‘चाइना कार्ड’ होइन भारतसँग ‘हिन्दू कार्ड’ खेलौँ

■ डा. बुद्धिप्रसाद शर्मा

केही हप्तायता नेपालको कालापानी क्षेत्र अतिक्रमणको विषयले नेपालमा आक्रोश, चर्चा एवम् प्रतिक्रिया जन्माएको छ । करिब साठी वर्ष पुरानो यो मुद्दालाई आजसम्मका कुनै पनि सरकारले ठोस कूटनीतिक पहलद्वारा समाधान गर्ने आँट गर्न सकेनन् । उत्तर स्पष्ट छ– जतिसुकै चर्का कुरा गरे पनि भारतीय नेतृत्वसँग नेपाल पक्षले सीमा–विवादलगायतका द्विपक्षीय सम्बन्धका अन्य विभिन्न अप्ठ्यारा विषयमा एक सार्वभौम मुलुकले अर्को सार्वभौम मुलुक जसरी प्रस्टसँग कुरा गर्न सक्तैन । किन नेपाली नेतृत्वले यतिबिघ्न त्रास र असामञ्ज्यस्य अनुभव गर्छ त भारतीय संस्थापनसँग ?

नेपालले कुनै–कुनै बेला ‘चाइना कार्ड’ प्रयोग गरेर भारतलाई तर्साउन खोजे पनि आफैँ लत्रिनुपरेको तीतो अनुभव छ । वास्तवमा चाइना कार्डवाट भारत तर्सिने होइन कि चिनियाँहरूले नै अप्ठ्यारो महसुस गर्ने गरेको बताइन्छ । यस्तो स्थितिमा नेपालले आफ्ना सबल र दुर्बल पक्षलाई यकिन गरेर के ग¥यो भने भारतसँगकोे आफ्नो बार्गेनिड शक्ति ज्यादा हुन्छ त ? पङ्क्तिकारको अध्ययनले ठम्याएको र यस आलेखमा चर्चा गर्न खोजिएको विषय भनेको हिन्दूमतको शक्ति अर्थात् ‘हिन्दू कार्ड’ हो, यो नेपालको सांस्कृतिक एवम् ऐतिहासिक सामथ्र्य हो र यसले मात्र भारतीय नेतृत्वलाई ठाउँमा राख्न सकिन्छ, नेपालको राष्ट्रिय स्वार्थका खातिर ।

अधिकांश भारतीय नेता एवम् नेपाल मामिलामा चासो राख्नेहरूले भन्ने गरेको कुरा के छ भने नेपाल–भारत सम्बन्ध अत्यन्त विशेष प्रकृतिको छ र यी दुई मुलुकबीचको सम्बन्धलाई विश्वका अन्य मुलुकहरूसँगको सम्बन्धसँग तुलना गर्न मिल्दैन । यो कुरामा नेपाली असहमत हुनु जरुरी छैन, जुन कुनै किसिमको होस् बढ्ता समानता द्विपक्षीय सम्बन्धमा सहकार्यका लागि सकारात्मक नै मानिन्छ । भारतीयहरूको अर्को भनाइ छ– मुख्य गरी नेपाल–चीन सम्बन्धलाई औँल्याउँदै–चीनसँग जतिसुकै नजिक हुन खोजे पनि नेपालका लागि भारतको विकल्प चीन हुन सक्दैन । नेपालको भू–अवस्थिति र भारतसँगको सांस्कृतिक एवम् जनाधारमा आधारित सम्बन्ध हेर्दा यो तर्कसँग त्यति बढी असहमत हुन नसकिएला पनि । नेपालमा क्षणिक राजनीतिक फाइदाका लागि जतिसुकै भारतविरोधी देखिन खोजे पनि अन्ततोगत्वा दल एवम् नेताहरू यो वा त्यो किसिमले लम्पसार परेको तीतो अनुभव नेपालीले गरेकै छन् ।

