देशकै ठूलो सवस्टेशनको काम अन्तिम चरणमा

देशकै ठूलो सवस्टेशनको काम अन्तिम चरणमा


■ रमेश लम्साल

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारस्तम्भको रुपमा रहेको ढल्केबर सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा दुई देशबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको सो सवस्टेशनको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्यमान सवस्टेशनमध्ये ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सवस्टेशनलाई जिआइएस प्रविधियुक्त बनाइएको र काठमाडौँको स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रबाटै अनुमगन, सञ्चालनसमेत गर्न सकिनेछ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर नेपालकै सबैभन्दा ठूलो हबको रुपमा स्थापित हुनेछ ।

सवस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यस्तै सो सवस्टेशनबाट ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरुपमा आपूर्ति गर्नसमेत सहयोग पुग्नेछ । देशभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ ।

सवस्टेनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए रहेको छ । कूल २२० केभी प्रसारण लाइनमार्फत उक्त सवस्टेशनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्न सकिन्छ ।

यस्तै बढी विद्युत् माग हुने हिउँदमा अत्यावश्यक नै परेको खण्डमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ । यस्तै नेपालले विशेष प्राथमिकता दिएको इनर्जी बैंकिङको मार्ग प्रशस्त हुनेछ । नेपाल र भारतबीच इनर्जी बैंकिङ गर्ने विषयमा सहमति भइसकेको छ । हाल ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन हाल २२० केभी क्षमतामा सञ्चालनमा छ । सवस्टेशनको निर्माण सम्पन्न भए पनि सो प्रसारण लाइनसमेत ४०० केभीमा सञ्चालनमा छ ।

निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी चैतभित्र पहिलो युनिट र आगामी असारसम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तामाकोशीको विद्युत् गृह दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबरमा जोडिएको छ । सो प्रसारण लाइनको निर्माणसमेत अन्तिम चरणमा छ ।

सवस्टेशनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सवस्टेशनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ । बाँकी दुई वटा एक हप्ताभित्र आयोजनास्थलमा आइपुग्नेछ । प्राधिकरणका अनुसार ८० एमभीएआर क्षमताको रियाक्टर पनि उपलब्ध भइसकेको छ ।

उपलब्ध उपकरणको जडान धमाधम भइरहेको छ । सवस्टेशनमा ३१५ एमभीएका तीन वटा गरी ९४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब रु दुई अर्ब लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सवस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टेशन रहेको कार्यकारी निर्देशक घिसिङको दाबी छ । सो सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसअघि नै निर्देशन दिनुभएको थियो । सरकारले चालू आवको बजेटमा समेत सो सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।

सवस्टेशन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इञ्जिनीयरिङले गरिरहेको छ । प्राधिकरण र कम्पनीबीच सवस्टेशन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सवस्टेशन निर्माण गरिरहेको छ ।


rss