सबै नागरिकलाई समान कानुन : महान्यायाधिवक्ता

सबै नागरिकलाई समान कानुन : महान्यायाधिवक्ता


महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानुन नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आइतबार उदघाटन कार्यक्रममा खरेलले कानुनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए ।

गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरूसमेत प्रमाणका आधारमा कानुनी कारबाहीको दायरमा आइरहेको चर्चा गर्दै महान्याधिवक्ता खरेलले भने, ‘हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।’

उनले समाजमा अपराध नियन्त्रण र कानुनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए । उनले भने, ‘मान्छे पक्राउ पर्नासाथ छाडिदिनुप¥यो भनेर जनप्रतिनिधिहरू ठूला मान्छेकहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो ।’

पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानुनले दण्डनीय किटान गरिसकेको जनाउँदै महान्यायाधिवक्ता खरेलले छाउपडीमा जाने र पठाउने दुवैलाई कानुनबमोजिम कारबाही हुने जानकारी दिए । अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण महिलाहरूले ज्यानसमेत गुमाउनुपरेको दुःखद अवस्था विद्यमान भएको हुँदा सरकार अन्धविश्वासविरुद्ध कठोर रूपमा प्रस्तुत हुने उनको धारणा थियो ।
rss