धन बोल्ने, सत्य मौन रहने समय

धन बोल्ने, सत्य मौन रहने समय


■ देवप्रकाश त्रिपाठी

धन मानिसको जीवनसँग सीधै जोडिएको हुनाले मानव सभ्यताको विकाससँगै यसले प्राथमिकता पाउँदै आएको छ । मनुष्यका पाँच जन्मजात (स्थायी) प्रवृत्तिमध्ये मनोविज्ञानले आर्जनात्मकतालाई पनि मानेको छ । भोक, निद्रा, यौन र झगडाका निम्ति मानिसलाई कुनै शिक्षा या तालिमको आवश्यकता नपरेजस्तै आर्जन गर्न पनि सिकाइरहनुपर्दैन, बाल्यकालदेखि नै मानिसमा यस्तो गुणको स्वतः विकास भइसकेको हुन्छ । धन साध्य नभई साधन मात्र हो र, ‘जहाँ धन बोल्दछ त्यहाँ सत्य मौन रहन्छ’ भन्ने जानकारी नभएका मानिस विरलै भेटिन्छन्, तथापि आफूलाई भन्दा धनलाई उच्च महत्व दिने मानिस पनि यत्रतत्र फेला परिरहेका हुन्छन् ।

प्रविधिको उच्चतम विकासले मानिसलाई सुखका साधनहरू उपलब्ध गराएको र त्यसको प्राप्तिका निम्ति धन अपरिहार्य भएकोले मानिसमा धन प्राप्तिको चाहना प्रबल हुँदै गएको बुझ्न सकिन्छ । कुनै समय थियो धनले जमिन, गाईवस्तु, घर, कपडा र सवारीसाधनजस्ता आधारभूत कुराहरू मात्र खरिद गर्न सकिन्थ्यो । टेलिफोन र टेलिभिजनको विकासपछि ती पनि धन हुनेले मात्र प्रयोग–उपयोग गर्न सक्ने भए । असहायलाई सहयोग गर्न, स्वास्थ्योपचार र पर्यावरण तथा वन्य जीवजन्तुको संरक्षण गर्न र सूरक्षाका निम्ति पनि धनको अपरिहार्यता रहन थाल्यो, यतिसम्म ठीकै थियो । तर, पछिल्लो समयमा धन खर्च गरेर साहित्यकार, लेखक, पत्रकार, नेता, विद्वान्, उच्च प्रशासक र राजदूतसमेत बन्न पाइने भएपछि नेपालमा धनको महत्व सर्वाधिक उच्च बिन्दुमा पुगेको छ ।

पहिले–पहिलेका कवि–साहित्यकार आफूलाई सरस्वतीको बरदान मिलेकोमा सधैँ आनन्दित रहन्थे, आफ्ना कृति अरूले मन पराइदिएकोमा प्रसन्न हुन्थे । तर, अचेलका कवि–साहित्यकार आफ्नो लेखनीबाट खुशी हुँदैनन्, ‘रचना मन पराएर के गर्नु पैसा नै हुँदैन’ भन्छन् र दुःखी बन्छन् । चिकित्सकहरू जटिल रोगको उपचार गर्न सफल भएर सर्वाधिक खुशी हुनुपर्नेमा उनीहरू पनि कमाइको आधारमा खुशीको ‘डिग्री’ तल या माथि सार्ने गर्दछन् । शिक्षकहरू राम्रा विद्यार्थी उत्पादन गर्न सकेकोमा खुशी हुनुपर्ने थियो, उनीहरू पनि धनलाई नै मापदण्ड बनाएर खुशी या दुःखी बन्ने गर्दछन् । कलाकार आफ्नो प्रतिभाको विशिष्टता स्थापित हुन सकेकोमाभन्दा धन आर्जनमा खुशी हुने गर्दछन् । चुनावमा ‘टिकट’ पाउन धन, टिकट पाएपछि मत बटुल्न पनि धन, मन्त्री बन्न धन र नेताको विश्वास प्राप्त गरिरहन पनि धन नै आवश्यक पर्ने भएपछि वास्तविक व्यापार निर्धो हुने गरी राजनीतिक व्यापार फस्टाएको छ । भाडाका मानिस लिएर लेखक, पत्रकार, कवि, साहित्यकार हुन पाइने भएपछि वास्तविक लेखक, कवि, पत्रकार र साहित्यकार ओझेल पर्दै जाने खतरा अरू बढेको छ ।

मानिसको जीवनमा धनको महत्व रहन्छ र जीवन गुजार्न मात्र नभई सेवाकार्य गर्नका निम्ति पनि धन आवश्यक पर्ने हुँदा यसले उचित महत्व पाउनु अस्वाभाविक होइन, तर मानिसले आफू र आफ्नो कर्मभन्दा पनि ज्यादा महत्व धनलाई दिनुचाहिँ किमार्थ स्वाभाविक होइन, यही अस्वाभाविकताबाट नेपाली समाज गुज्रँदै छ, किन ?

