कोलकता नाट्य महोत्सवमा मञ्चन हुँदै ‘करेसा कन्सर्ट’

कोलकता नाट्य महोत्सवमा मञ्चन हुँदै ‘करेसा कन्सर्ट’


भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँदैछ । ११ देशका १७ नाटकले सहभागिता जनाउने महोत्सवमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक छनोट भएको हो ।

थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयोजनमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरको प्रस्तुति रहने नाटक ‘करेसा कन्सर्ट’को वर्ल्ड प्रिमियर कोलकता अन्तर्राष्ट्रिय महोत्सवमा यही डिसेम्बर ११ (२५ मंसिर) साँझ ५ बजे हुँदैछ । नाटकमा राराहिल कीर्तिपुरकै विद्यार्थीहरु सहभागी छन् ।

‘कन्याश्री : लभ्ली डटर’ भन्ने मुख्य भावमा हुन लागेको यस नाट्य महोत्सवमा नेपाली नाटकमा समेत छात्रहरुलाई नै प्राथमिकता दिएर कास्टिङ गरिएको छ । नाटक ‘करेसा कन्सर्ट’मा आठ छात्रा र एक छात्रले अन्तर्राष्ट्रिय रंगमञ्चमा अभिनय गर्नेछन् ।

भारत सरकारको इस्टर्न जोनल कल्चरल सेन्टरको सहकार्यमा कोलकताको प्रतिष्ठित नाटक संस्था ‘एसो नाटक सिकी’को आयोजनामा डिसेम्बर १० देखि १३ सम्म कोलकताको साल्ट लेक सिटीस्थित पूर्वर्शी अडोटोरियममा महोत्सवको दोस्रो संस्करण हुन लागेको हो ।

नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुले नेपाली समाजको चित्रण गर्दै आफ्नो महत्व र विशेषतामाथि छलफल गर्दै निश्कर्ष निकालेको कथा बुनिएको छ । नेपाली रंगमञ्चमा बाल रंगमञ्च पनि स्थापित गर्न लागिरहेका रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । नाटकको कोरियोग्राफी अर्को रंगकर्मी सञ्जिता पराजुलीले गरेकी छिन् ।

नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनले अभिनय गरेका छन् । शंकर भण्डारी स्टेज म्यानेजर रहेको नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । नाट्य टोली कोलकता प्रस्थान गरिसकेको छ ।

तस्बिर : शक्ति पाख्रिन, थिएटर मल