राजनीतिक एवम् सरकारी तवरबाट भारतसँग आँखा जुधाएर कुरा गर्ने सामर्थ्य नेपाली सत्तासँग छैन भने के त्यस्तो विषय होला जसले भारतका लगभग सबै प्रधान शक्तिहरूलाई नेपालले आफ्ना स्वार्थ र आवश्यकताअनुसार काबुमा राख्न सक्छ ? त्यो हो नेपालको हिन्दूमतको शक्ति । विगतमा चर्चा हुने गरेको चिनियाँ कार्डले भारतलाई छुने त परै जाओस् चिनियाँहरूचाहिँ चिन्तित हुने गरेको सन्दर्भमा अब एक मात्र विकल्प भनेको नेपालले हिन्दूमतको शक्तिलाई उपयोग गर्दै भारतका शक्तिशाली हिन्दू गुरुहरू, मठ, आश्रम एवम् सङ्घहरूमार्फत भारतीय राजनीतिक दलहरू, कर्मचारीतन्त्र, सुरक्षा निकाय एवम् सम्बन्धित संस्थाहरूमाथि व्यापक प्रभाव पार्न सक्नुपर्छ ।

अझै पनि अधिकांश भारतीयहरू नेपाल हिन्दूराष्ट्र नै भएको मान्छन् । हिन्दूबहुल भारतीय समाजले नेपाली भूमि र जनतालाई धार्मिक नजरले हेरेको हुन्छ । अझै पनि धेरै भारतीयलाई नेपाल–भारतबीच द्विपक्षीय समस्या छन् भन्ने थाहा छैन ।

अत्यन्त कठिन भौगोलिक अवस्थामा रहेको इजरायलले यहुदी मतको भरपूर प्रयोेग गरेर अमेरिका एवम् युरोपेली सङ्घमाथि अत्यधिक प्रभाव पार्न सफल भएको छ । लामो समयसम्म चारैतिरबाट उसैको शब्दमा भन्नुपर्दा दुस्मनबाट घेरिएको इजरायलले शक्तिराष्ट्रहरूलाई आजसम्म पनि आफ्ना राष्ट्रिय स्वार्थअनुसार उपयोग गर्दै आएको छ । अमेरिकामा यहुदी मत कति बलियो छ भन्ने कुरा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीले जति कसले बुझेको होला र ! त्यस्तै भनिन्छ– शीतयुद्धको घनघोर समयमा जतिबेला पुँजीवादी प्रजातान्त्रिक र साम्यवादी धारहरू चर्को द्वन्द्वमा थिए त्यो समयमा पनि चीन र अमेरिकाबीचको खराब सम्बन्धलाई सामान्यिकृत गर्न भ्याटिन चर्चका पादरीहरू एवम् अमेरिकाका धार्मिक समुदायको निकै ठूलो योगदान थियो ।

चीन मामिलाका जानकार अमेरिकी राजनीतिक वैज्ञानिक डेभिड शामवग अमेरिका–चीन सम्बन्ध सुमधर बनाउन जति सरकारी तवरबाट हेनरी किसिन्जरसहितको भूमिका थियो त्यति नै भूमिका अमेरिकी धार्मिक, सामाजिक एवम् गैरसरकारी संस्थाहरूको पनि थियो भन्दछन् । साउदी अरबले आजसम्म इस्लामिक मतकै आडमा मुसलमान विश्व मात्र होइन सबै शक्तिराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न सकेको छ । पश्चिमा सरकारहरूमाथि भ्याटिन चर्चको प्रभावबारे कैयौँ पुस्तक नै लेखिएका छन् ।

अझै पनि अधिकांश भारतीयहरू नेपाल हिन्दूराष्ट्र नै भएको मान्छन् । हिन्दूबहुल भारतीय समाजले नेपाली भूमि र जनतालाई धार्मिक नजरले हेरेको हुन्छ । अझै पनि धेरै भारतीयलाई नेपाल–भारतबीच द्विपक्षीय समस्या छन् भन्ने थाहा छैन । हाम्रा कतिपय मिडियाले ठूला हेडलाइन दिएर समाचार बनाउने भारतमा कतै नाम नसुनिने र मिडियामा स्थान नपाउने बुद्धिजीवीहरूका नेपालबारेको टिप्पणीबारे धेरै भारतीय जानकार हुँदैनन् । नेपालमा मात्र बढ्दा भाउ पाउने हुन् । छिमेकी बदल्न सकिँदैन, त्यसमाथि ज्याद्रो छिमेकी पऱ्यो भने त्यसलाई यथार्थमा आधारित विवेकसङ्गत ढङ्गबाट काबुमा ल्याउनुपर्छ । चाणक्य नीति र सुन जुको रणनीति आजसम्म पनि त्यसै चर्चित बनेको होइन । किसिन्जरले भनेझैँ बाह्य कूटनीतिमा देखिने औपचारिक पद्धतिले भन्दा सूक्ष्म एवम् आन्तरिक किसिमले रियालिस्ट शैलीमा चालिएका कदमहरूले बढ्ता कूटनीतिक लाभ दिलाउँछ । अझै पनि अमेरिकी कूटनीतिक प्रशासनमा रियालिस्टहरूको खास बोलवाला रहँदै आएको छ जतिसुकै उदारधारको पक्षपोषण गर्न खोजे पनि ।

