यसकारण मनपर्छ मलाई अमेरिका

यसकारण मनपर्छ मलाई अमेरिका


■ आचार्य प्रभा (अमेरिका)

यहाँहरूले भन्नुहोला कति स्वार्थी मन ? कति स्वार्थी मान्छे ? कस्तो निष्ठुर सोच ? हो, जे सोचे पनि म त्यस्तै भएकी छु, हुन कर लागेको छ यो घडी ।

सायद मैले यसो किन भनेँ ? र, कसरी मैले आफ्नो देशप्रति मन कठोर पारेँ ? यो मैले बुझाइरहनु नपर्ला ।

हो, म पनि झल्झली सम्झन्छु मेरो घर, आँगन, मेरो चुलोचौको अनि मेरो परिवेश ।

हुन सक्छ अन्य मुलुकमा रहेका प्रवासीलाई पनि देशको नाजुक अवस्था र राजनीतिक चलखेलको कारणले आफ्नो देशप्रति यस्तै भावना जागेको हुँदो हो जुन स्वाभाविक पनि छ । नत्र आफ्नो आँगन, आफ्नो घरबार, आफ्नो प्रिय देश कसलाई छाड्न मन लाग्ला र ? हो, म पनि झल्झली सम्झन्छु मेरो घर, आँगन, मेरो चुहोचौका अनि मेरो परिवेश । तर, अफसोच ! फेरि मेरो सम्झना, कल्पनाहरूलाई केही धुमिल घटनाहरूले धकेलिदिन्छ मेरो मानसपटलबाट टाढा कतै ।

हो, आफ्नो जन्मदातृ, आमा जे जस्तोसुकै होस् सन्तानले पक्कै माया गर्छन् र गर्नु प्राकृतिक गुण पनि हो । तर, जन्मदिने आमा र जन्मभूमिमा यही त फरक रहेछ । जन्म दिने आमा चल्न, बोल्न सक्ने मानव परिन् भने जन्मभूमि अचल माटो परिन् जसका छातीमा हजारौँ लातहरूले मनमानी गर्ने साहस राखे । जो–जो यसको रक्षक बन्ने अभिप्सामा लागे तिनीहरूले त्यो माटोलाई बन्धक राखे, त्यही अचल शरीरलाई बलात्कार गरे । अनि सधैँ अमूक बनेर छाती थापिरहनु नै उसको नियति बन्यो ।

हो, यस्ता असह्य पीडाहरूको भुमरीबीच बाँचेकी धर्तीआमाको हामी नेपाली निरीह सन्तान बन्यौँ । हामीले कहिल्यै सही अभिभावकको सामीप्यता पाउन सकेनौँ । सधैँ आसैआसमा नेपाली जनताले आफ्नो जीवन गुजार्नुपऱ्यो ।

देशको नयाँ पालुवा फेर्छु भन्दै झुटो आश्वासनको बुट्टा भर्नेहरूको भाषण र शासनमा कतिको जिन्दगी माटोमा विलीन भयो । कतिका कपाल सेता कपासमा परिणत भइसके । कति आमाहरूको सिउँदो रित्तियो । कति चेलीहरू बलात्कृत भए । कति नौजवानहरूले आफ्नो जवानी गुमाए अनि कति युवाहरू आफ्नो पसिना बेच्न प्रवासमा पलायन भए । परिवर्तनको नाममा सधैँ नेताहरू फेरिए, शासन–सत्ता फेरियो, तर जनता र देशको परिस्थिति सधैँ उस्तै रह्यो ।

आसैआसमा देश र जनता निर्मम बनेर सुस्ताइरहे । तर, दलाल मथिङ्गलहरूमा कुनै हेरफेर भएन ।

त्यसैले पनि म अहिले विवश छु पराई मुलुकको प्रशंसा गर्न । त्यो किनभने जन्म दिएर मात्र असली आमा कोही हुन्न जब उसलाई आफ्नो सन्तानको बलियो
जग अनि हेरचाहको पर्वाह छैन भने । त्यस्तै हाम्रो देशको पनि नियति यस्तै छ ।

