‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह


नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ऱ्याण्डम जि स्च्रिभरले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् ।

सहायकमन्त्री ऱ्याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जवाफ दिएका राससले जनाएको छ । बिहीबार (१९ मंसिर)मा भएको सो भेटमा उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिएका थिए ।

अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल भएको सो अवसरमा नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि पनि उनले आग्रह गरेका थिए ।

भेटका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरी, रक्षा र परराष्ट्र मन्त्रालयलका अधिकारीको सहभागिता थियो ।

pict:rss