जाडोले कठ्यांग्रिएपछि आगोमा हात सेक्दै परीक्षा लेख्दै

जाडोले कठ्यांग्रिएपछि आगोमा हात सेक्दै परीक्षा लेख्दै


कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ ।

यही मंसिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिए ।

‘बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्यांग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,’ शिक्षक शाहीले भने, ‘वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।’ स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारे विद्यार्थीले यो समस्या भोग्नुनपर्ने उनको भनाइ छ ।

चन्दननाथ नमुना मावि खलंगाका प्रधानाध्यापक टंकबहादुर महतले भारी हिमपातले थरथर काँपेर परीक्षार्थी लेख्न बाध्य भएको बताए । प्रधानाध्यापक महतले भने, ‘चन्दननाथ नगरपालिकाको निर्देशनबमोजिम हामीले यही मंसिर २५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरेका छौँ, हिमपातले विद्यार्थी, शिक्षक सबैलाई परीक्षा दिन र लिन गाह्रो भएको छ ।’
रासस