मरेको मानिस ४२ वर्षपश्चात् फर्किएपछि…

(२० वर्षअघिको घटना र विचार साप्ताहिक)

‘ऊ’ मरिसक्यो भनेर काजकिरिया गरिसकेको केही हप्तापछि ऊ फर्कियो । घर पुग्नै लाग्दा परैबाट उसले देख्यो श्रीमती त सेतो साडीमा बेरिएकी छ । आफ्नै आँखाले आफ्नी प्यारी श्रीमतीलाई विधुवाका रूपमा देखेपछि ऊ असमाञ्जस्यमा पर्नु स्वाभाविक थियो । अन्योलकै मनस्थितिमा उसले निर्णय लियो ‘म अब घर जान्नँ ।’

घरको आँगनछेउबाटै त्यसपछि उमानाथ गर्तौला फर्किए । उनी कहाँ गए कसैलाई थाहा भएन, तर उनको परिवारलाई भने उमानाथ मरिसके भन्ने पूर्ण विश्वास थियो । घटना २००५ सालको हो, धादिङ जिल्ला गोगनपानी गाविस, मान्खु डाँडाथोकको उमानाथ गर्तौला गोसाइँकुण्ड गएका थिए । गाउँलेहरूसँगै गोसाइँकुण्ड गएका उमानाथ बाटोमा बिरामी भएपछि धर्म गर्न गोसाइँकुण्ड हिँडेका साथीहरूले बिरामीलाई बाटैमा छोडिदिएका थिए ।

६ महिनासम्म घर नफर्किएपछि उमानाथ मरिसकेको भनेर उनको काजकिरिया गरियो । वर्ष दिनपछि बर्खान्त गरियो र हरेक वर्ष विधिविधान पु¥याएर श्राद्ध गरियो । उमानाथकी श्रीमतीले यौवनावस्थामै विधवा हुने पीडा भोगिन्, तर अर्को विवाह भने गरिनन् । हरेक वर्ष उमानाथका नाममा पिण्ड चढाइयो र दुई वर्ष पाँच वर्ष, दश वर्ष, बीस वर्ष र ४२ वर्षसम्म पनि श्राद्ध गर्ने, पिण्ड चढाउने क्रम चलिरह्यो । श्रीमान् मरेको ठानेको ४२ वर्षपछि एक दिन ०४६ साल चैतमा एउटा साधु भिक्षा माग्दै गाउँमा आयो । साधुलाई गाउँलेहरूले उमानाथ जस्तै ठाने । उमानाथ नै हो भन्ठानेर गाउँलेहरूले उसलाई बुढीसमक्ष लगे । बुढीले राम्रोसँग नियालेर ठम्याइन्, ऊ उमानाथ नै हो । ५ सालमै मरिसकेको ठानेर विधवा भई बसेकी महिलाले ४२ वर्षपछि आफ्नो श्रीमान्लाई जिउँदो भेट्नु कम रोमाञ्चक घटना थिएन । चामल माग्दै झोली बोकेर हिँडेको अवस्थामा उमानाथ भेटिनु श्रीमतीका लागि अत्यन्त पीडादायी घटना पनि थियो । त्यस्तो पीडा जसमा नपत्याएको र नसोचेको खुशी सम्मिलित थियो ।
त्यसपछि उमानाथ गर्तौला आफ्नै गाउँमा बसे । उनी ५ सालमा हराउँदा श्रीमतीको काखमा दूधमुखे बालिका थिई । र, उनी फर्कंदा त्यो बालिका ठूली मात्र भएकी थिइनँ, ज्वाइँ, छोरा, नाति र पनातिसमेत उमानाथका जन्मिइसकेका थिए । उमानाथका कुनै छोरा थिएनन् त्यसैले ज्वाइँचाहिँ घरज्वाइँ भएर बसेका थिए ।

ज्वाइँसँगको मुद्दा : घरज्वाइँ भुवानीप्रसाद रूपाखेती सबै सम्पत्तिको स्वाभाविक मालिक बनिसकेका थिए । उनकै नाममा प्रायः सबै कुरा थियो । ससुरा उमानाथ र ज्वाइँ भुवानबीच सम्पत्तिको विषयमा समझदारी हुन सकेन र झगडा बढ्दै गएर अदालतसम्म पुग्यो । पुनरावेदन अदालत पाटनले ०५१ माघ २० गते गरेको फैसलाअनुसार ज्वाइँ भुवानीले १६ रोपनी जग्गा ससुरालाई सुम्पिए । जग्गा त ज्वाइँले दिए, तर सोही जग्गामा रहेको घर भने केही समयपछि आएर भत्काएर लान खोजे । उनको तर्क छ जग्गा दिए पनि घर दिएको होइन । पुनः यसरी विवाद चर्किएपछि अहिले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

वर्षौं वर्षपछि भेटिएका बाबु र छोरी, ज्वाइँ तथा नाति, पनातिहरूबीच सुमधुर सम्बन्ध रहन सक्नुपर्नेमा दुर्भाग्य त्यस्तो हुन सकेन । अहिले त झन् बूढा उमानाथले आफूलाई असुरक्षितसमेत महसूस गर्न पुगे । हालै उनले प्रहरी थानामा जीउधनको सुरक्षाको लागि निवेदन दिएका छन् । उमानाथले प्रहरीसमक्ष छोरी पवित्रा, ज्वाइँ भुवानी, नाति पुरुषोत्तम, श्यामप्रसाद, नातिनी बुहारी कल्पना, गोकर्ण रूपाखेती र बद्रीप्रसाद रूपाखेतीको नाम उल्लेख गरी निवेदन दिएका छन् । आफ्नै आफ्नाहरूबाट असुरक्षित भएको ठान्ने उमानाथ र उनका यी सन्तानहरूबीचको झगडा कसरी टुङ्गिएला अहिले निश्चित भएको छैन ।

यता ज्वाइँ भुवानीप्रसाद रूपाखेती भन्छन्, ‘यो मान्छे ससुरा नै हो भनी कसरी पत्याउने ?’




(घटना र विचार साप्ताहिक, १७ माघ ०५२)

प्रतिक्रिया