च्याँखे धर्नामा दलहरू !

च्याँखे धर्नामा दलहरू !


■ स्वयम्भूनाथ कार्की

चार जुवाडे चार दाउ लिएर बसेका हुन्छन् जुवामा । मुख्य खेलाडीभन्दा च्याँखे थाप्ने धेरै हुन्छन् अरे । अपेक्षाकृत रूपमा मुल जुवाडेभन्दा च्याँखे थाप्नेहरूलाई कम जोखिममा जित्ने सम्भावना वेसी हुन्छ भनिन्छ । अब त सोह्र कौडा हान्ने जुवा दुर्लभ नै भएको छ । तास या यस्तै अन्य प्रकारको जुवामा च्याँखेहरूको कुनै स्थान हुन्न भनिन्छ । तैपनि केटाकेटी छँदा यमपञ्चकमा मार्रा, चौका, तिया, पञ्जा, छक्काजस्ता शब्द सुनेको याद भने आउँछ । अब यी शब्दहरू नै हुन वा कुनै शव्द बेग्लै सुनियो त्यो भने जाँच्ने उपाय मसँग अहिले छैन ।

जुवामा कौडा हान्नेको दाउ लाग्यो भने मार्रा भनेर सबै सोहर्थे अरे, दाउवालाको बाजी अनि च्याँखे थापिएको पैसा पनि । नत्र जुन दाउ आयो त्यसको बाजी र च्याँखेलाई तिर्थे अरे । अर्थात् च्याँखे थाप्नेलाई पैसा आउने एकचौथाइ सम्भावना जाने एकचौथाइ सम्भावना । पैसा जस्ताको तस्तै रहने आधा सम्भावना, अर्थात् हार्ने एकचौथाइ सम्भावना । आजभोलिका निर्वाचन पनि घेरै दलहरूको निमित्त यस्तै च्याँखे धर्ना हुन् । केही पहिलेका निर्वाचनसम्म चारै दाउका खेलाडी दलहरू थिए । अब त केवल २ दाउका खेलाडी दलहरू रहेका छन् । बाँकी दुई दल पनि खेलाडीभन्दा च्याँखे धर्ना दिनेमा परिणत भएका छन् ।

कतै च्याँखे लागिहाल्यो भने सत्ताधारीलाई दुईतिहाइ दिने लोभ दिएर मन्त्री, उपप्रधानमन्त्री पड्काइहाल्यो नत्र भने जे छ त्यो छँदै छ । अझ अलि राम्रो मत आएर हारियो भने पनि पार्टी प्रवेश गरेर मन्त्री पदको सुविधा लियो भइगयो । निर्वाचन हारेर कुनै फरक पर्नेवाला नै छैन किनभने समानुपातिक त दलका नेताहरूको पेवा हुँदै हो । सिद्धान्ततः प्रतिनिधित्व सुनिश्चित नहुने वर्गलाई मूलधारमा सामेल गर्ने नाममा राखिएको समानुपातिक प्रणाली नेताहरूको कमाइको मेलो भएको छ । अब कमाइ भन्नेबित्तिकै धनको मात्र कमाइ भन्ने बुझिन भने हुन्न । राजनीतिक कमाइ, सत्तामा टिक्ने तिकडम आदि सबै कमाइअन्तर्गत नै पर्दछन् । त्यसमाथि दलको लेभी त वैधानिक कमाइ नै भै गयो ।

गणतन्त्रको कुरा आउन थालेदेखि नै एक प्रकारका राजनीतिक प्राणीहरू दोधारे मनले कहिले जुट्ने कहिले फुट्ने गरेर च्याँखेमा धर्ना बसेका छन् । सारालाई गणतन्त्रको विरोधीको छाप दिएर पनि सत्ताको निमित्त राजसंस्था या गणतन्त्रलाई अधिवेशनले टुङ्ग्याउने भनेर बसेका छन् । राजतन्त्र प्रति आस्थावानहरूले पछिल्ला निर्वाचनमा एक दाउको खेलाडी नै बनाए । तर, स्वभावले नै यी खेलाडी थिएनन् च्याँखे धर्ना दिने थिए, त्यही भयो । अब उनीहरूलाई खेलाडी भनेर पत्याउन छोडियो । तैपनि अनौपचारिक रूपले आफूलाई राजसंस्था पक्षधर त भन्छन् तर औपचारिक रूपले कसै गरेर पनि यो कुरा स्वीकार गर्दैनन् । अब औपचारिक रूपमा आफूलाई जे हो त्यो प्रकट नगरेसम्म यिनीहरू चमेरा नै भइराख्ने हुन् । पशु भएतिर आउँदा यो त पन्छी हो भनेर खेदाइमा पर्छन्, पन्छीतिर आउँदा यो त पशु हो भनेर । त्यसैले यी लुप्तप्रायः प्रजाति हुन् ।

सामाजिक कुरा उठाएर सामाजिक प्रतिष्ठा कायम गर्न सकेको समूह विवेकशील नामले राजनीतिमा च्याँखे थाप्न आयो । आफ्नो नेता बनाउन बिगार्न सक्ने क्षमता चिनेन र नेता हुन आयो । राजनीतिको कोलमा पेलिएर तेल त निक्लेन फोस्रो पिना भयो । त्यसैबेला सुटटाई, आधुनिक फेसन अनि प्रशासनिक दक्षताले राजनीति चल्छ भन्दै साझा पार्टी आयो । घुँडासम्म हिलो हुने मतदाताले सुटेडबुटेड उम्मेदवार रोज्लान् भन्ने करा भ्रम हो भन्नेलाई विदेशी नेताहरूको नाम लिँदै सीधै नकार्दै आएको साझा पनि चिताङ्ग भयो । अनि बन्यो विवेकशील साझा । दुई अलग सोच र धरातलबाट आएका सङ्गठन एक हुन सक्छन् भन्ने सोच नै गलत थियो । त्यहीअनुसार भयो । दीप स्थाने दीप पिण्ड स्थाने पिण्ड ।

तर, हालैको उपचुनावको हार भने सुटेडबुटेड पार्टीले पचाउन सकेन । अहिले धक फुकाएर मतदातालाई गाली गर्दै छ । मतदातालाई धम्कीले होइन रिझएर आफ्नो बनाउने हो भन्ने पनि थाहा नभएका यी राप्रपा र साझा भन्ने दलहरूले यही तरिका नै ठीक हो भनेर आफूलाई नबदल्ने हो भने मतले तीन अङ्क छुन पनि कठिन पर्छ त्यो अवस्थामा च्याँखे धर्ना दिन लायक पनि हुन्नन् । बुझे ठीक नबुझे भिरबाट लड्ने…. लाई राम भन्ने हो काँध कसैले थाप्दैन ।