महोत्तरीमा भेटिए तीन सय क्षयरोगी

महोत्तरीमा भेटिए तीन सय क्षयरोगी


महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३ सय ५ क्षयरोगका बिरामी फेला परेका छन् । ‘विराट नेपाल मेडिकल ट्रस्ट’ले महोत्तरीमा विगत दुई वर्षसम्म सञ्चालन गरेको (इम्प्याक्ट टीबी) परियोजनाअन्तर्गत उक्त अवधिमा ३ सय ५ क्षयरोगका बिरामी फेला परेका ट्रस्टले आइतबार आयोजना गरेको जिल्लास्तरीय समीक्षात्मक कार्यक्रममा जानकारी गराइएको छ ।

ट्रस्टले इम्प्याक्ट टीबी परियोजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरेर समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, सक्रिय रूपमा पत्ता लगाउने तथा उनीहरूलाई सही उपचार सेवा दिनाका साथै क्षयरोग रोकथामका लागि पनि थुप्रै प्रभावकारी क्रियाकलाप गरेको जानकारी दिएको छ ।

सन् २०१७ जुनदेखि २०१९ जुनभित्र यस परियोजनाले १० नगरपालिका र पाँच गाउँपालिकामा क्षयरोगका लागि ‘सक्रिय खोजपडताल कार्यक्रम’ (एसीएफ) गर्ने क्रममा क्षयरोगका बिरामीको पहिचान भएको, उनीहरूको निःशुल्क उपचार गरिएको र थप व्यक्तिमा रोकथामको समेत कार्यक्रम गरिएको जनाइएको छ ।