पुरुषहरूको लागि गर्भनिरोधक इन्जेक्सन तयार

पुरुषहरूको लागि गर्भनिरोधक इन्जेक्सन तयार


जब जन्मनिरोधक विधि प्रयोगको कुरा आउँछ, जहिले पनि यसको जिम्मेवारी महिलाको हो भन्ने ठानिन्छ । तर, अब गर्भनिरोध कार्यमा पुरुषले पनि बराबर हिस्सा निर्वाह गर्न सक्ने अवस्था पैदा भएको छ । अर्थात्, अब पुरुषहरूले पनि गर्भनिरोधमा समान दायित्व वहन गर्न सक्ने भएका छन् ।

भारत र चीनजस्ता मुलुकहरू विश्वका यस्ता देश हुन् जहाँ जनसङ्ख्याको निरन्तर वृद्धि भइरहेको छ । जनसङ्ख्यामा असामान्य वृद्धि यी देशहरूको लागि प्रमुख चिन्ताकै विषय बनिरहेको छ । जनसङ्ख्या कसरी नियन्त्रण गर्ने भन्नेमा यी मुलुकहरूले विभिन्न उपायहरू अवलम्बन गर्दै आए पनि प्रभावकारी नतिजा निस्कन सकेको छैन । त्यसो त यो समस्या भारत र चीनको मात्र नभई विश्वका अन्य कैयन मुलुकमा पनि रहँदै आएको छ र नियन्त्रणको प्रभावकारी विकल्पको खोजी पनि हुँदै आएको पाइन्छ ।

यसैबीच संसारकै पहिलो ‘पुरुष गर्भनिरोधक इन्जेक्सन’ तयार गरिएको समाचार आएको छ । विशेष कुरा के हो भने यी इन्जेक्सनहरू क्लिनिकल्ली रूपमा भारतमा प्रमाणित भइसकेका छन् र मार्केटमा आगामी ६ महिनाभित्र उपलब्ध हुन सक्छन् । घना जनसङ्ख्या रहेका मुलुकका लागि यो महत्वपूर्ण कुरा हो । यो गर्भनिरोधक इन्जेक्सन पुरुषहरूलाई दिइन्छ, जसले स्पम (शुक्राणु)लाई रोक्दछ र निषेचनको क्रममा अण्डकोषलाई बाहिर आउनबाट रोक्दछ । सम्बन्धित वैज्ञानिकहरूका अनुसार एकपटक यो इन्जेक्सन लगाएपछि यसले १३ वर्षसम्म प्रभावकारी रूपमा काम गर्नेछ ।

भारतीय मेडिकल रिसर्च (आईसीएमआर) का वैज्ञानिकहरूले तयार पारेको यो इन्जेक्सनले अब पुरुषहरूमा गर्भनिरोधक क्षमता बढाउन सहयोग पु¥याउनेछ । यस पुरुष–गर्भनिरोधक इन्जेक्सनको तीन चरणमा क्लिनिकल परीक्षण गरिएको थियो, जुन पूर्ण रूपमा सफल भयो । वैज्ञानिकहरूको दाबीअनुसार क्लिनिकल परीक्षणअन्तर्गत तीन सय बिरामीहरूमा परीक्षण गरिएको थियो र सबै परीक्षण सफल भएको छ ।

क्लिनिकल परीक्षणअन्तर्गत ज–जसलाई इन्जेक्सन दिइएको थियो तीमध्ये कसैमा पनि कुनै साइड इफेक्ट नदेखिएबाट अनुसन्धानकर्ताहरू सन्तुष्ट र खुशी भएका छन् । एकपटक इन्जेक्सन लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुनेछ । यसको सक्सेस रेट ९७ प्रतिशत रहेको अनुसन्धानकर्ताहरूको दाबी छ । यो इन्जेक्सन पुरुषको पेट र तिघ्राको बीच भाग (groin) मा लगाइन्छ । यसपछि फर्टिलाइजेसनको प्रत्येक समयमा यसले अण्ड निषेचनलाई रोक्ने काम गर्नेछ ।

हाल यस इन्जेक्सनले भारतीय नियामक निकायबाट अनुमोदनको लागि पर्खिरहेको छ, जसका लागि ६–७ महिना लाग्न सक्ने बताइएको छ । प्रक्रिया पूर्ण भएपछि यो बजारमा उपलब्ध हुनेछ । यसपछि, भारतलगायतका मुलुकमा गर्भनिरोधका लागि जन्मनियन्त्रण इन्जेक्सन उत्तम विकल्पको रूपमा स्थापित हुने अपेक्षा लिइएको छ ।

यो त इन्जेक्सनको कुरा भयो, सँगसँगै पुरुषहरूको लागि जन्म नियन्त्रण चक्की निर्माणको कार्य पनि जारी रहेको छ । तर, यो काम पूरा हुनचाहिँ लगभग १० वर्ष लाग्न सक्ने बताइन्छ । ११–बिटा–एमएनटीडीसी नाम दिइएको गर्भनिरोधक चक्की निर्माणले पूर्णता पाएपछि यसलाई पुरुषले दिनमा एक चक्की खानुपर्ने हुन्छ । यसको परीक्षण मुसा र मानिस दुवैमा सफल भइसकेको छ ।

सामान्यतया महिला पार्टनर गर्भनिरोधात्मक उपायहरू अवलम्बन गर्न बाध्य भएकोमा अब पुरुषले यसरी आफूलाई सेफ राख्न सक्नेछ । कन्डम प्रयोग गर्न नचाहनेका लागि यो निकै उपयोगी हुनेछ । एक सर्वेक्षणअनुसार एकतिहाई पुरुष–गर्भनिरोधक गोली लिन तयार हुनेछन् । गर्भनिरोधक चक्कीहरूको सेवन गर्ने महिला समयमा मिन्स नहुने र डिप्रेसनमा पर्नेजस्ता विभिन्न गम्भीर समस्याको जोखिममा थिए, अब यसबाट उनीहरूलाई मुक्ति मिल्नेछ ।