चुनावमा ‘टिकट’ पाउन धन, टिकट पाएपछि मत बटुल्न पनि धन, मन्त्री बन्न धन र नेताको विश्वास प्राप्त गरिरहन पनि धन नै आवश्यक पर्ने भएपछि वास्तविक व्यापार निर्धो हुने गरी राजनीतिक व्यापार फस्टाएको छ । भाडाका मानिस लिएर लेखक, पत्रकार, कवि, साहित्यकार हुन पाइने भएपछि वास्तविक लेखक, कवि, पत्रकार र साहित्यकार ओझेल पर्दै जाने खतरा अरू बढेको छ ।

वनजङ्गलबिना जीवन सम्भव हुँदैन, तर वनजङ्गलप्रतिको निर्भरताका आधारमा मानव समाजको विकास स्तरलाई मापन गरिन्छ । वनजङ्गलप्रति पूर्ण निर्भर जीवनलाई अविकसित र असभ्य मानिन्छ भने त्यसप्रतिको निर्भरता न्यून गराउने समाजलाई विकसित र सभ्य ठानिन्छ । शिक्षा र प्रविधिको विकास हुनुअघि संसारभरिका मानिसको जीवन वनजङ्गलप्रति पूर्ण निर्भर थियो । त्यसपछि जमिन र कृषि तथा पशुपालनमा मानिसको जीवन आश्रित हुन थाल्यो, त्यसैलाई गाउँको विकासका रूपमा पनि लिइन्छ । गाउँ प्रकृतिमाथि निर्भर रहने निर्दोष र परिश्रमी मानिसको बस्ती हो भने सभ्य शहर प्रविधि र प्रज्ञाको उच्चतम विकास उजागर हुने मानव सभ्यताको विशिष्ट अवस्था हो ।

गाउँमा निर्दोषिता, दया र करुणाभावको अधिकता रहन्छ । सामान्यतया मानिसहरू छलकपट जान्दैनन्, बुझ्दैनन् र गर्दैैनन् पनि । त्यहाँ मौसमको कुरा हुन्छ, पानीका मुहानका कुरा हुन्छन् । कसका गाईभैँसीले धेरै दूध दिने, कसका बाख्राले धेरै पाठापाठी जन्माउने र कसका खेतबारीमा कति उब्जनी हुनेजस्ता विषय मानिसको चासो र छलफलको विषय बन्ने गर्दछ ।

पहिले मानिस ग्रामीण जीवनमा रमाउँथे । वनमा हरियाली छाउँदा, पानीका मुहान खुल्दा, खोलानालामा पानीको बहाव निरन्तर रहँदा, गाईभैँसीले दूध धेरै दिँदा, अन्नबाली सप्रँदा र घरमा अन्न धेरै भित्रिँदा मानिस औधी खुशी हुन्थे । कुनै अपरिचित मानिसको आगमन गाउँमा हुँदा तिनको सोधी–खोजी गरिन्थ्यो, दुःखकष्ट परेको भए समाधानका निम्ति सबै एकजुट भएर लागिपर्थे, भोकै भए खानाको प्रबन्ध हुन्थ्यो, बाटो भुलेको भए बाटो देखाइन्थ्यो ।

दूध, दही, घ्यू बिक्री नगर्ने बरु नहुनेलाई निःशुल्क बाँडिदिने चलन थियो । पर्म चल्थ्यो र त्यसले एक–अर्काको दुःख या अप्ठ्यारोमा सहयोगी बन्ने संस्कृतिको विकास गरेको थियो । एउटा दयालु, मायालु, निर्दोष र अचेल ‘अग्र्यानिक’ भनिने स्वाभाविक जीवनमा मानिस रमाएका थिए । त्यो समाजमा मानवीयताको मूल्य पैसाको भन्दा अतुलनीय रूपमै ज्यादा थियो । न्यायाधीश र न्यायालय थिएनन्, तर अन्याय कसैमाथि पनि हुन दिइँदैनथ्यो । प्रहरी थिएनन्, तर अपराध र अपराधी भेटिन मुस्किल पथ्र्यो । सञ्चारका साधन सीमित थिए, तर सीमित साधनमाथि असीमित विश्वास थियो । सडक र यातायातका साधनको सुविधा थिएन, गन्तव्यमा सुरक्षित पुगिने निश्चितता थियो ।

