कराते र तेक्वान्दोको औसत प्रदर्शन, जिम्मेवार को ?

■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कराते र तेक्वान्दो खेलले अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भएका छन् । यी दुई खेलबाट कम्तीमा पनि ३५ देखि ४० स्वर्ण पदक जित्ने नेपालले आशा गरे पनि २२ स्वर्णमै सीमित भएका छन् । जुन कराते र तेक्वान्दोको लागि शुभसङ्केत मान्न सकिँदैन । यसर्थमा कि १३औँ सागमा यी दुई खेलमा ४८ स्वर्णको लागि भिडन्त भएको थियो । जसमा करातेतर्फ १९ र तेक्वान्दोतर्फ २९ स्वर्ण स्वर्ण पदक थिए । ४८ स्वर्ण पदकको भिडन्तमा नेपालले करातेतर्फ १५ र तेक्वान्दोमा १९ देखि २२ स्वर्ण पदक जितेर आठौँ सागको कीर्तिमान तोड्न विश्वास गरिएको थियो । किनकि नेपालमा सम्पन्न आठौँ साफमा कराते र तेक्वान्दोतर्फ ३० स्वर्णको लागि भएको भिडन्तमा नेपालले २८ स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान बनाएको थियो । तर, १३औँ सागमा कराते र तेक्वान्दोले औसत प्रदर्शन मात्र गरेका छन् । अहिले यी दुई खेलले औसत प्रदर्शन गरेपछि यसको जिम्मेवारीमा ठूलै प्रश्नचिह्न खडा भएको छ ।

यी दुई खेलमा थपिएका १८ इभेन्ट र तेक्वान्दोको पुम्सेमा बलियो सम्भावनाका कारण १३औँ सागमा तेक्वान्दोेतर्फ नेपालले थुप्रै स्वर्ण पदक जित्ने आशा गरिएको थियो । यथार्थमा भन्नुपर्दा पुम्सेतर्फका सम्पूर्ण १३ स्वर्ण पदक जितेर नेपालले क्लिनस्विप गर्ने विश्वास गरिएको थियो । किनकि पुम्से विधातर्फ अन्य सार्क मुलुकको तुलनामा नेपाल निकै बलियो मानिन्छ र वर्तमान अवस्थामा थियो पनि । विडम्बना ! मौकामा छक्का हान्न नेपाली खेलाडी चुके, खेलमा खरो उत्रिन सकेनन्, केवल ७ स्वर्णमै चित्त बुझाए । त्यस्तै, गेरोगीतर्फ भएको १६ स्वर्ण पदकको भिडन्तमा पनि नेपाल पाँच मात्र स्वर्ण पदक जित्न सफल भयो । जुन तेक्वान्दोको नामअनुसारको प्रदर्शन कदापि थिएन । अन्तर्राष्ट्रिय प्रतियोगिताको नाम उच्चारण हुनासाथ सर्वप्रथम सम्भावित पदकविजेताको खेलको रूपमा तेक्वान्दोको नाम लिने गरिन्छ । तर, १३औँ सागमा तेक्वान्दोले त्यस्तो कुनै चमत्कार देखाउन सकेन । आठौँ साफमा १४ स्वर्ण पदक जितेर बनाएको कीर्तिमानसमक्ष पनि पुग्न सकेन । १३औँ सागमा पुम्से र घरेलु दर्शकहरूको फाइदा उठाउँदै समावेश ४८ मध्ये नेपालले ७५ प्रतिशत स्वर्ण जित्ने विश्वास गरिए पनि तेक्वान्दो त्यसमा पूर्ण रूपमा असफल भएको छ । मात्र ४० प्रतिशतमा सीमित भएको छ ।

करातेले १३औँ सागमा आठौँ साफको कीर्तिमान तोड्ने र कम्तीमा १५ स्वर्ण जित्ने लक्ष्य राखेको थियो । तर, कराते पनि यसमा सफल हुन सकेन, केवल १० स्वर्णमै सीमित रह्यो । र पनि, करातेले १९ स्वर्णमध्ये १० स्वर्ण जितेर केही हदसम्म आफ्नो प्रतिष्ठालाई जोगाउन सफल भयो । तेक्वान्दोको तुलनामा करातेले पाएको यो सफलता प्रतिशतको हिसाबले पनि बढी छ । यसो भन्दैमा करातेको यो जित अविष्मरणीय छ भन्न खोजिएको होइन । भारतले सहभागिता नजनाएको करातेमा नेपाली खेलाडीले जुन किसिमको उत्कृष्ट प्रदर्शन गर्नुपथ्र्यो त्यस्तो गर्न नसकेकै हो, त्यसमा कुनै शङ्का छैन । घरेलु विवादका कारण भारतको गुहावाटी र सिलोङमा सम्पन्न १२औँ सागमा करातेलाई समावेश गरिएको थिएन । जसको प्रत्यक्ष असर नेपाली खेल पदक–तालिका परेको थियो । यसपटक भारतको अनुपस्थितिमा नेपाललाई थुप्रै स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान कायम गर्ने अवसर थियो, तर त्यसमा नेपाल चुकेको छ ।

