मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी


चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको हो । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिएका छन् ।

उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यसैगरी, सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् । उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ ।

जाजरकोटमा हिमपातले परीक्षार्थी थरथर काँप्दै, परीक्षा दिँदै

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोशीले जानकारी दिए । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनको भनाई छ । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेपछि विद्यालयको प्राङ्गणमा आगो बालेर परीक्षा दिने काम भइरहेको छ ।

त्यस्तै, हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायको भनाई उद्धृत गर्दै राससले जनाएको छ ।