नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो चार घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो चार घण्टा बन्द हुने


नारायणगढ–मुग्लिन सडकखण्ड आज (२७ मंसिर) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । चितवन जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरेर सडक बन्द गरिएको उल्लेख गर्दै उनले यस अवधिमा धमाधम काम हुने जानकारी दिए ।

ढुङ्गा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको र १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना रहेको राससले जनाएको छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको खनालले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिने छन् ।

यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।