आठौँ साफ र १३औँ सागको तुलनात्मक रूपमा विश्लेषण गर्दा अहिले बागमतीमा धेरै पानी बगिसकेको अवस्था छ । २० वर्षअघि नेपाल मार्सल आर्टस्का खेलहरू (तेक्वान्दोे र कराते) मा बादशाह नै मानिन्थ्यो । तर, अहिलेको अवस्था त्यस्तो छैन, सार्क राष्ट्रका अन्य मुलुकले मार्सल आर्टस्मा प्रगति मात्रै गरेका छैनन्, नेपाललाई निकै पछि पारिसकेका छन् । भारत, पाकिस्तान, श्रीलङ्का, भुटान र बंगलादेशले नेपाललाई चुनौती मात्र होइन पराजितसमेत गरिसकेका छन् । यस्तो अवस्थामा पदक–तालिकामा फरक पर्नु स्वाभाविकै हो । १३औँ साग नेपालमा आयोजना भएकोले तेक्वान्दो र करातेमा नेपालले दबदबा कायम गर्ने कुरामा विश्वास गर्न सकिन्थ्यो । तर, त्यस्तो हुन सकेन, यी दुुई खेलका ४८ स्वर्ण पदकमध्ये २२ स्वर्ण नेपालले जिते पनि २६ पदक अन्य मुलुकले खोसे । जुन नेपालको लागि कदापि शुभसङ्केत होइन । गत १२औँ सागमा तेक्वान्दोमा शून्य स्वर्ण पदक जितेको नेपालले यसपटक १२ स्वर्र्ण पदक जित्नु उपलब्धिमूलक मानिए पनि सोचेकोजस्तो सन्तुष्ट गर्ने प्रदर्शन भने कदापि होइन । यो कुराको हेक्का तेक्वान्दो सङ्घले राख्नुपर्छ । यसर्थमा कि नेपालले तेक्वान्दोको पुम्से विधातर्फ सर्वाधिक ७ स्वर्ण जितेको छ, जुन प्रदर्शन खेल हो । प्रदर्शन खेलमा कस्तो सेटिङ हुन्छ र आयोजक राष्ट्रलाई यो विधामा कत्तिको फाइदा हुन्छ त्यो जोकोही खेलकुद पदाधिकारी र सम्बन्धित खेल सङ्घलाई राम्रोसँग थाहा छ ।

त्यस्तै, कराते र तेक्वान्दोबाहेक नेपालले १३औँ सागमा सर्वाधिक स्वर्ण पदकको आशा गरेको अर्को खेल हो ‘उसु’ । २२ स्वर्ण पदक रहेको उसुमा १३औँ सागमा नेपालले १० स्वर्ण पदक जित्ने दाबी गरेको थियो । दाबी गरेअनुसार १० स्वर्ण पदक जित्न नसके पनि उसुले ४ स्वर्ण पदक भने जितेको छ । जुन अपेक्षाकृत होइन र त्यस्तो विश्वास गरिएको पनि थिएन । उसुले थाउलोतर्फ ४ स्वर्ण पदक जिते पनि फाइटतर्फ एउटै स्वर्ण पनि जित्न सकेन । तीनजना खेलाडी फाइनलमा पुगेका हुन्, तर स्वर्ण पदकको भिडन्तमा उनीहरू निकै कमजोर साबित भए । अर्कोतर्फ थाउलोतर्फको विवादका कारण नेपालले दुईवटा स्वर्ण गुमाउनुपरेको उसु सङ्घका पदाधिकारीले बताए पनि त्यो उनीहरूको ‘हार्ने गोरुको छेरुवा दाउ’ मात्रै हो भन्दा अतिसयोक्ति नहोला । उसुमा भारत निकै बलियो थियो, त्यसपछि श्रीलङ्का । नेपाल तेस्रो स्थानमा थियो, सोही किसिमको नतिजा आयो, सत्यता यही हो । त्यसैले उसुका पदाधिकारीले बहानाबाजी गरेर आफ्नो कमजोरी छुपाउनुभन्दा वास्तविकतालाई आत्मसात् गर्नु नै बुद्धिमानी ठहर्नेछ ।



यसरी १३औँ सागमा नेपालले तेक्वान्दो, कराते र उसुबाट ४० वटा स्वर्णको आस गरेको थियो । त्यसमा यी तीनै खेल खरो उत्रिन नसके पनि २६ स्वर्ण भने जित्न सफल भएका छन् । ‘नहुनु मामाभन्दा कानो मामा राम्रो’ भनेझैँ १२औँ सागको तुलनामा यी खेलहरूको प्रदर्शन उत्कृष्ट नै मान्नुपर्छ । यसर्थमा १२औँ सागमा तेक्वान्दोले एउटा पनि स्वर्ण पदक जित्न सकेको थिएन भने उसु एक स्वर्णमै सीमित रहेको थियो । त्यस्तै कराते खेल १२ सागमा समावेश थिएन ।

प्रतिक्रिया