ग्लोबल आईएमई र जनता मर्ज भएपछि बन्यो नेपालकै ठूलो बैंक

ग्लोबल आईएमई र जनता मर्ज भएपछि बन्यो नेपालकै ठूलो बैंक


निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैंक ग्लोबल आईएमई बैंक र जनता बैंक एकीकृत भएका छन् । वाणिज्य बैंकलाई गाभ्ने तथा प्राप्ति नीति (बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आज (शुक्रबार)देखि एकीकृत भएका हुन् ।

चालू आव ०७६–७७ को बजेटमा वित्तीय संस्थाको सबलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । अब ग्लोबल आईएमई बैंक पुँजी, व्यवसाय, शाखा सञ्जालसमेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कुल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।

सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दा बढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहनेछन् ।

बैंकको शुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले वित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । मन्त्री खतिवडाले भने, ‘आगामी दिनमा पनि तपाईंहरूको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ।’

अर्थमन्त्री खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुँजी सञ्चयका हिसाबले बैैंक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पूरा गर्न ध्यान दिन आग्रह गरे । गभर्नर नेपालले भने, ‘नेपाल राष्ट्र बंैकको नीतिको पालना गरी अन्य बैंक तथा वित्तीय क्षेत्र पनि मर्जरमा जानुपर्छ, यस क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन गर्न ध्यान दिनु पर्छ ।’

नेपाल चेम्र्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योगी पवन गोल्यानलगायतले दुवै बैंक मर्जर गरी एउटै संस्था हुँदा लगानी वृद्धि तथा रोजगारीका अवसरसमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

ग्लोबल आईएमई बैंकले यसअघि विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको थियो । जनता बैंक नेपाल लिले आठवटा बैंक तथा वित्तीय संस्थालाई मर्जर एवं प्राप्ति गरेका थियो ।

बैंकको घोषित नीतिअनुरूप खुद्रा तथा मझौला कर्जा विस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशनअनुरूप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।
रासस