आफैं यात्रा गरेको अनुभूति गराउने ‘नियात्रा’

आफैं यात्रा गरेको अनुभूति गराउने ‘नियात्रा’


यात्रा–साहित्यमा प्रशस्त पुस्तक प्रकाशनमा आइसकेका छन् । यीमध्ये कुनै केवल लेखक बन्ने लहडमा लेखिएजस्ता लाग्छन् त कुनैचाहिँ नयाँ स्थानबारे जानकारी गराउने सद्उद्देश्यबाट प्रेरित भएर लेखिएका प्रतीत हुन्छन् । उद्देश्य जे भए पनि लेखन–कला र साहित्यको कोणबाट समेत ओजिलो–गहकिलो कृतिको महत्व साहित्य–अनुरागीसमक्ष विशेष हुने गर्छ । जुन विधामा लेखे पनि साहित्यिक दृष्टिले उन्नत कृतिको आफ्नै महत्व हुन्छ । यस्तोमा विभिन्न देश–देशावरबारे महत्वपूर्ण र रोमाञ्चक जानकारी पनि दिने अनि साहित्यको मिठास पनि प्राप्त हुने कृति सिर्जना गरिन्छ भने त्यो अत्यन्त प्रशंसनीय ठहरिन्छ । हो, यस्तै प्रशंसालायक साहित्य–कृति प्रकाशित भएको छ, ‘नियात्रा’ नाममा ।

पेशाले इञ्जिनियर रहेका गणेश वस्तीको नयाँ कृति ‘नियात्रा’मा विश्वका विकसित एवम् महत्वपूर्ण पाँच वटा मुलुकको भ्रमणका क्रममा देखिएका, भेटिएका र अनुभूत गरिएका स्थान, पात्र र परिवेशको यथार्थपरक ६ वटा यात्रा–निवन्ध समेटिएका छन् । ‘नेदरल्याण्ड जाने सौभाग्य’, ‘बेल्जियमको यात्रा’, ‘अमेरिका यस्तो’, ‘पुनः अमेरिका’, ‘चीनको अनुभव’ र ‘जापानलाई नियाल्दा’ उक्त नियात्रा सङ्ग्रहभित्र सङ्ग्रहित शीर्षकहरू हुन् ।

यसअघि आफ्नो पेशासम्बन्धी विषय–वस्तुमा महत्वपूर्ण लेखोट तथा पुस्तकहरू प्रकाशित गरेका वस्तीको ‘मनको आँधी’ नामक कविता सङ्ग्रह पनि प्रकाशित छ । यस आधारमा उनलाई साहित्यिक बहुप्रतिभाका धनी भन्दा अत्युक्ति ठहरिँदैन । इञ्जिनियर वस्ती केवल भौतिक निर्माणका मात्र सर्जक नभई चेतना अनि वैचारिक भावनाका शाब्दिक सुन्दर सिर्जनात्मक निर्माणका पनि इञ्जिनियर रहेछन् भन्ने उनका लेखनीहरूले स्पष्ट सन्देश दिन्छन् ।

नियात्राकारको नयाँ परिचय बनउँदै गरेका लेखक वस्तीले आफूले विदेशमा विभिन्न ठाउँका बारेमा देखे–भोगेका कुरालाई प्रष्ट, सरल एवम् बोधगम्य भावमा प्रकटीकरण गरेका छन् । सत्य–असत्य, ठिक–बेठिक भन्दा पनि आफ्ना आँखाले जस्तो देखियो मनले त्यस्तै ठह¥याएर नियात्राकारले शब्द उतारेका छन्, जसले पाठकलाई ज्ञान मात्र प्रदान नगरी पुस्तकीय पूर्ण सन्तुष्टि पनि प्रदान गर्दछ । पाठकलाई तत्–तत् ठाउँमा आफैले यात्रा गरेजस्तो अनुभूति गराउन लेखक सफल छन् । इञ्जिनियर गणेश वस्तीको ‘नियात्रा’ यात्रा–साहित्यको लर्कोमा थप एक सङ्ख्या बढाउने मात्र नभई एक सङ्ग्रहणीय तथा पठनीय पुस्तक उपहार हो भन्नेमा भ्रम पालिरहनु नपर्ला ।

कृति : नियात्रा
लेखक : गणेश वस्ती
प्रकाशक : गीता वस्ती
मूल्य : रू. २५०/-