नेपाल–भूूमि विश्वका हिन्दूहरूको लागि इस्लामको मक्कामदिना भनेसरह नै हो । साम्प्रदायिक एकीकृत मत रहेको वैदिक सनातन धर्मले नेपाल–भूमिलाई तपोभूमि मान्दछ् । ठूला शक्तिपीठहरूको उत्पत्ति, हिन्दू ग्रन्थहरूको लेखन र अधिकांश ऋषिमुनिहरूको जन्म नेपालमै भएको हो । नेपाललाई अन्तर्राष्ट्रिय समुदायले विश्वकै पुरानो मुुलुकमध्येको मान्दछ । भारत सम्बन्धमा जबसम्म नेपालले हिन्दूमतको शक्तिलाई प्रयोग गर्नेछैन तबसम्म भारतीय शासक एवम् प्रशासनको त्रासको बादल नेपाली सत्तामाथि मडारिरहनेछ । यो बादलसामु कोही कुनै बखत अचाक्ली शौर्यपन्थी राष्ट्रवादी देखिन खोजे पनि त्यो क्षणिक मात्र हुनेछ । भारतीय दूतावासका सामान्य कर्मचारी पनि त्यसै बाघ बनेर बसेका छैनन् काठमाडौंमा । वि.सं. २००७ सालयताको इतिहासले पनि त्यो पुष्टि गरेको छ । नेहरूदेखि मोदीसम्मका सबैजसो भारतीय नेतृत्वले नेपाललाई आफ्ना प्रभावक्षेत्रभन्दा बढ्ता सोचेनन् । सार्वभौम मुलुकजसरी व्यवहार कहिल्यै गरेनन् भलै कतिपयले निकै चिप्लो कुराले नेपालीको मन जित्ने प्रयास गरे पनि ।

आजसम्म नेपालको राजनीतिक नेतृत्वले मुलुुकको माटो चिनेन, जनताको मत बुझेन । नेपाली नेतृत्वले कहिल्यै नसोचेको ‘हिन्दू कार्ड’बारे अब महत्वपूर्ण विकल्पको रूपमा सोच्न जरुरी छ । यो एक शान्तिपूर्ण, अस्तित्ववादी, सहिष्णुतामा आधारित, मन–मुटु जोड्ने साथै दीर्घ प्रभावी अस्त्र हो ।

त्यसकारण अब नेपालले राष्ट्रको सर्वोत्तम हितको लागि पनि हिन्दूराष्ट्रको विषयमा जसरी आज मुलुकको ठूलो हिस्सा धर्मनिरपेक्षताका कारण असन्तुष्ट छ जनमतसङ्ग्रह गरेर टुङ्गो लगाउनु बेहत्तर हितमा हुन्छ । अर्को भनेको, जनमतसङ्ग्रह होला वा नहोला, तर नेपाली सत्ताले नेपालका सरकारी संयन्त्र, सामाजिक संस्थाहरू एवम् हिन्दूवादी सङ्घठनहरूमार्फत भारतीय हिन्दू सङ्घ, सङ्गठन एवम् प्रभावशाली गुरुहरू जस्तै रामदेव, श्री श्री रविशङ्कर, सद्गुरु, सन्त श्री मोरारी वापुजी, शिवानन्दजी महाराज, ब्रह्माकुमारी माता, चारै धाम एवम् चारै मठका शङ्कराचार्य प्रमुख गुरुहरूलाई निकटमा ल्याई बिस्तारै नेपाल र भारतीय हिन्दूमतलाई आफ्नो पक्षमा पार्नुपर्छ । त्यस्तैगरी भारतमा धार्मिक आडमा रहेका क्षेत्रीय राजनीतिक दलहरूलाई पनि निकटतामा ल्याउनुपर्छ । धार्मिक गुरुहरूको प्रभाव राजनीतिक मात्र नभई ठूला व्यापारिक घरानाहरूमाथि पनि उत्तिकै हुने हुँदा उनीहरूमार्फत भारतीय राजनीतिक, प्रशासनिक एवम् सुरक्षा संयन्त्रमाथि प्रभाव हासिल गर्न सकिन्छ । यति हुन सक्यो भने गोर्खा सैनिक बटालियनहरू पनि नेपाल मामिलामा नेपाल पक्षधर शक्तिमा रूपान्तरण हुनेछन्, जसरी अहिले गोर्खा सैनिकको विषयमा नेपालको कमजोर आवाज हुँदै आएको छ, यसको अन्त्य भई त्यो एक राष्ट्रिय स्वार्थको लागि बलियो एवम् कामलाग्दो रणनीतिक शक्ति बन्नेछ ।

