शरीफलाई थप उपचारका लागि अमेरिका लैजान सुझाव

शरीफलाई थप उपचारका लागि अमेरिका लैजान सुझाव


पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि अमेरिका लैजान उनको उपचारमा संलग्न चिकित्सकहरूले सुझाव दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहेका छन् ।

उनको उपचारमा रहेका चिकित्सकहरूले शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी गराएको हो ।

पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उद्धृत गरी द ट्रिबुनले लेखेको छ– ‘पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उहाँलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ । तर स्वास्थ्य अवस्थाका कारण पूर्वप्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौती रहेको छ ।’

‘पछिल्लो पोजिट्रन इमिसन टोमोग्रफी (पीइटी) स्कान रिपोर्टअनुसार उहाँको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उहाँको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन् ।’ प्रवक्ता म्यारियमको भनाई छ ।

तीन पटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ वर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकको उपचार सेवा लिइरहेका छन् ।