मानव सभ्यताको उच्चतम अवस्था मानिने शहरमा सामान्यतः मानिस विनयशील हुन्छन् । कसैको विशिष्ट क्षमता र प्रतिभाको शहरी सभ्यतामा उच्चतम कदर हुने गर्दछ । धन र सुविधाको उपभोग सबैले धेरथोर गरिरहने हुनाले पैसा या धनसम्पत्तिका आधारमा मात्र मानिसको मूल्याङ्कन सभ्य शहरमा हुँदैन । सबैको सबैका प्रति आदरभाव रहन्छ, कसैको निजी जीवनमा दखल दिने व्यवहार शहरमा हुँदैन । कसैको योगदानको उच्च मूल्याङ्कन गर्न शहर कञ्जुस्याइँ गर्दैन । आफ्ना कारणले अर्कालाई दुःख नपुगोस् भनेर सभ्य शहरका बासिन्दा सदैव सचेत रहन्छन् । धनको नभई प्रतिभा, प्रज्ञा र इमानदारीका आधारमा मानिसको मूल्याङ्कन हुने गर्दछ । समग्रमा सुविधा, शालीनता, मानवता र सभ्यताको एउटा उच्चतम पुञ्ज हो शहर । त्यसैले हरेक मानिसको र मानवसमाजको सुन्दर गन्तव्य ‘शहरीया’ र ‘शहर’ हुने गर्दछ ।

तर, गाउँ र शहरका बीचमा एउटा बेग्लै अवस्था पनि हुन्छ, न शहर न गाउँ । गाउँ फेरिएर शहर बन्न खोजेको तर शहर बनिनसकेको, शहरीया सुख, सुविधा देखेको, भोग्ने इच्छा पनि भएको तर आफ्नो परिवेशचाहिँ शुद्ध ग्रामीण नै रहेको, शहरीया सुख भोग्न खोज्ने, तर कमजोर साधन, शिक्षा र रोगी मानसिकताले छेक्ने एउटा जुन अवस्थामा समाज पुग्छ, त्यस्तो समाज र त्यहाँका बासिन्दा सर्वाधिक घातक हुन्छन् । उनीहरू हरेक कुराको समाधान धनमा देख्छन् । जसले सुख पाएका छन् तिनले धनका कारण पाएका हुन्, जो महान् बनेका छन् ती धनकै कारण बनेका हुन्, जो जे बनेका छन् ती सबै धनकै कारणले छन् भन्ने मानसिकता ‘न शहर न गाउँ’का बासिन्दाहरूमा हुने गर्दछ । पैसा भएपछि जेसुकै पाइन्छ र पद–प्रतिष्ठा पनि खरिद गर्न सकिन्छ भन्ने विश्वासले तिनलाई धनका लागि जेसुकै गर्ने मानसिक स्तरमा राखिदिन्छ ।

त्यो समाजमा मानवीयताको मूल्य पैसाको भन्दा अतुलनीय रूपमै ज्यादा थियो । न्यायाधीश र न्यायालय थिएनन्, तर अन्याय कसैमाथि पनि हुन दिइँदैनथ्यो । प्रहरी थिएनन्, तर अपराध र अपराधी भेटिन मुस्किल पथ्र्यो । सञ्चारका साधन सीमित थिए, तर सीमित साधनमाथि असीमित विश्वास थियो । सडक र यातायातका साधनको सुविधा थिएन, गन्तव्यमा सुरक्षित पुगिने निश्चितता थियो ।

