शिक्षाको ढाँचाले उब्जाएको सवाल

शिक्षाको ढाँचाले उब्जाएको सवाल


■ डा. युवराज सङ्ग्रौला

नेपालमा ज्ञानको अभाव धेरै छ भन्ने प्रमाणित भइसक्यो । राज्ययन्त्र, राजनीति, अर्थव्यवस्था, विकास योजना आदि सबै तदर्थवाद, अनुमान वा अनुकरणबाटै निर्देशित छन् । शिक्षाको अवस्था दयनीय छ । यो सापेक्षित पनि छैन, सान्दर्भिक पनि छैन र राष्ट्रको हितमा पनि छैन । नेपालको शिक्षाले कतिपय प्रश्नको उत्तर दिन नसकेको मात्र होइन, यसले नेपाली राष्ट्रियताको सांस्कृतिक आधार सिर्जना गर्न नसकेको मात्र होइन, बरु भत्काएको छ । प्रोपोगन्डा गर्ने र आत्मरतिमा देशको निर्माण गर्नेहरूको उत्पादन पनि गरेको छ, र फोहोरलाई फोहोर छ्यापेरै समाधान खोज्नेको सङ्ख्या पनि थोरै छैन । केही गम्भीर प्रश्नहरूले शिक्षाको ढाँचाभित्र उत्तर खोजेका छन् ।

१. नेपालको परम्परागत संस्कृति र सभ्यताभित्र थुप्रै अन्धविश्वास र विज्ञानविरोधी प्रचलन छन् । धार्मिक स्थिरतावाद र कट्टरतावाद पनि चुनौतीका रूपमा छन् । तैपनि पूर्वीय सभ्यतामा नवीनता ग्रहणशक्ति अधिक छ । अहिले नेपाल छिङ वंशको अन्तिम र गणतन्त्र स्थपनाको बेलाको अवस्थामा उभिएको छ, जतिबेला चीनमा सामाजिक सुधार भनेको पश्चिमी सभ्यताको अनुकरण गर्नु हो भन्ने बुझिन्थ्यो । तर, चीनमा त्यहाँका देशभक्त बौद्धिकहरूले संस्कृतिमा पश्चिमीकरणको विरोध गर्दै एउटा नयाँ सिद्धान्त अगाडि सारे, जसलाई ‘थी–योङ’ अर्थात् ‘संस्कृति चिनियाँ र विज्ञान र प्रविधि पश्चिमी’ भन्ने अभियान निर्माण गरे । हाम्रो सोच के हो ? हामीसँग जिरो सोचको अवस्था छ । हामीले समाजले अँगालेको कट्टरतावादलाई त्याग्न पनि सकेनौँ र आधुनिकताका नाममा पश्चिमीकरणका दास हुन पनि सकेनौँ । यो हाम्रो शिक्षाले सिर्जना गरेको अल्पज्ञानको परिणाम हो, जो खतरनाक छ ।

२. नेपालमा मनुवादको कुरा गर्ने थुप्रै टाटेपाटे छन् । यथार्थमा अहिलेको युग आदिम धार्मिक ग्रन्थबाट निर्देशित पनि हुन सक्तैन । तर, यसको समाधान ‘कृश्चियन्डम’ अर्थात् संसारको आधुनिकता सबैलाई क्रिस्चियन बनाएपछि प्राप्त हुन्छ भन्ने उपनिवेशी एवम् सांस्कृतिक साम्राज्यवादको धोती ओडेर पनि हुन्न । १५औँ शताब्दीको ‘गैरक्रिश्चियन अफ्रिकी, एसियायी तथा दक्षिण अमेरिकी स्ववासी आदिवासी मानिसलाई शासन गर्ने अधिकार युरोपेली सेता राष्ट्रलाई छ’ भन्ने क्रिस्चियनडमको सिद्धान्तले ‘युरोपेलीहरू आइपुगेका भूमिमा कब्जा गर्ने र सार्वभौमिकता कायम गर्ने अधिकार छ’ भन्ने मान्यतालाई ‘युरोपेली सेता शक्तिको साझा कानुन मान्यो । त्यसकै आधारमा अफ्रिकामा बेलायत, फ्रान्स, बेल्जियम, जर्मनी, पोर्चुगिज आदिले लाखौँ मानिसको हत्या गरे । उनीहरूका धर्म ध्वस्त पारे । अमेरिकामा बेलायत, फ्रान्स, स्पेन र पोर्चुगिजले लाखौँ जनजाति आदिवासीको हत्या गरे ।

