अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ताको व्यवस्था

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ताको व्यवस्था


दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ ।

बैंकमा पुगेर रकम झिक्न अति अशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपांगता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

‘उहाँहरू बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुन्न, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ,’ वडाध्यक्ष नवराज लामिछानेले भने, ‘यसले उहाँहरूलाई सहज भएको छ ।’

अध्यक्ष लामिछानेका अनुसार शारीरिक अपांगता भएकी डुम्रिगाउँका सुष्मा श्रेष्ठ, रजौराका ९१ वर्षीया खगेश्वरी रजौरे, गोलौराका ९६ वर्षीया छविलाल रेग्मी र गाइडहरका ८१ वर्षीया पिपादेवी केसीलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । अन्य अशक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उनले बताए ।

पहिलो चौमासिकअन्तर्गत ज्येष्ठ नागरिकलाई रु. तीन हजारका दरले रु. १२ हजार र शारीरिक अपांगता भएका व्यक्तिलाई रु. दुई हजारका दरले रु. आठ हजार वितरण गरिएको हो । उक्त वडामा कृषि विकास बैंक तुलसीपुर शाखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।
rss