हुन त यसो हुनु माटो र देशको त कमजोरी र भूल होइन । तर, निरीह माटोले के गरोस् ? उसैलाई टेकेर मनोमानी गर्दै देश हाँक्छु भन्ने टाउकेहरू नै लालची र स्वार्थी भएपछि । अनि त सारा देशवासी युवाले अर्को विकल्प खोज्नुबाहेक कुनै उपाय छैन । भाग्यले कोही राम्रै ठाउँमा पुग्छन् । कोही त्यस्तै ठाउँमा पुग्छन्, तर मिहिनेत–मजदूरी गरेर आय आर्जन त गर्छन् । यी सब विवशता र मजबुरी हो ।

हो, यसरी नै हामी पनि प्रवासमा आइपुग्यौँ । तर, भाग्यले अलिक राम्रै ठाउँमा डोहोऱ्यायो र हामी यहाँ आफ्नो देशबाट विस्थापित भयौँ । यो हाम्रो रहर मात्र थिएन, विवशता पनि हो । जहाँ आफ्नो रक्षा हुन्न । आफ्नो योग्यताअनुसारको कर्म गर्न पाइन्न, त्यो देश स्वर्ग भएर पनि के गर्ने ? जहाँ आफ्ना नातागोता, अनि म र मेरोको मात्र बोलबाला हुन्छ त्यहाँ सोझा र इमानदारहरूको के अर्थ ? हो, हाम्रो देशमा यस्तै स्थिति र नियतको बिगबिगी छ । जहाँ हेऱ्यो भ्रष्टाचार, अनैतिक काम, मुखमा उन्नति र विकासको नारा, तर कार्यशैलीमा फरक परिणाम ।

हुन त हामी र हाम्रा परिवार मात्र यस्ता घटनाको सिकार होइनौँ । सारा जनता नै पीडित छन्, अपवादमा केही छन् सुखी र खुसी ।

कति देशको माया बोकेरै पनि परदेशिए । कति कहिले देशको व्यवस्था सन्तुलनमा होला र फर्कुंला भनेर पर्खिएर बसेका छन्, तैपनि देशको स्थिति र अवस्था झन्झन् बिग्रँदो छ । झन्झन् पुराना इतिहासहरू कोट्याउने क्रममा अझ भ्रष्टाचार र भ्रष्ट नेताहरूको कथा पल्टिँदै जाँदै छन् । यो सच्चिएला त्यो सच्चिएला भन्दाभन्दै झन्झन् सुकेका खाटाहरू उप्किँदै नयाँ आलो घाउ बन्दै छन् । तैपनि देशको अवस्थामा न कुनै परिवर्तन आयो न आउने सम्भावना नै होला ।

देश सधैँ उस्तै र उही रह्यो । कोही जनतामध्येका जनता पनि मोटाउँदै गए, सबै नेताहरूजतिका भुँडी लाग्दै गए, देश सुक्दै गयो । अब त देशको सिमाना पनि सुक्दैसुक्दै चुँडिने दिन आयो । झन् इतिहास केलाउँदै, सुन्दै जाँदा त देशको कथा–व्यथा त के–के रहेछ के–के सुनिनसक्नु । त्यसैले पनि हरनेपालीको आशाको त्यान्द्रो नचुँडिने र नमर्ने त कुरै भएन । शान्त, शालीन मथिङ्गलहरूमा पनि खुन उम्लिन्छ । यसैले त लाग्छ आजभोलि हरनेपाली जनता सामाजिक सञ्जालमा उफ्रिएका, दाह्रा किटेका र गालीगलोज गर्न मात्र माहिर बनेका देखिन्छन् शायद ।

अब उनीहरूको मानसपटलमा एउटा मात्र कुरा घुमिरहेको देखिन्छ कि जहाँ पनि विद्रोह गर्नु, हुलदङ्गा मच्चाउनु, वश ! देशको राजनीतिकर्ता र स्वार्थी सत्ताहरूले जनताको मन–मस्तिष्कमा यस्तै विष घोलिदिएका छन् । अनि अर्को विकल्प देश त्यागेर परदेश लाग्नु । खै ! जुनै सत्ता, शक्ति आए पनि पहिला आफ्नो भुँडी भर्ने अनि यसो बालुवामा पानी छर्केझैँ देखावटी काम गर्नेबाहेक केही देखिएन ।

