद्वारा राजश्व समेत हिनामिना

प्रतिबन्धित सालको काठ अधिकार नहुँदा नहुँदै लिलाम गरेको बेलकोटगढी नगरपालिकाको वडा नम्वर १२ ले काठ लिलाम बापतको रकममा समेत हिनामिना गरेको पाइइएको छ । काठ लिलाम सकार्ने बिदुर नगरपालिका वडा नम्वर ५ का किसन चित्रकारसँग तीनलाख ७६ हजार बुझेर भरपाई समेत गरेपनि नगदी रसिदमा भने दुईलाख १७ हजार मात्र बुझेको उल्लेख गरेको छ । यस वडा अध्यक्ष सिलवालले सडक निर्माणका क्रममा लडेपडेका रुखहरूको ब्यवस्थापनमा भएको खर्च उक्त रकमबाट ब्यहोरिएको बताएका छन् । तर, नगर कार्यपालिकाको राजश्व खातामा जम्मा हुनुपर्ने रकम यसरी आफूखुशी खर्च गरिनु भ्रष्टाचारजन्य काम भएको नगरपालिका सम्बद्ध स्रोतले बताएको छ ।