कञ्चनपुरमा लगातार हात्तीआतंक

कञ्चनपुरमा लगातार हात्तीआतंक


कञ्चनपुरमा केही दिनयता जंगली हात्तीको समूहले आतंक मच्चाउँदै आएका छन् । बुधबार बिहान यहाँको महाकाली नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा दुई महिलाको ज्यान लिएको एक दिन नबित्दै फेरि बेदकोट नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट मुक्तकमैया बस्तीका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

बेदकोट–२ का वडाध्यक्ष नरेश सिंहले जंगलीहात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय सीताराम डगौरा गम्भीर घाइते भएको जानकारी दिए । ‘बुधबार मध्यराति जंगलीहात्तीको बधान मुक्तकमैया बस्तीमै पसेर आतंक नै मच्चायो,’ उनले भने, ‘गाउँलेले हो–हल्ला गरेपछि मात्रै हात्ती वनतिर लागे ।’ बुधबार बिहान जंगलमा घाँसदाउरा संकलन गर्न गएका महाकाली नगरपालिका–२ का ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको भारतीय जंगलबाट आएका हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

उक्त घटनामा परेर स्थानीय चार महिला गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुईको भारतको खटिमास्थित तपन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी गत असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उक्त पीडित परिवारलाई सरकारले रु. १० लाख राहत रकम उपलब्ध गराएको थियो ।
rss