महिला क्रिकेट : नेपाललाई कास्य

महिला क्रिकेट : नेपाललाई कास्य


१३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपालले काँस्य पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा मंसिर २१ गते शनिबार तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मालदिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको मालदिम्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो । मालदिभ्सको ब्याटिङमा ऐमा ऐसाथले १ रन जोडिन् । मालदिभ्सका बाँकि सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ७ रन दिएको थियो ।

नेपालको तर्फबाट अंजली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, सीता रानामगर र रुबिना क्षेत्रीले समान दुई दुई विकेट लिए । सुमन खतिवडा र करुणा भण्डारीले पनि एक एक विकेट बाँडे ।

जितका लागि ९ रनको लक्ष्य पछ्याएको नेपालले विनाविकेट नोक्सानीमा १.१ ओभरमा जित हाँसिल गरेको हो । नेपालको व्याटिङमा रोमा थापाले अविजित ४ तथा काजोल श्रेष्ठले अविजित २ रन बनाए ।
खेलमा ४ विकेट लिन सफल नेपाली बलर अंजली चन्द प्लेयर अफ द म्याच भइन् । नेपाल लोकतान्त्रिक खेलकुद महसंघका अध्यक्ष देवेन्द्र शेरचनले पुरस्कार प्रदान गरेका थिए ।

जित पछि प्रतिक्रिया दिंदै नेपाली प्रशिक्षक जगतबहादुर टमटाले समग्रमा प्रतियोगिताभर नेपालले चित्त बुझ्दो प्रदर्शनी गरेको बताए । बंगलादेश, श्रीलंका जस्ता टेष्ट राष्ट्रहरुसंग समेत नेपालले बराबरीको प्रतिस्पर्धा गर्न सफल भएको उनले दाबी गरे । लक्ष्य स्वर्ण नै भएको तर कास्य पदकमा चित्त बुझाए पनि खेलाडीहरुले संयमित र अनुशासितपूर्वक खेल प्रदर्शन गरेकोमा टमटाले खुशी व्यक्त गरे ।

मालदिभ्सका कप्तान जुना मारियमले यहि प्रतियोगिताबाट मालदिभ्सले अन्र्तराष्ट्रिय डेब्यु गरेको बताउँदै आफुहरुका लागि यो राम्रो अनुभव भएको बताइन् । प्रतियोगिताअन्तर्गत आज (२२ मंसिर) बंगलादेश र श्रीलंकाविच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।