३. कोलोम्बसले अमेरिकी आदिवासीलाई दास बनायो । गोरा आप्रवासीले आदिवासीका जमिनमा अधिकार कायम गरे । उनीहरूले विरोध गर्दा क्रिश्चियनडम साम्राज्यको कानुन उल्लङ्घन गरेको भनी उनीहरूलाई मारी सभ्यता स्थापित गर्ने अधिकार छ भनी निःसङ्कोच आमहत्या गरे । करिब २ करोड मानिस मारे । यो कथित युरोपेली सेतो अहङ्कारवाद मनुवादको उपचार हो भन्ने टाटेपाटेहरूको राजनीति र राज्ययन्त्रमाथिको प्रभाव आजको नेपाली संस्कृतिको चुनौती हो ।

४. चिनियाँ बौद्धिकहरूको भनाइ छ– इतिहासमा फोहोर मात्र छैन । यसभित्र डङ्गुर सामन्तवाद र अन्धविश्वास छ । तर, यसले अत्यन्त धेरै बुद्धि पनि निर्माण गरेको छ । यसले कैयौँ प्रगतिशील सामाजिक र राजनीति सिद्धान्त पनि विकास गरेको छ । तर, हाम्रा स्कुलहरूमा क्रिश्चियनडमका सिद्धान्त मात्र पढाइ हुन्छन्, जसले पश्चिमलाई शासन गर्ने र अरूले शासित हुनुपर्ने सूक्ष्म मनोविज्ञान निर्माण गर्छ । पश्चिमी संस्थाहरू अहिले नेपालजस्ता देशमा बसेर यही क्रिश्चियनडमको साम्राज्यवादी चेतना निर्माण गरिरहेका छन् ।

५. यसको हेक्का हाम्रा अल्पज्ञानी राजनीतिक नेता, देश जोगाउने आन्दोलनकारी र विदेश पलायन भएर देश बिग्रेको देख्ने देशमा बसेर उत्पादन गर्न नचाहने केही आडम्बरीमा छैन (विदेशी भनेर यहाँ श्रम स्वीकृति लिएर गएका देश फर्किनेलाई भनेको होइन युरोप र अमेरिका स्वर्ग हो भनेर जानेलाई भनिएको हो, त्यो पनि पढ्न गएका देश फर्किनेलाई भनेको होइन, अमेरिका बसेर आमाबाबुलाई तेल भिसामा लानेलाई मात्र भनिएको हो) ।

६. एसिया अहिले गोरो अहङ्कारवादको चपेटामा छ । चीन, भारत र अन्य यसियायी भूभागको विकास यसको क्रिश्चियनडम सिद्धान्तका लागि चुनौती बनेको छ । त्यसैले ऊ एसियाको सांस्कृतिक पुनर्निर्माण र पुनर्उत्थानको विरुद्धमा सक्रिय छ । यसले भारतमा हिन्दुत्वको उत्थान हुँदै गरेको त चीन उपनिवेश बन्दै गरेको एवम् अरब आतङ्कवादी बनेको आरोप लगाउँछ । ऊ पैसा लिएर गैरसरकारी संस्था प्रयोग गरेर हाम्रो दिमाग भुट्दै छ, हामीले संसद्मा त्यस्ता मानिस पठाएका छौँ जो हामीलाई अमेरिका लगिदिनुहोस्, हामीसँग पैसा छैन, हामीलाई गाडी छैन भनेर विदेशीका अगाडि रुन्छन् ।

यी सबै समस्याको समाधान हाम्रो सिर्जनात्मकतायुक्त चेतमा छ, अतः –

१. पलायनका विरुद्ध उभिऔँ, देशमा काम गरौँ, कमाउन गएकाले कमाएर ल्याई उत्पादनमूलक क्षेत्रमा लगाऊँ ।
२. राष्ट्रिय संस्कृतिको निर्माण गर्न इतिहासको विश्लेषण गरौँ र चिनियाँ मोहिस्टहरूले भनेझैँ समाजलाई सुसङ्गठित गर्ने प्रचलनलाई जोगाऊँ र अन्धविश्वासलाई फ्याँकौँ ।
३. राजनीतिमा अल्पज्ञानी र आडम्बरीहरूलाई चुनौती दिऊँ ।
४. लोकतन्त्रको सापेक्षित सिद्धान्तको खोजी गरौँ, अपराधीकरण र माफियातन्त्रले ग्रस्त उदारवादको कोट फ्याँकौँ ।
५. शिक्षालाई उत्पादनको लागि आवश्यक विज्ञान र प्रविधिको माध्यम बनाऊँ ।