आगामी तीन दिनको मौसमी भविष्यवाणी : भारी हिमपात, वर्षादेखि हावाहुरीसम्म

आगामी तीन दिनको मौसमी भविष्यवाणी : भारी हिमपात, वर्षादेखि हावाहुरीसम्म


पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसका साथै आज काठमाडौं उपत्यकासहित देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए । देशको पश्चिमी भूभागका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको उनको भनाइ छ ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ । आइतबार देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानमा साथै मध्य र पूर्वका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
rss