अमेरिका असन्तुष्ट बनेपछि रोकियो नेटोको ७०औँ वार्षिक सम्मेलन

अमेरिका असन्तुष्ट बनेपछि रोकियो नेटोको ७०औँ वार्षिक सम्मेलन


उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) गठनको ७०औँ वर्षगाँठका अवसरमा कोपेनहेगनमा हुनेगरी तय भएको सम्मेलनबारे डेनमार्कस्थित अमेरिकी राजदूतावासले असन्तुष्टि प्रकट गरेपछि सम्मेलन एक्कासी रद्द गरिएको छ ।

डेनमार्कको नेटोसम्बद्ध संस्था ‘डेनिस एट्लान्टिक ट्रिटी एसोसिएसन (डाटा)का सुरक्षा नीति विज्ञहरूका अनुसार वर्तमान अमेरिकी नीतिबारे सीआईएका पूर्वविश्लेषक राजनीतिशास्त्री स्टान्ले स्लोनको अमेरिकाप्रतिको आलोचनापछि डेनमार्कका लागि अमेरिकी राजदूत क्लारा सान्ड्सले सम्मेलनबारे असन्तुष्टि व्यक्त गरेकी हुन् ।

‘स्लोनले कहिल्यै पनि हाम्रो सम्मेलनमा गैरराजनीतिक तथा लक्षित भाषण दिने कुरा हामी कल्पना गर्न सक्दैनथ्यौँ । त्यसैले उहाँलाई वक्ताका रूपमा राख्यौँ तर पछि अमेरिकी राजदूतले सम्मेलनमा स्लोनलाई हटाउन आग्रह गर्नुभयो,’ डाटाका महासचिव लार्ज व्यङ्गर्ट स्ट्रुवेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्लोनलाई वक्ताबाट हटाइएपछि डाटाले सम्पूर्ण कार्यक्रम नै रद्द गर्ने निर्णय लिएको उनले जनाएका सिन्ह्वाले उल्लेख गरेको छ ।

फ्रेडेरिक्सवर्ग क्यासलमा आयोजना गर्ने गरी तय भएको सम्मेलन आगामी बुधबार शुरू हुने घोषणा गरिएको थियो । कार्यक्रम अमेरिकी सहकार्यमा डाटाद्वारा गरिएको थियो ।