यदि सही र सकारात्मक सोच लिएर सत्तासीन भद्र–भलादमीहरू देश र जनताको सेवा र हितको काम गर्ने भए किन जनता यति आक्रोशित हुन्थे ? न औषधोपचारको राम्रो बन्दोबस्त छ न गरिबको जनस्तरमा बढोत्तरी भएको छ न शिक्षामा सरकारको कुनै महत्वपूर्ण भूमिका छ । रातदिन रोग निको पार्न हस्पिटल गएका बिरामीहरू घर फर्केर आउलान् भन्ने आशा घट्दै गएको छ । चर्को उपचार खर्च त छँदै थियो, अब त बिरामीहरूको जीवनरक्षाको नै टुङ्गो नहुने देखिन्छ । गरिबहरू औषधिमूलोको अभावमा नै जीवन टुङ्ग्याइरहेका छन् । यस्ता धेरै घटना–दुर्घटनाहरू दिनहुँ जनताले भोग्नु परिरहेको छ ।

सरकारले हरकुरामा ट्याक्स बढाइरहेको छ । ठीक हो, ट्याक्स लिनुपर्छ । सरकारले पनि देशको आर्थिक भार सम्हाल्नुपर्छ । देश त्यसै समृद्ध बन्दैन । तर खै ! यहाँ त देश बन्नु त कता हो कता ? जनता नै पो हरिबिजोकमा पर्ने हुन् कि भन्ने समय आइसक्यो ।

हरेक दिन नयाँ–नयाँ दुर्घटनाका खबर । न बाटाघाटा सुरक्षित छन् । न सवारीसाधनको राम्रो व्यवस्था छ । केही कुरामा त चित्त बुझोस् । आखिर हरकुरामा पराई मुलुकसँग आश्रित हुनुपरेको छ ।

देशका युवायुवती हरेक दिन विदेशमा पौरख बेच्न जान बाध्य छन् । गाउँका खेत सबै बाँझा छन् । सब कुरामा महँगी बढेको छ । गाउँमा सबै खेतबारी बाँझो देखेर सोध्दा यस्तो जवाफ आउँछ– ‘उब्जनी आउनेभन्दा महँगो ज्याला दिनुपर्छ काम गर्न आउनेलाई । जोत्ने राँगा–गोरु किन्न सकिन्न । ट्याक्टर लगाएर जोतौँ भने थोरै पैसाले पुग्दैन ।’

हो, यस्तै अवस्था छ गाउँघरको पनि । यस्तै नमिठो परिस्थितिबाट आजित भएर नै गाउँका युवा ऋण लिएर पनि बाहिर भासिन मजबुर छन् । यो यथार्थ र शाश्वत कथा हो ।

हुन त यहाँहरूले भन्नुहोला विदेशमा बसेर यहाँको बखान गर्ने भनेर । हो, म बाध्य छु यसरी लेख्न । जहाँ जाऊँ जसको सङ्गत गरौँ, तर त्यहाँका राम्रा कुरा, सङ्गत गरिएकाहरूका राम्रा पक्षहरूको सराहना गर्नैपर्छ चाहे त्यो शत्रु नै किन नहोस् ? हामी अमेरिका पसेको पनि अब त १५ वर्षजति नै हुन लाग्यो । आउने–जाने क्रम जारी नै छ । यत्तिका वर्ष बस्दा पनि मलाई यस्तो महसुस भएको थिएन ।

म अमेरिका आएपश्चात् धेरै देश/घर/आँगन सम्झेर विक्षिप्त बन्थेँ । मलाई अहिल्यै फर्कुं भरे नै फर्कुं लाग्थ्यो आफ्नो देश नेपाल । अझै पनि नलाग्ने त होइन । आफ्नो देशको माया कसलाई लाग्दैन ?

