वैधताको प्रश्न

वैधताको प्रश्न


■ दुर्गाकिरण तिवारी

प्रेम र स्वतन्त्रता परै जाओस्
समाजले धर्मका नाममा
निर्माण गरिदिएको बार
सदियौँदेखि मात्रै नारीका निमित्त
मर्यादा बनेर थोपरिँदा
मेरा वसन्त र शरद
खै कहिले आए कहिले गए पत्तै भएन !

सदाकाल कठ्याङ्ग्रिएर बगरमा
प्यासी पल्टिइरह्यो जिन्दगी
प्रौढ बैंस यसै शीतमा कक्रिएर
अनि शिशिरमा उजाडिएर
थाहै नपाईकन
सिख्रो वनजस्तै खै कसरी बित्यो !

तर आज मन
बाह्रै महिना वसन्तमा झैँ
उल्लासमय बनेर तिनै सिख्रा रूखहरूमा
अनेकौँ मुजुरा र पालुवा पलाएका छन्
फूलहरू फक्रिन खोज्दै छन्
प्यासी रहरका लहरा कति लहरिँदै छन्
फलका निमित्त जीवन
अनवरत हुर्काइरहेछ

उमेरले
आधा शताब्दीतिरको यात्रा थालेकै बेला
म फेरि फक्रिँदै छु, फुल्दै छु
उही प्रौढता भरिएको जवानीमा
मसँग त्यसैलाई स्पर्श दिने
न्यानो हृदय अनायासै मिसिएको छ
अरूकै नासो माया पाएर पनि खै
म किन मक्ख छु
यसै फुर्किएकी छु अचम्मै गरी

तर प्रश्न ठडिएको छ
फेरि उही समाजको
मेरो प्रेम अवैध कि सम्बन्ध अवैध ?

प्रेम अवैध कि सम्बन्ध अवैध ?
अझै निष्कर्षमा पुग्न नसकेकी म
बर्खे भेलसँगै उर्लिइरहेका प्यासी चाहनालाई
किनारमै बसेर पनि शान्त पार्न नसकेरै
समाजको आँखामा वैध हुन नसकेको
तिमीसँगको मेरो प्रेमसँग वाक्क भइरहन्छु !

म नै प्रश्न गरिरहेकी छु
आफ्नै मस्तिष्कका कठघरामा
विवादास्पद बनेर हरपल
सल्बलाएका छन् अनेकौँ सवालहरू
अनि यो सम्बन्ध कसरी वैध होला र ?

अचम्मै छ यो मन
अनेक तर्क गरिरहन्छ मैसँग
भन्थे प्रेम अमर र पवित्र हुन्छ
समाज एक दिन त्यसैसँग झुक्छ
तर खै मलाई भने
समाजले यो प्रेमलाई औँला ठड्याइरह्यो
वैधताको प्रश्न उठाइरह्यो
मेरो तिमीसँगको प्रेम
न पवित्र भयो न अमर नै
न त तिमीसँगको सम्बन्ध नै वैध भयो ।

भन्थे,
प्रेममा सबथोक जायज हुन्छ भनेर
तर मेरो तिमीसँगको अगाध प्रेम
प्रेम हुन सकेन अनि त्यसैमा बाँधिएर
मनको एकतासँगै
एकान्तवासका कैयौँ मधुर अनुभूतिसँगै
अनेक रहरहरूलाई मलजल गरेर
हुर्काउँदै प्रगाढ बनाएको
मेरो प्रेम, मेरो सम्बन्ध
खै किन जायज हुन सकेन ?
तिमी विवाहित पुरुष र म पनि उस्तै
तर मलाई तिम्रो
साथ र प्रेमको खाँचो परिरह्यो
किन कहिल्यै पूर्ति हुन सकेन ?

अचम्मै छ
पौराणिक कथाका पात्र
शिवले गरेको गोमामाथिको छलकपट
शिवलीला हुने रे
वृन्दाको सतीत्व डगाउन
विष्णुले गरेको महाकपट
अपराध नभएर अनुकरणीय हुने रे
सोह्र हजार गोपिनीसँग
कृष्णले राखेको साथ सम्बन्ध
अनन्त युगका लागि लीलाविलासको
अमूल्य प्रेमकथा हुने रे

तर
तर, मैले तिमीलाई गरेको प्रेम
अनि मेरो तिमीसँगको सम्बन्ध
कसरी अवैध र नाजायज हुने ?
उनीहरूको छलकपट पुजिने
तर मेरो प्रेमलाई घृणा गरिने किन ?
समाजको मौनता अझै निरुत्तर छ
म प्रश्न गरिरहेकी छु
मेरो तिमीसँगको प्रेम
र मिलनको यो सम्बन्ध अवैध किन???