हुम्लाको तापक्रम माइनस ६ डिग्रीमा झऱ्यो, देशैभर बढ्यो चिसो

हुम्लाको तापक्रम माइनस ६ डिग्रीमा झऱ्यो, देशैभर बढ्यो चिसो


हुम्लामा भारी हिमपातका कारण अत्यधिक चिसो बढेको छ । भारी हिमपातका कारण तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

भारी हिमपातसँगै जाडो बढेपछि मानिसहरू घरभित्रै बस्न बस्न बाध्य भएका छन् । सडकमा पनि हिउँ परेका कारण यातायातका साधन पनि चलेका छैनन् । केही दिन मौसम यस्तै रहने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन रहेको जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यसैगरी पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज यसको प्रभाव हुम्लासँगै देशभर परेको छ । आज देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको उक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीका कारण आगामी तीन दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा कमी आई चिसो बढ्ने जनाइएको छ । हाल देशका पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको बताइएको छ । राति देशका पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरैजसो स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