हामी ०७१ सालतिर नेपाल (स्वदेश) फर्कियौँ अब आफ्नै घर, आँगनमा केही गरौँ भनेर । हाम्रो मानसिकता पनि कहाँ देश लत्याउने हो र ? त्यसैले हामी लाग्यौँ स्वदेशतर्फ । आफ्नो थोरै भएको बजारको जमिनमा सानो कम्प्लेक्स बनाउने ध्येय बोकेर, तर त्यही समय हाम्रो देश प्राकृतिक प्रकोपको चपेटामा प¥यो । विनासकारी भूकम्पले सारा देशलाई तहसनहस बनायो । हाम्रो मात्र होइन, साराका योजना चौपट भए । तैपनि हामीले हार खाएनौँ । साम्य भएपछि सानो कम्प्लेक्स बनायौँ ऋण, धन जे–जे छ सब लगानी गऱ्यौँ । हाम्रो उद्देश्य पनि विदेशमा बसे पनि लगानी आफ्नै देशमा गर्ने हो र छ अझै । हाम्रो कम्प्लेक्स तयार भएपछि बिजिनेस र व्यवसायहरू बसे । कति बेरोजगारले काम पाए । हाम्रो लागि यो पनि एउटा आफ्नो देशप्रतिको मोह नै हो । कत्तिले अमेरिकामा स्थायी कागज भएपछि स्वदेशको सम्पत्ति बेचेर यतै भित्र्याउँछन्, तर हामीमा त्यो विचार कहिल्यै आएन र आउनेछैन शायद ।

यसरी नै सही दिन फर्कने आसआसैमा पाँच वर्ष बिताएर अमेरिका फेरि फर्क्यौं। जब यसपटक अमेरिका फर्क्यौं तब मात्र मलाई यो देशको महत्वको आभाष भयो ।

हुन त यो विकसित देशको वर्णन गरेर आफ्नो देशलाई हेय दृष्टिले हेर्ने नियत मेरो होइन, तर यी दुई देशबीचका हरेक क्रियाकलाप, मान्छेविशेषका नियतहरू, व्यवहारहरू र जनताले पाउनुपर्ने सहुलियतहरू अनि जनताले देशप्रति निभाउनुपर्ने कर्तव्यहरूको भिन्नतालाई यहाँ प्रस्तुत गर्न खोजेकी हुँ जो मैले अनुभूत गर्ने मौका पाएँ । हुन त मान्छेले नदेखिन्जेल, नभोगुन्जेलसम्म कुनै कुरालाई महसुस गर्न सक्दैन । भन्नैपर्दा जन्मियो त्यही माटोमा, जिन्दगी चल्यो त्यही माटोमा, तर मलाई १५ वर्षभन्दा अघि आफ्नो देशमा भएका बेथितिहरूको त्यति ज्ञान रहेनछ । हरेक ठाउँमा विद्रोहका आगोहरू ओकलिन्थे । लडाइँ, झगडा भइरहन्थे । सरकारविरुद्ध नारा–जुलुसहरू हरबखत हुन्थे, तर मलाई खासै चासो लाग्दैनथ्यो । म आफ्नो देशलाई सुन्दर त देख्थेँ नै तर देशभित्रको अनियमितता, भ्रष्टाचार र शासनसत्ताको स्वार्थलिप्साबारे अनभिज्ञ थिएँ ।

तर, यसपटक जब अमेरिका भित्रियौँ हामी अनि यहाँको सिस्टम, सरकारी कामहरूको इमानदारिता, समयमै गर्ने कामहरू गर्न सकिने, स्वास्थ्यसम्बन्धी कार्यहरू त झन् तदारुकताको साथ हुने । अब तुलना गरौँ न हाम्रो देशमा रोगको भण्डार जति भरिँदै छ हस्पिटल, डाक्टरहरूको पनि परिपूर्ति उत्ति नै भइरहेछ । तर, अपसोच ! गरिब, निमुखाहरू अकालमै मरिरहेछन् । न औषधोपचारमा कुनै सहुलियत छ, न बिरामीहरूको तुरुन्त परीक्षण हुन्छ । पैसा भए हुने भो नभए साधारण जनताको अकालमै मृत्यु पेवा हुने भो । अझ आजभोलि त दिनहुँ हस्पिटलमा अनेक दुर्घटना भएको समाचार सुन्न पाइन्छ । लाग्छ यी दुःखद खबरहरू सुन्दा त साँच्चै हाम्रो देश सतीले सरापेको देश नै हो कि ? भन्ने भान हुन्छ ।

