कालीपूर्वको भूभाग नेपालकै : देउवा

कालीपूर्वको भूभाग नेपालकै : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल पे्रस युनियन नवलपुर शाखाले शुक्रबार आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्तव्य दिने क्रममा उनले कालीपूर्वको कालापानीसहितको भूभाग नेपालको भएको दाबी गरेका हुन् ।

महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको उल्लेख गर्दै देउवाले यसको पूर्वको भूभाग नेपालको भएकोे बताए । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरेको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उनको जिकिर थियो ।

सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने गरिएको नदी नै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हँुदा यस पूर्वको भाग नेपालको भएको प्रष्ट्याए ।

भारतले नक्सा छापेर कालापानी आफ्नो भनेकामा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्नेमा जोड दिँदै उनले आफूहरू सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए ।

सो अवसरमा सभापति देउवाद्वारा पत्रकार किशोर नेपाललाई सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको २५ हजार नगद र ताम्रपत्रसहितको सो पुरस्कार यस वर्ष नेपाललाई प्रदान गरिएको हो ।

pict:rss