‘साग’ पुरुष क्रिकेट : नेपालद्वारा माल्दिभ्स पराजित

‘साग’ पुरुष क्रिकेट : नेपालद्वारा माल्दिभ्स पराजित


तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । जीतको लागि नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर ७९ रनमा समेटियो ।

माल्दिभ्सका लागि मोहमद आजमले सर्वाधिक १७ रनको योगदान दिए भने मोहमद रिस्वानले १३ तथा अलि इभानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालले सुशन भारी र ललित राजवंशीले समान दुई÷दुई विकेट लिए भने पवन सर्राफले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रनको योगफल बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । १६ बल खेलेको उनले ६ चक्का र २ चौका प्रहार गर्दै अविजित ४० रनको योगदान दिएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । उनले ३६ बल खेल्दै २ चौकाको मद्वतमा ३९ रन जोडेका हुन् । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९÷१९ रन जोड्दा आरिफ शेखले १७, पारस खड्काले ११ तथा रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे । यसअघि नेपालले खेलेको दुई खेलमा एक खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो ।

pict: rss