इरान र अमेरिकाद्वारा एकअर्काका बन्धक मुक्त

इरान र अमेरिकाद्वारा एकअर्काका बन्धक मुक्त


संयुक्तराज्य अमेरिकामा गिरफ्तार गरिएका एक इरानी वैज्ञानिक तथा इरानले पक्राउ गरेका एक अमेरिकी अनुसन्धाता मुक्त भएका छन् । दुबै देशबीचको तनाव चरम स्थितिमा पुगे पनि दुबै देशले एकअर्का मुलुकका नागरिकलाई मुक्त गरिएको बताएका छन् ।

इरान सरकारले अमेरिकाले आफ्ना नागरिक एवं वैज्ञानिक मसुद सोलेमानीलाई मुक्त गरेलगत्तै इरानमा गिरफ्तार गरिएका अमेरिकी अनुसन्धाता झियू वाङलाई मुक्त गरिएको जनाएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै प्राध्यापक मसुद र झियू दुवै मुक्त भएकामा खुशी लागेको बताए । इरानी सरकारी समाचार संस्था इर्नाले मसुदलाई अमेरिकाले एक वर्षको गैरकानुनी नजरबन्द पुग्नै लाग्दा छाडेको जनाएको छ । ती इरानी प्राध्यापकलाई स्वीट्जरल्याण्डमा इरानी अधिकारीहरु समक्ष हस्तान्तरण गरिएको थियो ।

वासिङ्टनबाट जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षसम्म इरानमा बन्धक बनाइएका झियू मुक्त भएका र उनी स्वदेश फर्कन लागेका जनाएका थिए । चीनमा जन्मेका अमेरिकी नागरिक झियूमाथि इरानमा जासूसी गरेको आरोपमा १० वर्षको जेल सजाय तोकिएको थियो ।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक झियू इरानी कजार वंश परम्पराको अनुसन्धानका क्रममा सन् २०१६ मा पक्राउ परेका थिए । सोलेमान पनि तेहरानस्थित तारबाइट मोडेरस विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ट स्टेम सेल अनुसन्धाता हन् । उनी सन् २०१८ मा अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए ।

संयुक्त राज्य अमेरिका र इरानबीच सन् १९८० देखि मात्र कुटनीतिक सम्बन्ध स्थापना भएको हो । दुबै मुलुकबीच सन् २०१८ देखि सम्बन्ध निकै चिसिएको छ । अमेरिकाले इरानी आणविक कार्यक्रम बन्द गराउन दबाब दिँदै इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगाएको छ ।