यतिबेला नेपाल विकासको ठीक यही चरणमा छ । गाउँ छोड्ने र शहर खोज्ने प्रवृत्तिको आँधी आएको छ । त्यसैले पैसाका निम्ति पैसाद्वारा पैसाले काम गर्ने अवस्थामा नेपाली समाज छ । यस्तो अवस्थाको समाज कति घातक र खतरनाक हुन्छ त्यो हामी भोगिरहेका छौँ । समाजलाई यस्तो अवस्थामा पुऱ्याउन क–कसले कस्तो भूमिका निर्वाह गरे मूल्याङ्कनको यो बेग्लै पाटो हो । गाउँ फेरिएर शहर बन्ने क्रममा ‘यस्तो’ अवस्था भएर समाजले गुज्रनुपर्ने अवश्य हुन्छ, तर यो प्रक्रियामा स्वाभाविक ढङ्गले उत्पन्न हुने विकारभन्दा कैयन गुणा भद्दा विकृतिहरूको सामना हामीले यतिबेला गरिरहनुपरेको छ । यस किसिमको विकृतिपूर्ण अवस्थाका निम्ति यहाँका राजनीतिक एवम् प्रशासनिक अगुवाहरूलाई मूख्य दोषी मानियो भने त्यो गल्ती हुनेछैन ।

कुनै व्यक्ति मन्त्री, प्रधानमन्त्री, मूख्यसचिव, सचिव र संवैधानिक निकायका प्रमुखको जिम्मेवारी प्राप्त गर्दा पनि तिनले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेर धन आर्जन गर्न थाल्छन् भने यो सङ्क्रमणकालीन अवस्थाको समाज पैसालाई केन्द्रमा राखेर कार्य व्यवहार गर्न अग्रसर हुनु स्वाभाविक हो । जस्तो समाज त्यस्तै नेता र जस्ता नेता त्यस्तै जनताको नियति यतिबेला नेपालले भोग्नु परिरहेको छ । राजधानी काठमाडौं उपत्यकाको सभ्यता निकै पुरानो भए पनि यो एउटा सभ्य शहरमा रूपान्तरण हुन अझ असमर्थ छ । शहर भन्नाले ठूला भवन, फराकिला सडक, व्यस्त बजार र सवारीसाधनहरूको ताँती मात्र होइन । मान्छेको प्राज्ञिक एवम् बौद्धिक स्तरले निर्धारण गर्ने चैतन्य, शालीनता र मानवीयतासहितको समृद्ध जीवनस्तरले मात्र सभ्य शहरको पहिचान दिने हो, जुन स्तरमा पुग्न हामीले अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । किनेर खाने शहर र बेचेर खाने गाउँ हो भनियो भने त्यसलाई पनि सही मान्न सकिँदैन । बरु आत्मनिर्भर र उत्पादनशील मानिसको बस्ती गाउँ तथा दिएर बाँच्ने मानिसको बस्ती शहर हो भनियो भने उचित होला । ‘गाउँ’ हुन नचाहने र ‘शहर’ बन्न नसक्ने विद्यमान अवस्थाले नेपाली समाजलाई कहिलेसम्म केवल पैसा र पैसाकै वरिपरि घुमाइरहने हो, त्यसको अनुमान गर्न सकिँदैन ।

हो, हरेक मानिसमा सुखको चाहना हुन्छ । सुख भन्नाले सम्पूर्ण परिस्थिति आफूअनुकूल बनाउनु हो । ‘सु’ भनेको अनुकूल र ‘ख’ भनेको आकाश अर्थात् सम्पूर्ण विश्व हो र, सबै मानिस सिङ्गै विश्व आफ्नोअनुकूल बनाउने प्रतिस्पर्धामा जुटेका हुनाले पनि यो संसार ज्यादा जटिल र फोहोर हुन पुगेको हो । आफ्नो निजी सुख खोज्नेहरू एउटा तुच्छ पद, अलिकति नगद र सुविधासँग राष्ट्र साट्न तयार भइदिन्छन् । चन्द्रशेखर उपाध्याय दाहालले पद र सम्पत्तिसँग ‘देश’ साटेका (सुगौली सन्धि) थिए, वर्तमान राजनीतिक हर्ताकर्ताहरूले पनि सान, मान र दामका लागि सौदाबाजी गरेकै हुन् । धनभन्दा देश, धर्म, संस्कृति र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकता गौण ठान्नेहरू राज्यसत्ताका मूख्य मालिक बन्दा नागरिकसमेत तिनकै अनुकरण गर्न खोज्दै छन् । देशप्रेमी, इमानदार र दूरदर्शी मानिसका हातमा राज्यसत्ता नआएसम्म सायद नेपालले पैसामुखी विद्यमान हालतबाट मुक्ति पाउन सम्भव हुनेछैन ।