पाँच हजारलाई भ्रमण वर्षलक्षित तालिम

पाँच हजारलाई भ्रमण वर्षलक्षित तालिम


नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटनलक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो ।

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारीचालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालिम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाइड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालिम प्रदान गर्न लागेको छ ।

यसैगरी ट्रेकिङ गाइड र माउन्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिलालक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन तालिम प्रदान गर्न लागेको हो ।

बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय संघसंस्थालाई समावेश गरेर पाँच हजार व्यक्तिलाई तालिम प्रदान गर्न लागिएको जानकारी दिए । ‘बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवर्धन गर्न तालिमका लागि रु. दुई करोड रकम विनियोजन गरेको छ, जुन भ्रमण वर्षका लागि अपुग रकम हो,’ प्रबन्धक घिमिरेले भने ।

बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवर्धनसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल भ्रमण वर्षलाई लक्षित गरी थप पाँच हजार व्यक्तिलाई पर्यटन प्रवर्धनसम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।
rss