यस्तै, औषधि–पानीको विषयमा भन्नुपर्दा यहाँ जस्तोसुकै बिरामी किन नहौँ अस्पतालभित्र पस्नासाथ उपचार शुरु हुन्छ । यहाँ पहिला पैसाको कुरा आउँदैन । डाक्टरहरूले आफ्नो कर्तव्य तन्मयताका साथ शुरु गर्छन् । पैसा हुनु–नहुनुसँग कुनै सरोकार छैन । यहाँ स्थापित हुना साथ औषधिमुलो सबैको बन्दोबस्त हुन्छ । हामी पनि यसरी नै बिनापैसा उपचार गराइरहेछौँ । महिनाभरि खाने दबाई हस्पिटलले उपलब्ध गराइदिन्छ । म स्वदेशमा रहिन्जेल पाँच वर्षभित्रमा लाखौँ पैसा खर्च भयो । यहाँ आउनासाथ आफ्नो रेगुलर स्वास्थ्य परीक्षण र औषधि शुरु भयो ।

भर्खर मात्र अचानक शरीरमा सोडियम कमी भएर एमर्जेन्सीमा गएको डाक्टरहरूले आईसीयूमा राख्ने सल्लाह गरे र पाँच दिनसम्म आईसीयूमा राखेर ४–५ जना डाक्टर र उत्तिकै नर्सहरू अहोरात्र खटेर मलाई तन्दुरुस्त बनाएर पठाए । आफ्नो देशमा भएको भए त्यहाँ थोरै पैसाको खोला बग्ने थिएन । तर, एक पैसा नलागी नै त्यत्तिको औषधि–पानी निःशुल्क भयो ।

डाक्टर, नर्सहरू उस्तै अनुशासित र कर्तव्यपरायण हुन्छन् । बिरामीलाई हेर्न आउँदा हात मिलाउँदै आफ्नो परिचय दिन्छन् र स्वास्थ्य परीक्षण गर्न आग्रह गर्छन् । त्यसैले पनि यो देश मानवअधिकार भएको देशझैँ लाग्छ । महिला–बालबालिकाको अधिकारमा उस्तै सजग । बुढाबुढीले पाउने सुविधामा पनि उस्तै देश कर्तव्यशील छ । यसैले यी सब सम्झिँदा यो देशमा मन रमाउनु पनि एक अपरिहार्य कर्तव्य नै हो जस्तो लाग्छ ।

अन्त्यमा मेरो सादर अनुनयविनय यो छ कि मैले आफ्नो देशलाई दुत्कारेर पराईलाई सर्काएको होइन, आफ्नो देशको विकृति–विसङ्गतिलाई सजग गराउने प्रयास गर्ने कोसिस मात्र गरेकी हुँ । आफ्नो सुन्दर धर्ती त छ, तर यहाँ कर्तव्य र अनुशासनको अभाव छ । यसमा राज्यको मात्र दोष होइन, हामी सबैको नै कमजोरी छ । तर, जनता निरीह छन् जसको शासन–सत्ता हुन्छ उसको नियतमा कहिल्यै परिवर्तन आएन । जो आए स्वार्थ र लालच बोकेर आए । पितापुर्खादेखिको चलन कसैले परिवर्तन गर्न सकेन, त्यसैले पनि देश झन् दुःख र पीडामा भासिँदै गयो । जनता अन्योलमा परिरहे । देश सपार्ने सपना त गोधूलिको साँझझैं रङ्गीन भयो, तर साकार भएन ।