हिन्दूमत शक्ति आर्जनको लागि नेपाली सत्ताले केही कदमहरू गुप्त रूपमा तुरुन्त चाल्नुपर्छ । जस्तै नेपालमा बढिरहेको धर्मान्तरणलाई कडाइका साथ रोक्ने, क्रिश्चियन मसिनरीहरूको अनावश्यक गतिविधिहरूलाई नियन्त्रण गर्ने, हिन्दूधर्मको उत्थानमा लागिरहेका सबै सङ्घ–संस्थाहरूलाई तत्काल सहयोग उपलब्ध गराउने र नेपालका ठूला आश्रम एवम् धर्मगुरुमार्फत भारतीय धार्मिक सङ्घ–संस्थाहरूसँग सम्पर्क, सहकार्य र सम्बन्धका लागि पहल कदम अगाडि बढाउने । यस्तैगरी, भारतीय हिन्दू धार्मिक संस्थाहरूलाई नेपालमा शाखा विस्तार गर्न दिनेदेखि हिन्दू गुरुहरूलाई नियमित रूपमा नेपाल भ्रमण गराउने र विश्वभर हिन्दूधर्मको संरक्षणको लागि उनीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने ।

अहिले पश्चिमका धेरै मुलुकमा हिन्दू समुदाय बलियो स्थिति एवम् पहुँचमा रहेको छ । यी सबै योजनाबद्ध रूपमा कार्यान्वयन गर्न बाह्य रूपमा सरकारको संलग्नता नदेखिने गरी धार्मिक एवम् सामाजिक व्यक्तित्व रहेको एक संस्था स्थापना गर्ने । अमेरिकाको नेसनल राइफल एसोसिएसन बाह्य रूपमा हेर्दा सामाजिक सङ्गठन जस्तो भए पनि यसले अमेरिकी क्रिस्चियन धार्मिक जनमतको प्रतिनिधित्व गर्दछ र अमेरिकी घरेलु एवम् बाह्य नीति–निर्माणमा यसको उल्लेख्य प्रभाव रहँदै आएको छ । भारतीय राजनीतिमा राष्ट्रिय स्वयम्सेवक सङ्घको भूमिकाबारे धेरै चर्चा गर्न आवश्यक नपर्ला ।

चाणक्य भन्छन्– बलियो दुस्मनलाई काबुमा ल्याउने एक मात्र उपाय आफ्ना सबल पक्षको यकिन गरेर दुस्मनको विवशतामाथि कब्जा जमाउने । नेपाली नेतृत्वले कहिल्यै नसोचेको ‘हिन्दू कार्ड’बारे अब महत्वपूर्ण विकल्पको रूपमा सोच्न जरुरी छ । यो एक शान्तिपूर्ण, अस्तित्ववादी, सहिष्णुतामा आधारित, मन–मुटु जोड्ने साथै दीर्घ प्रभावी अस्त्र हो । आजसम्म नेपालको राजनीतिक नेतृत्वले मुलुुकको माटो चिनेन, जनताको मत बुझेन । गल्तीबाट पाठ सिकुन् र नेपालको सांस्कृतिक सबल पक्षलाई भरपूर उपयोग गरेर धार्मिक मामिलामा संवेदनशील दक्षिण छिमेकीलाई सदा सहयोगी, अहस्तक्षेपकारी र रचनात्मक भइरहन बाध्य पार्न नेपाली नेतृत्व रणनीतिक ढङ्गबाट लाग्नुको अब विकल्प छैन ।



Twitter: BuddhiSharma3

प्रतिक्रिया